काठमाडौं, कात्तिक २५ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन आवश्यक रहेको बताउनुभएको छ।
शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को सतुंगलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले मङ्सिर ४ गते एकै दिनमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले यसको फैसला गर्ने पनि बताउनुभयो।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “मङ्सिर ४ गते देशैभरी नै एकै दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ। यो नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण छ। नेपाल कता जाने हो, नेपालको भविष्य कता लाने हो भन्ने फैसला गर्नुछ।”
३३ प्रतिशत महिलाको अधिकार, आदिवासी जनजाति, दलित सबैलाई समावेशी हक दिएकोले अहिलेको समावेशी संविधान एवम् प्रजातन्त्रलाई बचाउनुपर्ने उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “त्यसैले यो संविधान समावेशी, यो समावेशी प्रजातन्त्र पनि हो। सबैलाई अटाउने संविधान बनेको छ, यो उपलब्धिमूलक कुरा हो। संविधानलाई बचाइराख्नुछ। नेपाली जनताले लामो लडाइँपछि लोकतन्त्र पाएका हौँ। त्यही लोकतन्त्रले आज निर्वादरुपमा बोल्न पाएका छौँ।”
प्रधानमन्त्री देउवाले यही लोकतन्त्र स्थायी गराउन गठबन्धन आवश्यक रहेको बताउनुभएको हो। “यसलाई स्थायी गराउन आजको आवश्यकता हो। गठबन्धनको एउटै कुरा छ, हामी विभिन्न ध्रुव, सिद्धान्तबाट आएका हौँ। तर, स्थायी लोकतन्त्र कुनै पनि हालतमा लोकतन्त्रलाई कमजोर बनाउन नसकोस्। यो स्थायी बनाउन गठबन्धन बनेको हो”, उहाँले भन्नुभयो।
निर्वाचनपछि गठबन्धन सरकार दशदेखि १५ वर्षसम्म जाने भन्नुहुँदै उहाँले घर भत्किएको बाटोमा मुआब्जा प्रदान गरिने विश्वास दिलाउनुभयो।