• ७ जेठ २०८१, सोमबार

एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण

blog

काठमाडौं, कात्तिक २७ गते । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत मंगलबार राति दिपायल केन्द्रबिन्दु भएर आएको ५.७ म्याग्निच्यूटको भूकम्पको पश्चिम नेपालका अधिकांश जिल्लामा धक्का महसुस गरिएको थियो । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए । 

जिल्ला विपत व्यवस्थापन समितिमार्फत् भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढीको राहत सामग्री सहयोग गरिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिनुभयो। 

सो ठाउँमा भूकम्पमा परेर जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य सघसँगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्रदेश महासचिवलाई राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

‘‘एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य संघसंगको सहकार्यमा खाद्यान्न, लत्ताकपडालगायत राहत सामग्री हस्तान्तरण गरेको छ । यसले भूकम्पबाट पीडितलाई तत्कालै सानो भए पनि राहत मिल्ने हाम्रो अपेक्षा हो,’’ थापाले भन्नुभयो । 

एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो । एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको र यसले भूकम्प पीडितलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो ।