सूर्यप्रसाद पाण्डे / बेलिना थापा
गाउँसहर (लमजुङ), कात्तिक २६ गते । गाउँसहरस्थित लमजुङ माध्यमिक विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यालयमा निरन्तर विद्यार्थी घट्दै जाँदा पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
पठनपाठनका लागि बनाइएका विद्यालयका भवन जीर्ण बन्दै गएका छन् । संरक्षणका लागि पर्याप्त स्रोत नहुँदा अन्य संरचना पनि बिस्तारै मक्किन थालेका छन् । विद्यालय परिसरमा प्रशस्त जग्गा भए पनि संरक्षणका लागि आर्थिक अभाव हुँदा झारले ढाकेका छन् । २००५ सालमा स्थापना भएको यो विद्यालय लमजुङको पुरानोमध्येको पर्छ । त्यति बेला राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे संस्थापक प्रधानाध्यापक रहनुभएको थियो । स्वर्गीय कप्तान प्रेमबहादुर थापा अध्यक्ष तथा अन्य आठ जना संस्थापक सदस्य रहनुभएको थियो ।
विद्यालयमा अहिले कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ तर सबै कक्षामा गरेर कुल १४४ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । भर्ना भएकामध्ये पनि सबै विद्यार्थी नआउँदा कक्षामा कुनै दिन विद्यार्थी उपस्थिति नै शून्य हुने गरेको छ । अन्य दिनमा पनि तल्लो तहका कक्षामा दुई, तीन जना विद्यार्थी मात्रै उपस्थित हुन्छन् ।
शिक्षक अल्छी मान्दै कक्षाभरिमा एक/दुई जना विद्यार्थीलाई मात्रै पढाउन बाध्य छन् । विद्यालयका प्रधानाध्यापक सीता बरालले भन्नुभयो, “गाउँमा मान्छे बस्न छोडे । भएका अलिअलि विद्यार्थी निजी विद्यालयमा जान थाले । यसको प्रभाव सरकारी विद्यालयमा प-यो ।”
उहाँका अनुसार सोही स्कुलनजिकै निजी व्यवस्थापनमा चलेको हेवन हिल बोर्डिङ स्कुलले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई सम्पूर्ण सामग्री निःशुल्क दिएर पढाइरहेको छ । प्रअ दाहालका अनुसार विदेशी दाताको सहयोगमा सञ्चालित उक्त विद्यालयले विद्यार्थीलाई पोसाक, किताब, कलम तथा दिवा खाजा दिएर पढाउने गरेको छ । आफ्नो विद्यालयमा विद्यार्थी घट्नुको मुख्य कारण यही रहेको उहाँले बताउनुभयो ।
विद्यार्थी घट्दै गए पनि उनीहरूलाई आकर्षित गर्ने विषयमा विद्यालयले प्रभावकारी पहल गर्न भने सकेको छैन । राजनीतिक दल तथा स्थानीय प्रशासनले पनि उक्त स्कुलको जगेर्ना गर्ने विषयमा ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।
राष्ट्रकविको नेतृत्वमा स्थापना भएका कारण उक्त विद्यालयलाई जगेर्ना गर्न तथा स्तरोन्नतिका लागि स्थानीय तथा राष्ट्रियस्तरका नेताहरूसँग अनुरोध गरे पनि सफल नभएको विद्यालयले जनाएको छ । उहाँले विद्यालय परिसरमा संस्थापक प्रधानाध्यापकसमेत भएको नाताले राष्ट्रकविको प्रतिमा राख्ने योजना रहे पनि बजेट अभावमा काम गर्न नसकिएको बताउनुभयो ।
विद्यालयमा सबै तहका गरेर २१ जना शिक्षक कार्यरत रहनुभएको छ । जसमा स्थायीतर्फ माध्यमिक तहमा पाँच जना, निम्न माध्यमिक तहमा चार जना तथा प्राथमिक तहमा छ जना शिक्षक कार्यरत हुनुहुन्छ । त्यसबाहेक माध्यमिक तहमा एक जना राहत तथा कक्षा ११ र १२ मा सरकारी अनुदानमा उपसचिवसरह तलब सुविधा पाउने गरी दुई जना तथा निजी स्रोतमा थप तीन जना शिक्षक कार्यरत रहेको प्रधानाध्यापक दाहालले बताउनुभयो ।