• १६ भदौ २०८१, आइतबार

नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १

कोइराला र पौडेलबीच प्रतिस्पर्धा

blog

मोदनाथ ढकाल / वसन्त पराजुली

गैँडाकोट (नवलपरासी), कात्तिक २२ गते  । संविधान सभा र संसदीय निर्वाचनमा गरी तीन पटक प्रतिनिधित्व गरिसक्नुभएका नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ मा चौथो पटक चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका कोइरालासँगै नेकपा (एमाले)का तर्फबाट तत्कालीन संविधान सभा सदस्य कृष्णप्रसाद पौडेल, नेपाल स्वतन्त्र पार्टीबाट राजन गौतम र राप्रपा नेपालबाट मोहनीलाल भुसाललगायत पाँच स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

चुनाव नजिकिँदै जाँदा यो क्षेत्रका मतदाताले शान्ति, समृद्धि, विकास र जनभावना बुझ्ने उम्मेदवारलाई मत दिने प्रतिक्रिया दिएका छन्। गैँडाकोट नगरपालिका, गैरीमा पूर्व–पश्चिम राजमार्ग छेउ मकै बेचेर जीवन गुजारा गरिरहेकी सुमित्रा दरैले जनप्रतिनिधिबाट विकास निर्माणको अपेक्षा गरिए पनि आफूहरूले ऋण गरेर सडक कालोपत्रे गरेको गुनासो गर्नुभयो। “विकास निर्माणका काम जितेकाले गरेनन्। गाउँले आफैँले दामासाहीमा पैसा उठाएर सडक कालोपत्रे गरियो”, दरैको गुनासो छ, “सडक कालोपत्रे गर्दा लागेको एक लाख १० हजार रुपियाँ ऋण अझै तिर्न सकेको छैन।” निर्वाचित जनप्रतिनिधिले विकास निर्माणमा सहयोग नगरे पनि मङ्सिर ४ गतेको निर्वाचनमा भने आफूले चाहेको उम्मेदवारलाई मतदान गर्ने उहाँको भनाइ छ।

यो क्षेत्रका जनताको मुख्य चासो पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको विस्तारमा भइरहेको ढिलासुस्ती पनि हो। कालीगण्डकी कोरिडोर सडक निर्माण हुँदाहुँदै अलपत्र अवस्थामा छ। जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका सडक, सिँचाइ, शिक्षा र रोजगारीमा देखिएको उदासीनताबाट पनि जनता निराश छन्। अझै यही क्षेत्रमा रहेको भृकुटी कागज कारखाना लामो समयदेखि बन्द हुँदा हजारौँको रोजगारी गुमेपछिको पीडा मतदातामा बढी देखिन्छ। 

गैँडाकोट बोटेटोलका युवा राजेश विष्ट, कृष्ण भुजेल र हीरालाल श्रीस रोजगारीसँगै नारायणी नदी नियन्त्रण र सडकको मर्मत सुधार अबको विकास निर्माणमा समेटिनुपर्ने धारणा राख्दछन्। “अब जनताले मतदान गर्दा पैसाको लालच छाडेर राम्रो र जनभावना बुझ्ने प्रतिनिधिलाई मत दिनुपर्छ”, श्रीसले भन्नुभयो। 

कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी

२०४८ सालयता भएका संसदीय निर्वाचनमा सधैँ काग्रेसले जित्दै आएको यस क्षेत्रमा अहिले प्रमुख दलहरू बीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। गैँडाकोट, देवचुली नगरपालिकाका पूरै र सदरमुकाम कावासोती नपाका ११ वटा वडा एवं बुलिङ्टार गाउँपालिका रहेको यो क्षेत्रमा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गैँडाकोटबाहेकका सबै स्थानीय सरकारका प्रमुख एमालेले जितेको छ। गैँडाकोटमा भने कांग्रेसले जितेको छ। 

 कुल ५२ वटा वडा रहेको यो क्षेत्रमा ३९ हजार ९५१ मतका साथ २६ वटा वडा एमालेले, २५ वटा वडा कांग्रेस र एक वडा नेकपा (माओवादी केन्द्र)सहितका गठबन्धनको ४२ हजार ४७१ मत आएको थियो। स्थानीय तहमा आएको मतका आधारमा हेर्ने हो भने यो चुनावमा गठबन्धनका डा. कोइरालालाई चुनाव जित्न सहज देखिन्छ तर लामो समयदेखि जनप्रतिनिधि भइरहँदा जनताको भावनाअनुसार काम नगरेको भन्ने जनगुनासो उहाँका लागि चुनौती हो। 

कांग्रेस पृष्ठभूमिका प्रदेश सभाका उम्मेदवार महेन्द्रध्वज जीसीका भतिज चित्रध्वज जीसीको स्वतन्त्रमा, माओवादी पृष्ठभूमिका नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतम र कांग्रेस पृष्ठभूमिकै राप्रपाका उम्मेदवार डा. मोहनीलाल भुसालको उम्मेदवारीले पनि कोइरालालाई चुनौती थपिएको छ। यो क्षेत्रमा स्वतन्त्रका रूपमा बिन्दु भट्टराई एक मात्र महिला उम्मेदवार हुनुहुन्छ।