बाबुराम देवकोटा
दुधौली (सिन्धुली), कात्तिक २१ गते । सिन्धुली, दुधौली नगरपालिका–११ निवासी ५० वर्षीय धर्म कुँमरले हरेक निर्वाचनमा उम्मेदवारले उठाउने गरेको विकासको मुद्दा ‘कमला नदी नियन्त्रण’ सुन्दै आउनुभएको छ। यो बीचमा धेरै जनप्रतिनिधि फेरिए पनि कमला नदी कटानको समस्या भने फेरिन नसकेको उहाँको दुखेसो छ। वर्षामा कमलाको बाढीजस्तै चुनावका बेला नेताहरूको आश्वासनको बाढी आउँछ। कमलाले खेत बगाउँछ, आश्वासनको बाढीले जनमत बढार्छ अनि मतदाताको समस्या ज्युँका त्युँ।
आफूसँग भएको १४ बिघा खेत २०५० सालमा कमला नदीमा आएको बाढीले सबै बगाएपछि अहिले आफ्नो हातमा लालपुर्जा मात्रै भएको उहाँको गुनासो छ। उहाँको खेत कमला नदीले बगाएपछि २०५१ सालको मध्यावधि निर्वाचन, २०५४ को स्थानीय निकाय निर्वाचन, २०५६ सालको संसदीय निर्वाचन, २०६४ र २०७० सालमा संविधान सभा निर्वाचन, २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य एवं स्थानीय तह निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनबाट धेरै जनप्रतिनिधि फेरिइसकेका छन्।
किसान कुँमरले भन्नुभयो, “आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि अहिले पनि उम्मेदवार मत माग्न आउँदा जितेपछि कमला नदी नियन्त्रण गर्छु भन्दै आएका छन्। पहिले भएका निर्वाचनमा पनि धेरै उम्मेदवारले कमला नदी नियन्त्रण गर्छु भन्ने गरेका थिए तर समस्या अहिलेसम्म ज्युँका त्युँ छ। खाली जनतालाई मात्रै ढाँट्दा रहेछन्।” दुधौली नगरपालिका–१ देखि १२ सम्मका वडा र कमलामाई नगरपालिकाको वडा नं. ९, १०, १३ र १४ जिल्लामै अन्न भण्डारका रूपमा परिचित छन्। यस क्षेत्रमा २०४० र २०५० सालमा कमला नदीको बाढीले उर्वरभूमि बगाएपछि कुनै बेला जमिनदार कहलिएका सयौँ किसान सुकुम्बासीमा परिणत भएका छन्।
निर्वाचनका बेला उम्मेदवारले मत माग्दा भन्ने गरेको कमला नदी नियन्त्रणका कुरा पीडित किसानले पत्याउन छाडिसकेको दुधौली नगरपालिका–५ निवासी किसान दूधलाल दनुवार बताउनुहुन्छ। उहाँको पनि दुई बिघा खेत अहिले बगर बनेको छ। उहाँले भन्नुभयो, “लहलह धान फल्ने खेतमा अहिले कमला नदी बगिरहेको छ। अहिले बगर हेर्दै भक्कानिनुको विकल्प छैन।” कमला नदी कटानको समस्या हरेक निर्वाचनमा उम्मेदवारलाई भोट माग्ने मुद्दा बन्दै आएको किसान दनुवारले सुनाउनुभयो। जिल्ला निर्वाचन कार्यालयका अनुसार कमला नदी कटानबाट प्रभावित कमलामाई नगरपालिकाका तीनवटा र दुधौली नगरपालिकाका ११ वटा वडामा गरी मतदाता सङ्ख्या ४७ हजार २८९ रहेको छ।
कमला नदी सिन्धुली जिल्लामा मात्रै करिब ४० किलोमिटर क्षेत्रमा बग्दै पार गरेर धनुषा जिल्लामा प्रवेश गर्छ। कमला नदी नियन्त्रण गर्न दुधौली नगरपालिकाले गुरुयोजना बनाई काम सुरु गरेको भए पनि प्रभावकारी रूपमा हुन सकेको छैन। कमला नदी कटानको समस्या बढ्दो रूपमा देखा परेको दुई दशकभन्दा बढी भए पनि त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ।
२०६४ सालमा संविधान सभा सदस्य निर्वाचित विषमलाल अधिकारी दनुवार आठ वर्षअघि (सन् २०१४) डीपीआर बनाउँदा कमला नदी नियन्त्रण गर्न करिब चार अर्ब रुपियाँ बजेट आवश्यक पर्ने देखिएको जानकारी दिनुहुन्छ। त्यसपछि कमला नदी नियन्त्रण आयोजनाले ३० करोड रुपियाँ नदी नियन्त्रणमा खर्च गरेको उहाँले जानकारी दिनुभयो।
दुधौली नगरपालिकाले गुरुयोजना बनाई वडा नं. २ र ३ बाट दुई वर्षअघिदेखि कमला नदीको दायाँबायाँ कोरिडोर निर्माण गरी नदी कटान नियन्त्रण गर्न सुरु गरेको र अहिलेसम्म सात किलोमिटर जति निर्माण भएको वडा नं. २ का वडाध्यक्ष रितेश राउत बताउनुहुन्छ। कोरिडोर निर्माण बर्सेनि एकै ठाउँबाट अघि बढाउनुपर्नेमा अहिले कनिका छरेझैँ ठाउँठाउँमा निर्माण गरेकाले प्रभावकारी हुन नसकेको उहाँको ठम्याइ छ।