• ९ मंसिर २०८१, आइतबार

बाख्रापालनबाट राम्रो आम्दानी

blog

लीलाधर वली

घोराही, कात्तिक २४ गते । दाङको बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीका दलबहादुर खत्रीले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । 

दस वर्षअघि दाजुहरू हिमराज खत्री र एनुराज खत्रीसँग मिलेर सुरु गरेको लेकाली बाख्रापालन तथा दाना उद्योगमा अहिले साना, ठूला २१० बाख्रा छन् । दुई वर्षअघिदेखि उहाँ एक्लै यो व्यवसाय चलाउँदै आउनुभएको छ । 

२०६९ सालमा बैङ्कबाट लिएको नौ लाख रुपियाँ ऋणसहित २४ लाख रुपियाँ लगानी गरेर प्युठानको माण्डवी गाउँपालिका–२, तारीवाङमा बाख्रापालन व्यवसाय सुरु गरेको व्यवसायी खत्रीले बताउनुभयो । उहाँको घर दाङ जिल्ला र फार्म प्युठान जिल्लामा पर्छ । यो व्यवसायबाट अहिले वार्षिक दस लाख रुपियाँको खुद आम्दानी भइरहेको उहाँले बताउनुभयो । उहाँको फार्ममा बोयर जातका बाख्रा मात्रै छन् । “गाउँमै केही गरौँ भनेर सुरुमा गाउँघरबाट ६५ वटा स्थानीय जातका बाख्रा किनेर व्यवसाय सुरु गरेका थियौँ । बिस्तारै स्थानीय जातका बाख्रा हटाएर बोयर जातका बाख्रा मात्रै पाल्ने गरेको छु,” उहाँले भन्नुभयो ।

खत्रीले १२० रोपनी जग्गामा घाँसखेती पनि गरिरहनुभएको छ भने बाख्राका लागि दानासमेत उत्पादन गर्दै आउनुभएको छ । पहाडी क्षेत्र भएकाले चरनका लागि समस्या नहुने उहाँले बताउनुभयो । 

गाउँकै विद्यालयमा शिक्षण पेसा गर्ने खत्री दुई पटक रोजगारीका लागि विदेशसमेत जानुभएको थियो तर विदेशमा सोचेजस्तो नभएपछि आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्यले बाख्रापालन सुरु गरेको उहाँले बताउनुभयो । “एक पटक सिङ्गापुर र अर्काे पटक बहराइन गएको थिएँ । तर, दुवै ठाउँमा भनेजस्तो कमाइ हुन सकेन । त्यसैले सिङ्गापुरबाट छ महिना र बहराइनबाट एक महिनामै फर्किएँ,” दलबहादुर भन्नुभयो ।  खत्रीले एक वर्षमा करिब १८ लाख रुपियाँको बोयरका पाठापाठी र माउ बिक्री गर्ने गरेको बताउनुभयो । यसमा दस लाख रुपियाँसम्म बचत हुने गरेको उहाँले बताउनुभयो । 

बाख्रापालन व्यवसायमा उहाँको परिवार संलग्न छ । आफू र परिवारले मात्रै हेर्न नसकिने भएकाले थप तीन जनालाई रोजगारी दिएको उहाँले जानकारी दिनुभयो ।