• १२ असार २०८१, बुधबार

स्थानीयको आक्रोश

सात वर्षदेखि अलपत्र नगरकोट सडक (फोटो फिचर)

blog

काठमाडौं उपत्यकामा रहेको प्रसिद्ध पर्यटकीयस्थल नगरकोट जाने सडकको अवस्था । तस्बिर : सागर बस्नेत

तस्बिर : सागर बस्नेत

काठमाडौं, कात्तिक २५ गते। भक्तपुरको पर्यटकीय गन्तव्य नगरकोट जाने सडकखण्ड विस्तारको नाममा ठेकेदारले सात वर्षदेखि सडक अलपत्र पारेको भन्दै जनप्रतिनिधि र स्थानीय बासिन्दाले विरोध प्रदर्शन सुरु गरेका छन्। चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, अन्य प्रतिनिधि तथा स्थानीयको उपस्थितिमा बुधबारदेखि विरोध प्रदर्शन सुरु भएको हो। 

नगरप्रमुख खत्रीका अनुसार पटक पटक थपिएको म्यादमा निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्दा विरोध प्रदर्शन गर्नुपरेको हो। उहाँले भन्नुभयो, ‘यो सडकखण्ड निर्माणका लागि पटक पटक म्याद थपिएको छ। तर काम भएको छैन। आठपल्ट थपिएको म्यादमा पनि काम सम्पन्न हुन नदिएपछि विरोध प्रदर्शन थालेका हौँ। 

 २०७२ सालमा ठेक्काको जिम्मा पाएको निर्माण कम्पनीले दुई वर्षभित्र याे सडकखण्ड विस्तारको काम सक्ने बताएको थियो। तर पटक पटक राजनीतिक पहुँचका आधारमा थपिएको म्यादमा पनि काम सम्पन्न हुन नसकेपछि विरोधमा उत्रिनुको विकल्प नभएको नगरप्रमुख खत्रीको भनाइ छ। अन्तिम पल्ट थपिएको म्यादअनुसार यो सडक निर्माण गर्ने अन्तिम समयसीमा पुसको ३० गते हो। तर निर्माण कम्पनीको काममा कुनै सक्रियता नदेखिएकाले यो ठेक्का तोड्नुपर्ने आफूहरुको माग रहेको उहाँ सुनाउनुहुन्छ। 

नगरप्रमुख खत्रीले भन्नुभयो, ‘यो सडकखण्डको सातै पल्ट थपिएको म्याद यही पुसको ३० गते सकिँदै छ।  अहिले पनि निर्माण कम्पनीको कुनै सक्रियता देखिँदैन। यो सडकखण्डको ठेक्का तोडेर नयाँ ठेक्का लगाउनका लागि हाम्रो दबाब रहन्छ।’ निर्माण कम्पनीसँग ठेक्का तोडिए स्थानीय तहले नै यो सडकखण्ड मर्मतको काम थाल्ने खत्री बताउनुहुन्छ। 

अब यो सडकको समयसीमा थपिए आफूहरु सिंहदरबार घेराउ नै गर्न जाने खत्रीको भनाइ छ। १८ किलोमिटर लम्बाइ रहेको यो सडक विस्तारको क्रममा झन् नाजुक बन्दै गएको उहाँ बताउनुहुन्छ । ‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले २०७३ कात्तिक ४ मा काम सक्ने गरी २०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता भएको थियो।

समयमै सम्पन्न नभएपछि यो सडक विस्तारको म्याद पटक पटक थपियो। पहिलोपल्ट  म्याद थप्दा एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त प्रक्रियागत ढिलाइ भन्दै २०१६ अक्टोबर २० सम्म काम सक्ने गरी १२५ दिन म्याद थप भएको थियो।  

दोस्रोपल्ट भूकम्पको बहानामा २०१७ नोभेम्बर ४ सम्म ३८० दिन, तेस्रोपल्ट सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, स्थानीय चुनावलगायत कारण देखाउँदै २०१८ जुन १३ मा सक्ने गरी २२१ दिन म्याद थप भएको थियो।


त्यसैगरी, चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्रे गर्ने कार्य गर्न नसकिएको भन्दै २०२० अप्रिल १९ मा निर्माण कार्यसक्ने गरी ६७६ दिन, पाँचौंपल्ट खरिद नियमावली नवौं संशोधन अनुसार म्याद थपसम्बन्धी पूर्वनिर्णय यथावत् कायम भन्दै २०२० डिसेम्बर ३० सम्मका लागि २५५ दिन म्याद थपिएको थियो।  छैटाैंपल्ट कोभिडका कारण भएको बन्दाबन्दीका कारण २०२१ जुन २९ दिनसम्म १८१ दिन र सातौंपल्ट २०२२ अप्रिल १३ सम्मका लागि म्याद थप गरिएको थियो। 

सार्वजनिक खरिद ऐनको १२ औं संशोधन अनुसार उक्त सडक निर्माणको म्याद आठौंपल्ट थपिएर २०७९ पुस मसान्तसम्म पुगेकोे छ। काम ढिला हुँदा लागत झन्डै साढे चार करोड रुपियाँ बढेको छ। सुरुको सम्झौतामा भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपियाँमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३५ करोड ८७ लाख १८ हजार रुपियाँ कायम गरिएको छ।  







Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।