• १६ भदौ २०८१, आइतबार

चुनाव जित्नैपर्ने दबाबमा पौडेल

blog

सूर्यप्रसाद पाण्डे / अमरराज नहर्की

तनहुँ, कात्तिक २२ गते । “देशले मलाई प्रधानमन्त्रीका रूपमा खोजेको छ। एक पटक मुलुकमा सुशासनको जग मात्रै बसाल्न भए पनि कार्यकारी अधिकार मेरो हातमा आउनुपर्छ,” निर्वाचनको मौसम सुरु भएदेखि नैै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यो भनाइ चर्चामा आइरहेको छ। २०४८ सालदेखि निरन्तर निर्वाचनमा होमिएर पाँच पटक जिते पनि पौडेलले मुलुकको कार्यकारी अधिकारको बागडोर सम्हाल्न गरेको प्रयास भने सफल भएको छैन। 

पौडेल यस पटक पनि तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुभएको छ। पछिल्लो पटक उहाँले २०७४ सालको प्रतिनिधि सभा सदस्यमा पनि यही क्षेत्रबाटै प्रतिस्पर्धा गर्नुभएको थियो। त्यतिखेर नेकपा (एमाले) र नेकपा (माओवादी)बीच गठबन्धन भएका कारण उहाँले एमालेका उम्मेदवार किसानकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले हार बेहोर्नुप-यो। 

तर अहिलेको अवस्था २०७४ सालको निर्वाचनभन्दा ठीकविपरीत छ, अर्थात् त्यतिखेर एमालेसँग गठबन्धन गरेको माओवादी, एमालेबाट फुटेर नयाँ गठन भएको नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टीसँग कांग्रेसले गठबन्धन गरेको छ। अहिले परिस्थिति पनि बदलिएको र अन्य पार्टीको पनि साथ रहेको हुनाले यस पटकको निर्वाचन जित्न आफूलाई सहज भएको पौडेलको दाबी छ। 

निर्वाचन कार्यालयको विवरणअनुसार पौडेल ७८ वर्षमा दौडिरहनुभएको छ। राजनीतिक जीवनमा आफ्नो यो नै अन्तिम निर्वाचन प्रतिस्पर्धा भएको र एक पटक मुलुकको कार्यकारी नेतृत्वमा पुग्ने इच्छा रहेको भन्दै उहाँ मतदातालाई आफ्नो पक्षमा तान्न गाउँगाउँमा चुनावी प्रचारप्रसारमा खटिरहनुभएको छ। स्वतन्त्रबाट कैँची चिह्न लिएर उम्मेदवार बन्नुभएका गोविन्दराज जोशी र नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एकबहादुर रानासहित अन्य १२ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवारले राजनीतिक जीवनकै उत्तराद्र्धमा रहनुभएका पौडेललाई मुख्य चुनौती दिइरहनुभएको छ। 

आफ्नै पूर्वसहकर्मी र विपक्षी दललाई समेत सहजै उछिनेर यस पटक आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने पौडेलले दाबी गर्नुभयो । नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सूर्यचन्द्र हड्खलेले यस पटक पौडेलको जित सुनिश्चित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “राम्रो मतान्तरले जित हासिल गर्छौं।”

तर एमाले उम्मेदवार रानाले पनि गठबन्धनलाई समेत हराउने सामथ्र्य आफूहरूसँग रहेको र चुनावपछिको सरकार एमालेले गठन गर्ने दाबीसहित चुनावी अभियानलाई तीव्रता दिइरहनुभएको छ। एमाले जिल्ला कमिटीका सदस्य हरिराज कँडेलले जनताले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने दाबी गर्नुभयो। जोशीले कांग्रेसको मत काट्ने भएकाले पनि आफूहरूलाई जित्न सजिलो हुने उहाँको अनुमान छ। 

प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका पासाङ थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेसनलिस्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देललगायतले पनि पौडेलको चुनावी अभियानमा तगारोको काम गरिरहनुभएका छन्। 

तनहुँमा कुल १० वटा स्थानीय तह रहेका छन्। जसमध्ये निर्वाचन क्षेत्र नं. १ मा देवघाट, बन्दीपुर तथा आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका सबै वडा र ब्यास नपाको ५ र ६ बाहेक सबै वडा पर्छन्।