• १२ असोज २०८१, शनिबार

बदर मत घट्ने विश्वास

blog

प्रकृति अधिकारी/नवराज कट्टेल

विराटनगर (मोरङ), कात्तिक २४ गते । “मतदानमा नयाँ व्यवस्था गरिएका कारण यस पटक बदर मत सङ्ख्या घट्नेछ,” विराटनगर–१०, तीनटोलियाका सुफल रायले ढुक्कसाथ भन्नुभयो । एउटा मतपत्रमा एक व्यक्ति वा दललाई मात्र मतदान गर्नुपर्ने व्यवस्थाले विगतको जस्तो बदर मतको समस्या अब नहुने उहाँको बुझाइ छ । 

विगतमा विशेष गरी कम लेखपढ गरेका वा निर्वाचनप्रति कम चासो हुनेहरूका कारण धेरै मत बदर हुने गरेको स्मरण गर्दै ५० वर्षीय रायले भन्नुभयो, “पहिले एउटा मतपत्रमा हाले पुग्थ्यो । अब एउटा मतपत्रमा एउटा छाप लगाएर अगाडि बढ्ने र खसाल्ने । फेरि अर्काे मतपत्रमा एउटा छाप लगाएर अगाडि बढ्ने र खसाल्ने । यसैगरी चारवटा मतपत्र पालैपालो लिएर अगाडि बढ्ने र छाप लगाउँदै खसाल्ने नयाँ व्यवस्था रहेछ । यसले गर्दा मत बदर हुने अवस्था खासै रहँदैन ।”

विराटनगर–१४, जतुवाका ५८ वर्षीय दिलीप रामले विगतको भन्दा यस पटक अझ सजिलो गरी मतदान हुने बताउनुभयो । “पहिले विशेष गरी हाम्रा घरका महिलाहरू आत्तिन्थे र मतदान गर्न नजान्दा मत बदर हुन्थ्यो ।” उहाँले भन्नुभयो, “नयाँ व्यवस्था त निकै सजिलो पो रहेछ । पालैपालो मत हाल्दा उम्मेदवारका चुनाव चिह्न छान्न सजिलो हुने भयो । मत बदर हुने सम्भावना पनि घट्ने भयो ।”

मोरङ नेपालकै सबैभन्दा बढी मतदाता भएको जिल्ला हो । यस पटक सात लाख ३५ हजार ५२५ जनाले मतदान गर्दैछन् । तीमध्ये पहिलो पटक मतदान गर्नेको यकिन सङ्ख्या प्रदेश निर्वाचन कार्यालयसँग छैन । पहिलो पटक मतदान गर्ने वा निर्वाचनका बखत सजग हुन नसक्नेका कारण बदर मतको सङ्ख्या वृद्धि हुन सक्ने भन्दै मतदाता शिक्षा कार्यक्रम धमाधम सञ्चालन गरिँदैछ ।

प्रदेश निर्वाचन अधिकारी लेवनकाश्यप अधिकारीले वडास्तरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको र उनीहरूले सामूहिक रूपमा मतदाता शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो । हरेक वडामा कम्तीमा एक जना यस्ता स्वयंसेविका परिचालन गरिएको छ । कुनै कुनै वडाले दुई जनासम्म पनि परिचालन गरेका छन् । जिल्लामा १५९ वटा वडा छन् । 

स्वास्थ्य स्वयंसेविकाले सञ्चालन गरिरहेको मतदाता शिक्षालाई अनुगमन गर्न हरेक पालिकामा एक जना अनुगमन अधिकारी खटाइएको छ । जिल्लाका १७ वटै पालिकामा नमुना मतदान पनि सञ्चालन गरिएको छ । गत साता विराटनगरको हनुमान मन्दिर परिसरमा नमुना मतदान गर्दा पाँच प्रतिशतको मतपत्र बदर भएको पाइएको थियो । यसले गर्दा अझै पनि मतदान गर्ने तौरतरिकाका बारेमा मतदाता अनभिज्ञ रहेको पुष्टि हुन्छ । “बदर मतलाई शून्यमा झार्न सकिँदैन” प्रदेश निर्वाचन अधिकारीले भन्नुभयो, “विगतको भन्दा यस पटक बदर मतको समस्या निकै कम हुने आकलन गरेका छौँ ।”

गत २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नं. १ मा तीन हजार २७७, क्षेत्र नं. २ मा चार हजार ४६०, क्षेत्र नं. ३ मा चार हजार १६०, क्षेत्र नं. ४ मा चार हजार १२९, क्षेत्र नं. ५ मा चार हजार ३६३ र क्षेत्र नं. ६ मा चार हजार २५५ मत बदर भएको थियो । 

मतदाता शिक्षासम्बन्धी कार्यक्रम अझै जारी छ । विराटनगर–१२, रोडशेषचोककी पार्वती झाले अझैसम्म कसैले पनि आफूहरूलाई मतदाता शिक्षा प्रदान गर्न नआएको बताउनुभयो । “कसरी मतदान गर्ने भन्नेबारेमा हामीलाई सिकाइएको छैन । सिकाइए सही तरिकाले मतदान गर्न सक्ने थियौँ,” उहाँले भन्नुभयो ।

यस पटक चारवटा मतपत्र हुनेछन् । सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको, दोस्रो प्रतिनिधि सभाको समानुपातिकका लागि, तेस्रो प्रदेश सभा प्रत्यक्षतर्फको र चौथो प्रदेश सभा समानुपातिकका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । 

नेकपा (एमाले) मोरङका उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक बाबुराम कार्कीले निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा बढाउन नसकेको आरोप लगाउनुभयो । “दलको हैसियतले पार्टीका उम्मेदवारलाई मतदान गर्न सिकाउन मोरङका १७ पालिकाका १५९ वडामा तीनदेखि पाँच जनासम्मको टोली परिचालन गरेका छौँ तर आयोगले आफ्नो जिम्मेवारीमा रहेको मतदाता शिक्षालाई व्यापक बनाउन सक्नुपर्छ,” उहाँले भन्नुभयो । 

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले वडाका क्षेत्रफल ठूला रहेकोले एक जना स्वयंसेविकाले मतदाता शिक्षा दिन सक्ने अवस्था नरहेकोले उनीहरूको सङ्ख्या वृद्धि गर्न सर्वदलीय बैठकमा समेत प्रस्ताव गरिएको बताउनुभयो । “आयोगले यसलाई अझै केही दिनसम्म नमुना मतदानको व्यवस्था र मतदाता शिक्षाको कार्यक्रम जारी राख्नुपर्छ” उहाँले सुझाव दिनुभयो, “वडामा कार्यकर्ता परिचालन गरी मतदान गर्ने तरिकाका बारेमा हामी आफैँले शिक्षा दिँदै आएका छौँ ।” 

प्रदेश निर्वाचन अधिकारी लेवनकाश्यप अधिकारीले हरेकका घरदैलोमा गई मतदाता शिक्षा सञ्चालन गर्न सम्भव नहुने बताउँदै थप्नुभयो, “स्वयंसेवीहरू अझै सबै ठाउँमा नपुगेको हुन सक्छन् । उनीहरूले क्रमिक रूपमा मतदाता शिक्षा दिइरहेका छन् ।” उहाँले शिक्षित वर्गभन्दा ग्रामीण क्षेत्रका र पिछडिएका वर्गलाई लक्षित गरी यस्तो शिक्षा दिँदै आएको बताउनुभयो ।