काठमाडौं, कात्तिक २४ गते । कात्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो ।
पत्रकार सम्मेलनमा एन्फाले मैत्रीपूर्ण खेलको तयारीसमेत पूरा भएको बताएको छ । एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो । यस टिकट प्राप्त गर्न भिभिआइपीतर्फको पाँच हजार रुपियाँको टिकट किन्नुपर्नेछ । खेल दशरथ रङ्गशालामा साँझ पाँच बजे सुरु हुनेछ ।
मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आइतबार नेपाल आइपुग्ने एन्फाले जनाएको छ । नेपालले यसअघि असोज ११ गते बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाल ३–१ ले विजयी भएको थियो । पाकिस्तानविरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ ।
नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय खेल आयोजना गर्नका लागि एन्फाले विभिन्न कमिटीहरू गठन गरेको छ भने टिकट दर पनि तोकेको छ । उक्त खेलका लागि साधारण पारापिटतर्फ पाँच सय रुपियाँ र भिआइपी पारापिटतर्फ एक हजार रुपियाँ टिकट दर निर्धारण गरिएको छ । एन्फाले सो खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेज प्रालिलाई दिएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अहिले प्रवेश कटुवालको प्रशिक्षमा रहेको छ ।