• १५ असार २०८१, शनिबार

महेन्द्र र राजेन्द्रबीच कडा प्रतिस्पर्धा

blog

इश्वरचन्द्र झा / जनार्जन खत्री

मलङ्गवा (सर्लाही), कात्तिक २७ गते । “दशक बित्यो तर सर्लाहीमा हुलाकी राजमार्गको ४२ किलोमिटर खण्ड निर्माण भएन, हुलाकी सडक निर्माणमा किन उदासीनता ?” सर्लाही कौडेना–७ का विजयकुमार यादवले प्रश्न गर्नुभयो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो कार्यकालको उपलब्धिमा ‘प्रत्येक दिन पाँच किलोमिटर कालोपत्रे सडक’ प्रचार सामग्री साझा गर्नुभएको छ । उक्त प्रसङ्ग कोट्याउँदै यादवले थप्नुभयो, “महिनामा एक किलोमिटर कालोपत्रे गरेको भए तीन वर्षमा बनिसक्थ्यो तर अहिले पनि हामी धुलो र हिलोमा नै छौँ ।”

“जिल्लाका प्रतिनिधि पटक–पटक मन्त्री त भए तर सडकको अवस्था फेरिएन,” भेलही बजारमा खाजा पसल थापेका ब्रह्मपुरी–३, सर्लाहीका ३२ वर्षीय सञ्जय साह कानूले निराशा प्रकट गर्नुभयो । पूर्वमा महोत्तरी र पश्चिममा रौतहट जोड्ने हुलाकी सडकको भेलहीखण्डमा साहको खाजा पसल छ । 

पूर्वमा महोत्तरीसँग जोडिएको पर्साको सङ्ग्रामपुरबाट सुरु भई हुलाकी सडक सर्लाहीको आठवटा पालिका भएर रौतहट अलग्याउने बागमती किनारको छतौनामा गएर टुङ्गिन्छ । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मात्रै हरिपर्वा, पर्सा, ब्रह्मपुरी, मलङ्गवा, कडौना गरी पाँचवटा पालिकालाई हुलाकी  सडकले जोडेको छ। सर्लाहीमा हुलाकी राजमार्गको करिब ४२ किलोमिटर खण्ड निर्माणाधीन छ। २०७२ यता पटक–पटक म्याद मात्र थपिएको छ। 

योजना तथा नीति निर्माण गर्ने ठेकेदार नै जनप्रतिनिधि भएपछि गुनासो गर्ने ठाउँ नै नरहने बताउने चौधरीले “हुलाकी सडक नबन्दा भोग्नुपरेको दुःखबारे विमलेन्द्र निधि, हृदयेश त्रिपाठी, रघुवीर महासेठ र रेणु यादव कसले नबुझ्ला ? तर यी जनप्रतिनिधि सम्बन्धित विभागको मन्त्री भए पनि हुलाकी सडकले पूर्णता पाएन।” 

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सो क्षेत्रका जनताले हुलाकी खण्डमै ‘नो रोड नो भोट’ भन्दै विरोध प्रदर्शन गरेका छन्। 

भारतको गुजरातमा सिलाइको काम गर्ने १८ वर्षीय किसन साहले भने स्थानीयस्तरमै रोजगार सिर्जना गर्न सक्ने र विकासलाई उद्यमसँग जोड्ने क्षमता भएका प्रतिनिधि चयन गर्ने बताउनुभयो। ब्रह्मपुरीका २५ प्रतिशत युवा रोजगारीका लागि भारतको विभिन्न सहरमा रहेको उहाँले बताउनुभयो। पेचिलो तालमेल

तालमेल भएका अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच विवाद देखिन्न तर तालमेल हुन नसकेका क्षेत्रमा मित्रवत् स्पर्धा गर्ने निर्णय गरेको गठबन्धनभित्र सर्लाही–२ को उम्मेदवारीलाई लिएर गम्भीर असन्तुष्टि छ। 

प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाले आ–आफ्नै अनुकूल उम्मेदवारी दिएपछि त्यसको असर प्रतिनिधि सभाको प्रचारप्रसारमा समेत देखिएका छन्। सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो स्पर्धामा हुनुहुन्छ। दुवै जना गठबन्धनबाट भए पनि उहाँहरूको बीचमा मित्रवत् स्पर्धा हुनेछ। 

लोसपाका वरिष्ठ नेता महतोसँग सर्लाही–२ प्रदेश सभा (१)मा कांग्रेसका जङ्गीलालराय उम्मेदवार हुनुहुन्छ। अध्यक्ष यादवलाई कांग्रेसकै सर्लाही–२ (२)का उम्मेदवार कौशलकिशोर यादवले समर्थन गर्नुभएको छ। अध्यक्ष यादवले कांग्रेसका कौशलकिशोर यादव र माओवादी केन्द्रका सुनील साहलाई साथमा लिएर प्रचारप्रसारमा लाग्नुभएको छ भने नेता महतोले काँग्रेसका जङ्गीलालराय यादव र लोसपाका मैथुर चौधरीलाई साथमा लिएर चुनाव प्रचारमा लाग्नुभएको छ।  

जङ्गीलालको विपक्षमा सत्ता गठबन्धनकै माओवादीका सुनील साहको उम्मेदवारी छ। मैथुरको विपक्षमा नेपाली कांग्रेसका कौशलकिशोर यादवको उम्मेदवारी छ। प्रतिनिधि सभामा महतोका लागि मत मागेका जङ्गीलालले सर्लाही–२ (२)मा लोसपाका चौधरीविरुद्ध आफ्नै दलका उम्मेदवार कौशललाई सघाउने बताउनुभएको छ। प्रतिनिधि सभातर्फ एमालेबाट राजनारायण साह तथा प्रदेश सभा सर्लाही–२ (क) बाट एमालेकै कृष्णदेव राय र सर्लाही–२ (२)बाट जसपाको अशोक यादवको उम्मेदवारी छ। 

ह्याट्रिकको दाउमा महेन्द्र 

अध्यक्ष यादव २०७० र २०७४ गरी लगातार दुई पटक सर्लाही–२ बाट निर्वाचित हुनुभएको छ। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा जित हात पारेर उहाँले ‘ह्याट्रिक’ लगाउनुहुनेछ। 

नेता महतोले भने २०७० को संविधान सभा निर्वाचनमा यादवबाट पराजित भएपछि निर्वाचन क्षेत्र परिवर्तन गरी धनुषा–३ रोज्नुभएको थियो तर धनुषा–३ मा सन्तोषजनक काम गर्न नसकेपछि उहाँ फेरि सर्लाही फर्किनुभएको हो। प्रतिनिधि सभाका प्रमुख तीन स्पर्धी अध्यक्ष यादव, नेताद्वय महतो र साह २०७० पछि पुनः एक पटक एकअर्काविरुद्ध उम्मेदवारी दिएका छन्। 

नेता महतो यसअघि २०५६ मा सर्लाही–२ र २०६४ मा सर्लाही–४ बाट निर्वाचित हुनुभएको छ। यादव समुदायको वर्चस्व रहेको सर्लाही–२ मा अध्यक्ष महेन्द्रले १० वर्षसम्म गरेको कामको आधारमा मत माग्नुभएको छ। 

जङ्गीलालको साथले हौसला

यादव समुदायका जङ्गीलालको समर्थन नेता महतोलाई । अध्यक्ष यादवका लागि जङ्गीलाल नेता महतोसँग हुनु चुनौती थपेको छ। नेता महतोलाई सहयोग गर्नुभन्दा अध्यक्ष यादवलाई हराउनु जङ्गीलालका लागि प्रतिष्ठाको विषय बनेको छ। 

सो क्षेत्रमा पर्ने हरिपुर्वा, पर्सा, ब्रह्मपुरी, मलङ्गवामा कांग्रेसकै प्रमुख र उपप्रमुख निर्वाचित भएका छन्। सर्लाही–२ का ४९ वडामध्ये २३ वडामा नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका छन्। बलियो स्थितिमा रहेको कांग्रेसको साङ्गठनिक मत सर्लाही–२ मा निर्णायक हुनेछ। दुवै उम्मेदवार कांग्रेसको साङ्गठनिक मत आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्। नेकपा (एमाले)का प्रतिनिधि सभा उम्मेदवार साहको उपस्थितिले समुदायको मत विभाजन भए नेता महतोलाई क्षति हुने बताइन्छ तर महतो भने जनताको निराशालाई आफ्नो पक्षमा परिणत गर्न उपयोग गर्ने दाउमा हुनुहुन्छ। 

प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका विकेश महतो, जनमत पार्टीबाट नरेशप्रसाद कुशवाहा, बहुजन एकता पार्टीबाट मोहम्मद मनसरीफ अन्सारी, नेपाल सङ्घीय समाजवादी पार्टीबाट मोस्तकीम अन्सारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जयकरण महतो गरी राजनीतिक दलबाट नौ जना उम्मेदवार हुनुहुन्छ। 

रामनाथ साह, श्रवण साह, सतीशकुमार चौधरी, कामिल मियाँ मुकेरी, सुशीलाकुमारी, राजकिशोरराय यादव, राजनारायणराय यादव र मनोजकुमार साह गरी आठ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ। 

विकासकै एजेन्डामा चुनाव जित्छु : महेन्द्रराय यादव

स्थानीय चुनावमा सत्ता गठबन्धनले पाएको मत मेरो जितको प्रमुख आधार हो । घरदैलोको उपस्थितिले पनि उक्त कुरा पुष्टि गर्छ । मैले थालेको विकास निर्माणको अधुरा काम पूरा गर्न, नागरिकताको विषय सम्बोधन गर्न र राजनीतिक स्थिरताका लागि गठबन्धन जित्नु आवश्यक हो । 

संविधानविपरीत संसद् विघटन गर्ने निर्णयमा साथ दिनु र सत्तामा जान लालायित हुने लोसपा प्रतिगामी शक्ति हुन् । कृषि उत्पादन, वैज्ञानिक र प्राविधिक शिक्षालगायतका विकासका अधुरा काम पूरा गर्न र जीवनस्तर उकास्ने काम पूरा गरेर मेरो अन्तिम चुनावी स्पर्धामा उभिएको छु । यसपछि म चुनाव लड्दिन ।

जनताले परिवर्तन खोजेका छन् : राजेन्द्र महतो

म धनुषा गएपछि सर्लाही अस्तव्यस्त भयो । जनताले विकासको गति अवरुद्ध भएको र आफ्नै जिल्ला आउन गरेको आग्रहलाई स्वीकार गरी उम्मेदवार बनेको छु ।  महेन्द्रजी विकासको एजेन्डाका आधारमा चुनाव लड्नु भएन । जातीय वर्चस्वका आधारमा निर्वाचित हुनुभयो । त्यसको दम्भले उहाँले विकासको गतिविधि अगाडि बढाउनुभएन । विगतमा मन्त्री हुँदा पनि यस क्षेत्रमा मैले अस्पताल बनाएको थिएँ । जिल्लामा ठूला साना गरी १६ वटा अस्पताल निर्माण गरेको छु ।