• १३ असोज २०८१, आइतबार

पूरा भएनन् नागरिकका अपेक्षा

blog

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक २७ गते । स्थानीय तहमा दोस्रो पटक जनप्रतिनिधि निर्वाचित भएर आए पनि सर्लाहीको दक्षिणी भेगको अवस्था भने सुधार हुन सकेको छैन। 

उत्तरी भेगमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएका ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको तुलनामा दक्षिणी भेगका पालिकामा विकासका काम न्यून मात्र हुने गरेको स्थानीय बताउँछन्। 

पर्सा गाउँपालिका–१, सङ्ग्रामपुरका बिलट रायले यसअघिका जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल बिताएर अर्को निर्वाचन भएर नयाँ जनप्रतिनिधि आउँदासम्म गाउँको अवस्था उस्तै रहेको गुनासो गर्नुभयो। जनप्रतिनिधि आएपछि गाउँको अवस्था फेरिने आस गरे पनि कुनै प्रगति हुन नसकेको रायले बताउनुभयो। रायले भन्नुभयो, “एउटै जिल्ला भए पनि लालबन्दी, हरिवनतिर पुग्दा त्यहाँको अवस्था अर्कै भएको देखिन्छ तर हाम्रोतिर हे-र्यो, १० वर्षअघि जस्तो थियो अहिले नी त्यस्तै छ,।” 

जिल्लामा दक्षिणी भेगका हरिपूर्वा, बलरा, कविलासी नगरपालिका, चक्रघट्टा, विष्णु गाउँपालिकालगायतमा अघिल्लो कार्यकाल जनप्रतिनिधिबीचकै विवादका कारण विकास ठप्प जस्तै भयो। 

दक्षिणवर्ती पालिकामा जनप्रतिनिधिबीच राम्रै सम्बन्ध भएका ठाउँमा पनि विकास हुन नसकेको तर्क गर्नेहरू धेरै छन्। चक्रघट्टा गाउँपालिकाका युवा सञ्जिवकुमार रायले दक्षिणी भेगका नागरिकले विकासको अनुभूति गर्नै नपाएको बताउनुभयो। उहाँले भन्नुभयो, “राजमार्गसँग हाम्रो ठाउँलाई तुलना नै नगर्नुस्, यतातिर त अनियमितता र भ्रष्ट्राचारले सबै बर्बाद भइसकेको छ,। कागजमा काम भएको देखिन्छ तर बाटोघाटो सबै दयनीय अवस्थामा छन्।” 

चक्रघट्टा गाउँपालिकामा तत्कालीन गाउँपालिका अध्यक्षले प्रत्येक योजनामा उपभोक्ता समितिले काम गर्दा समितिसँग पैसा मागेको भन्दै गाउँपालिका उपाध्यक्षसहितका जनप्रतिनिधिले अध्यक्षविरुद्ध आन्दोलन गरेका थिए। सर्लाही जिल्लामा सबैभन्दा धेरै २० वटा स्थानीय तह छन्। 

सदरमुकाम मलङ्गवा निवासी नागरिक समाजका अगुवा उग्रकान्त झाले जनप्रतिनिधिको नकारात्मक सोच नै विकासको बाधक बनेको बताउनुभयो। झाले भन्नुभयो, “मन मिल्ने ठाउँमा एक आपसमा मिलेर बाँडीचुँडी खाने र लुट्ने प्रवृत्ति छ अनि मन नमिल्नेले एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति व्याप्त छ।”  

झाले समाज जागरुक नभएसम्म मधेशमा विकास यही अवस्थामा रहने बताउनुभयो। जिल्लाका सुरक्षा अधिकारीहरूले समेत सामान्य विषयलाई समेत राजनितीकरण गरी ठूलो बनाइदिँदा दक्षिणी भेगमा विकास निर्माण, शान्ति सुरक्षालगायतका काममा समन्वय गर्न निकै समस्या हुने गरेको गुनासो गर्नुभएको छ। 

जिल्लाकै सबैभन्दा कान्छो (२२ वर्षीय) पालिका अध्यक्ष रहनुभएको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले आफ्नो गाउँपालिकामा यसअघिका जनप्रतिनिधिले कामै नगरी कार्यकाल गुजारे पनि आफ्नो कार्यकाल उपलब्धिपूर्ण बनाउने दाबी गर्नुभएको छ। 

गाउँपालिका अध्यक्ष यादव पनि दक्षिणी भेगमा काम गर्न समस्या रहेको स्वीकार गर्नुहुन्छ। आफूहरूलाई बहाना बनाएर काम नगर्ने छुट नभएको यादवको भनाइ छ।