• १३ साउन २०८१, आइतबार

सक्षम जनप्रतिनिधि छान्ने अवसर

blog

प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मङ्सिर ४ गते आमचुनाव हुँदैछ। यसका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी अन्तिम चरणमा पु-याएको छ भने सरकार पनि सो निर्वाचनलाई सफल तुल्याउन कटिबद्ध देखिएको छ। पाँच वर्षमा आउने यो प्रजातान्त्रिक उत्सवमा भाग लिन जनता उत्सुकतापूर्वक प्रतिक्षारत छन् भने विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार आफ्ना योजना र घोषणापत्र लिएर आममतदाताबीच उत्साहका साथ पुगिरहेका छन्। 

आमचुनाव विगतमा जनताका प्रतिनिधिले गरेको कामको मूल्याङ्कन र भविष्यको बाटो पहिल्याउने एक उपयुक्त माध्यम हो। चुनावका माध्यमबाट नै जनप्रतिनिधिले विगतमा आफ्नो क्षेत्र या समग्र देशका लागि गरेको योगदानको अनुमोदन र भविष्यको योजना र आकाङ्क्षा प्रतिविम्बित हुन्छ। 

यस पटकको निर्वाचनमा मङ्सिर ३ सम्ममा १८ वर्ष उमेर पुगेका नेपालका ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख, ४० हजार ८०६ पुरुष र अन्य १८५ समेत गरी जम्मा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले देशभरका १०,८९१ मतदान स्थलका २२,२२६ मतदान केन्द्रमा आफ्ना जनप्रतिनिधि छान्न मत खसाल्ने छन्। उनीहरूले प्रतिनिधि सभाका लागि देशभरका १६५ क्षेत्रमा प्रत्यक्ष निर्वाचनबाट जनप्रतिनिधि चुन्ने छन् भने ११० जनाका लागि समानुतिकतर्फ मतदान गर्न पाउने छन्। उनीहरूले आफ्नो क्षेत्रबाट प्रदेश सभाका लागि पनि प्रत्यक्ष र समानुपातिकमा मतदान गर्न पाउने छन्। 

यसबेला विभिन्न दलका उम्मेदवार र स्वतन्त्र व्यक्ति आफूले विगतमा गरेका काम र योगदानको फेहरिस्त लिएर जनतासामु पुग्छन् भने नयाँ व्यक्तिहरूले पुरानाका कमीकमजोरीलाई खुट्याएर नयाँ आशा देखाउँछन्। सबैका भाषण प्रायशः राम्रै र आकर्षक हुन्छन् तर तीमध्ये को विश्वसनीय हो जनताले नै मूल्याङ्कन गर्छन्, किनकि स्थानीय अप्ठ्यारा र समस्याप्रति उनीहरू नै जानकार हुन्छन् र उम्मेदवारहरूले निर्वाचित हुनका लागि उनीहरूलाई नै विश्वासमा लिनुपर्ने हुन्छ।

आजका मतदाता धेरै सचेत भइसकेका छन् र उनीहरूले विभिन्न उम्मेदवार र दलहरूको काम कारबाहीको सूक्ष्म निगरानी गरेका हुन्छन्। आजको सञ्चार क्षेत्रको अतुलनीय विकासका कारण उनीहरूबीच ती दल र उम्मेदवारबारे जानकारी पुगेकै हुन्छ। यति हुँदाहँुदै पनि नेपालको अति जटिल भूगोल र सञ्चारको पहुँचको अभावका कारण केही जनता भने राजधानी तथा सहरी क्षेत्रको तुलनामा ओझेलमा परेका हुन्छन्। यस्तो अवस्थामा राजनीतिक दल, समाजका अगुवा, शिक्षक आदिले प्रजातन्त्रमा आवधिक निर्वाचनको महìवबारे सर्वसाधारण जनतालाई बुझाउनुपर्ने हुन्छ। 

आमनिर्वाचन सँघारमै आइसकेकाले र निर्वाचन आयोगले दलहरूलाई प्रचार प्रसारका लागि निर्वाचनको मौन अवधिसम्म खुला गरेपछि दल आफ्ना एजेन्डा र घोषणापत्र लिएर जनतासामु जाने क्रम जारी छ। त्यस्तै गाउँ सहरका सार्वजनिक स्थल, चिया पसल आदिमा पनि जनता निर्वाचनबारे चर्चा परिचर्चा गर्न थालिसकेका छन्। त्यहाँ उनीहरू दल र स्वतन्त्र उम्मेदवारबारे आफ्नै मूल्याङ्कन प्रस्तुत गरिरहेका भेटिन्छन्। जनताले भने उम्मेदवारको भीडमा आफ्नो क्षेत्रका लागि उपयुक्त कुन दल वा व्यक्ति हुन सक्छ भनेर पहिल्याउनु पर्ने हुन्छ। सानातिना व्यक्तिगत लाभ वा लोभमा नपरी समाज परिवर्तन र देशलाई अग्रगतिमा विकास गर्न सक्ने उम्मेदवारलाई छान्नुपर्ने दायित्व जनतामा छ। एक एक भोटको पनि महत्व हुन्छ भन्ने विगतका अनुभवले पनि देखाइसकेको छ। 

यस पटकको निर्वाचनमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पालनामा निकै कडाइ गरेको छ। आयोगले आचारसंहिता उल्लङ्घन गर्ने, अन्य उम्मेदवारलाई आधारहीन गालीगलौज गर्ने, लान्छना लगाउने वा अपमानजनक प्रचार प्रसार गर्ने उम्मेदवार, व्यक्ति तथा पदाधिकारीलाई स्पष्टीकरण सोध्नेदेखि लिएर जरिबाना गर्नेसम्मको कारबाही गरेको छ। आयोगले सामाजिक सञ्जालमा हुने अपमानजनक भाषा वा दुष्प्रचारलाई पनि निरुत्साहित गरी निर्वाचनलाई स्वच्छ र स्वस्थ बनाउने प्रयत्न गरेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्नुहुन्छ– “हामीले आचारसंहिता उल्लङ्घनमा कारबाही नै गर्नु नपरोस्। उहाँले निर्वाचन भयरहित वातावरणमा हुने र निर्वाचन दोहो¥याएर गर्नुपर्ने स्थिति नआउने कुरामा पनि आश्वस्त पार्नुभएको छ।”

प्रचार प्रसारका क्रममा प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवार घरदैलो अभियानमा जनताका घर आँगनमा पुग्न थालेका छन्। कृषिप्रधान देश नेपालका जनता यस बखत आफ्नो वर्षभरिको कमाइ वा बाली भित्र्याउन व्यस्त रहेकाले उनीहरू घरमा नभेटिन सक्छन्। यस्तो अवस्थामा उम्मेदवार जनताका खेत, बारी र खलोमै पुग्ने गरेको दृश्य पनि यो बेला देख्न सकिन्छ। यसक्रममा उनीहरूले काममा सघाउने गरेको चर्चा पनि सुनिन्छ। अर्कोतिर, चुनावका बेला त नमस्ते गर्दै आउँछन् तर जितेर गएपछि फर्केर पनि आउँदैनन् भन्ने गरेको पनि सुनिन्छ। यस्तो अवस्थामा उम्मेदवारले मतदातालाई विश्वास दिलाउन सक्नुपर्ने हुन्छ। घर आँगनमै पुग्दा उम्मेदवारले पनि जनताका समस्यासँग साक्षात्कार गर्न पाउने स्थिति हुन्छ।

निर्वाचनकै सन्दर्भमा केही व्यक्तिले यो निर्वाचनको कुनै अर्थ छैन, फेरि अहिलेकै चुनिएर आउने हुन्। जनतामा कुनै उत्साह छैन भन्ने गरेको पनि यदाकदा सुनिन्छ। अहिलेसम्म के गरे र भोट दिने ? भन्ने जस्ता टिप्पणी पनि बेलाबखत सुन्ने गरिन्छ। तर यी सबै प्रश्नको जवाफ पनि आमनिर्वाचन नै हो। जनताले भोट दिएमा उम्मेदवारले जित्छन् भने नदिएमा हार्छन्। यदि विगतमा गलत पात्रलाई भोट दिएर गल्ती गरेजस्तो लागेमा त्यो सच्याउने अवसर पनि यही चुनाव नै हो। 

चुनावमा भोट हालेर केही हुँदैन पुरानैले जित्ने हुन् भन्नेहरू निराशावादी हुन्। उनीहरू चुनावमा विश्वास गर्दैनन् चुनावमा विश्वास नगर्नु भनेको निरङ्कुशताको पक्षधर हुनु हो। जनतामाथि विश्वास नगर्नु हो।  धेरै लामो उतारचढाव, राजनीतिक अस्थिरता, खिचातानी, अदालतलाई राजनीतिमा मुछ्ने प्रवृत्ति आदि घटना परिघटनापछि जनताले आफ्ना जनप्रतिनिधि छान्न पाउनु एक सुवर्ण अवसर हो। जनता के चाहन्छन्, कस्तो र कसको सरकार चाहन्छन् यही निर्वाचनले नै देखाउने हो। विगतमा दलहरूले गल्ती गरे वा गरेनन्, कुन दलले देश र जनताका लागि के कति काम गरे भन्ने मूल्याङ्कन पनि यही निर्वाचन नै हो भने निर्वाचनमा उत्साह नै छैन भन्नु गलत धारणा हो। 

यस पटक बूढापुराना नेतालाई बिदा गरी युवाले जित्नुपर्छ भन्नेहरूका लागि पनि यो निर्वाचन रोचक नै हुनेछ। जनताले युवालाई अवसर दिन्छन् कि दिँदैनन् भन्ने पनि यही निर्वाचनबाट नै थाहा हुनेछ भने निर्वाचनमा कसैको चासो नै छैन भन्नु युक्तिसङ्गत हुँदैन। यसर्थ सबैले निर्वाचनमा भाग लिई अधिकारको उपयोग गर्नु नै उचित हुनेछ।