मोदनाथ ढकाल/वसन्त पराजुली
रत्ननगर (चितवन), कात्तिक २१ गते । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललगायत १० स्वतन्त्रसहित १९ जना उम्मेदवारकै कारण चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ राष्ट्रिय चासोको विषय बनेको छ।
प्रमुख दलका दुवै उम्मेदवारलाई आगामी सरकारको अर्थमन्त्रीका रूपमा हेरिएकाले यो क्षेत्र चर्चामा रहेको छ। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल र स्वतन्त्र उम्मेदवार गायक मिलन (विष्णु) लामालगायतको उम्मेदवारीले पनि यो क्षेत्र थप रोचक बनेको छ। यो क्षेत्रमा दलहरूबाहेक पनि १० जना स्वतन्त्र उमेदवार छन्।
उम्मेदवारले घरदैलो गर्दै गर्दा विकास, भ्रष्टाचार, राजनीतिक व्यवस्था र आगामी निर्वाचनका लागि गरिएका राजनीतिक दलको गठबन्धनका कारण आममतदाता उत्साहित हुन सकेका छैनन्। अझै कतिपय जनभावना बुझ्ने चर्चामा रहेका उमेदवारले दलबाट टिकट नपाएपछि पनि मतदाता झन् निराश भएका हुन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा यूएनडीपीको एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोका पूर्वप्रमुख आर्थिक सल्लाहकार डा. स्वर्णिम वाग्लेको उमेदवारी नहुँदा पनि स्थानीयवासीले दुःख पोखेका छन्।
उम्मेदवारी र राजनीतिक व्यवस्थाको विषयलाई लिएर रत्ननगर नगरपालिका सौराहा चोकका २३ वर्षीय कुशल लामा र खैरहनी नगरपालिकाको हर्नारीका ९३ वर्षीय मधुसुदन ढुङ्गानाले समान आक्रोश पोखेका छन् तर लामाले व्यवस्थाको अप्रबन्ध र सुशासनको अभावमा आक्रोश पोखेका छन् भने ढुङ्गाना राजनीतिक शक्तिबीचको अपवित्र गठबन्धनप्रति दुःख व्यक्त गरेका छन्।
“२०१५ को चुनावमा नेपाली कांग्रेसलाई भोट दिएदेखि मैले धेरै चुनावमा मत दिएको छु तर चुनावका बेला गरेका वाचामा इमानदार उम्मेदवार देखेका छैनन्। भोट हालेर पनि राम्रो जनप्रतिनिधि नआउने देखिन्छ,” उहाँले थप्नुभयो, “दिएर पनि कल्याण छैन। नदिएर पनि सुख छैन। चुनावमा मत नदिएर बस्न मिल्दैन।”
रत्ननगर बकुलहरका कर्णबहादुर क्षेत्री, राप्ती नगरपालिका कठारका शान्ति थारू, पिठुवाका प्रेमप्रसाद खनाललगायतका धेरैले रासायनिक मलजस्ता कृषि सामग्री लिन ज्यादै सास्ती बेहोर्नुपरेको तीतो अनुभव सुनाए। चितवनजस्तो खानेपानीको सहजता भएको ठाउँमा पनि उम्मेदवारले खानेपानीको एजेन्डा प्रमुखतामा उठाएका तर अत्यावश्यक मल तथा बीउमा ध्यान नपुगेको किसानको गुनासो छ।
त्यसैगरी रत्ननगर नगरपालिका–५, मगरगाउँका झन्डै ५० भूमिहीन परिवार जग्गा दर्ताको कागजपत्र उपलब्ध गराउने वाचा गर्ने उम्मेदवारको पर्खाइमा छन्। बस्तीका बासिन्दा शुक्रमिया थारूले भन्नुभयो, ‘‘चितवन राष्ट्रिय निकुञ्जले हात्तीको प्रयोग गरेर हाम्रा घर भत्काउने धम्की दिँदै आएको छ। कुनै दिन हामी यस ठाउँबाट लखेटिन्छौँ कि भन्ने डर छ,” उहाँले थप्नुभयो, “विगतमा धेरै उम्मेदवारले आफूहरू बसेको ठाउँको जग्गाधनी पुर्जा उपलब्ध गराउने वाचा गरे पनि पूरा गर्न सकेका छैनन्।”
त्यसैगरी युवाले आधारभूत तलब वृद्धिको माग गरेका छन्। बछ्यौलीका नवीन सापकोटा र बैरियाका हेमन्त शर्माले जिल्लामा रोजगारीको समस्या भएको र रोजगारी पाएकाको पनि पारिश्रमिक ज्यादै कम भएको विषयलाई उम्मेदवारले गम्भीरतापूर्वक लिनुपर्ने बताए।
गठबन्धन र स्वतन्त्रको अन्योल
बकुलहरका क्षेत्रीले राजनीतिक दलका कार्यकर्तालगायत अन्य दलको झन्डा बोकेर आफ्नो पक्षमा नारा लगाउन हिच्किच्याउने गरेको बताउनुभयो ।
टाँडी चोकमा रहेको मोबाइल पसलमा काम गर्ने खैरहनी–४ का अर्का युवा निशान बस्नेतले सम्बन्धित राजनीतिक दलका कार्यकर्ताले गठबन्धनलाई मान्न सक्ने तर यस पटक ‘राजनीतिक रूपमा सचेत जनता’ले असल र इमानदार उम्मेदवार छान्ने बताउनुभयो। “हामीजस्ता युवाले राजनीतिक दललाई अन्धाधुन्ध पन्छाएर त्यही दलको उम्मेदवारलाई भोट दिए भने राजनीतिक व्यवस्था र समाजमा सुधारको अपेक्षा कसरी गर्न सकिन्छ ? हामीले राम्रो नेतृत्व छान्नुपर्छ,” उहाँले भन्नुभयो।
बस्नेतजस्तै अन्य धेरै मतदाता सत्ता र विपक्षी गठबन्धनप्रति उत्साहित छैनन् भने प्रतिबद्ध कार्यकर्ता आत्तिएका देखिन्छन्। रत्ननगर, खैरहनी र राप्ती नपाका ४२ वडा चितवन क्षेत्र नं. १ मा पर्छन्। यही वैशाखमा भएको स्थानीय निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेले २० वडाको अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले १८, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक/एक एवं स्वतन्त्र उम्मेदवारले दुईवटा वडा जितेका थिए।
वडाध्यक्षको कुल मतका आधारमा एमालेले ३९ हजार ६०६ र कांग्रेसले ३६ हजार ७८३ मत प्राप्त गरेका थिए। त्यसैगरी माओवादी केन्द्रको पक्षमा पाँच हजार ५०८, राष्ट्रिय प्रजातन्त्र पार्टीको चार हजार ५९० र एकीकृत समाजवादीको पक्षमा चार हजार ५० मत परेका थिए। यस्तो अवस्थामा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. पौडेललाई सहज अवस्था छ भने गठबन्धनमा अन्योल र अविश्वास एमालेका पाण्डेका लागि बल बन्न सक्छ। यसैबीच स्वतन्त्र रूपमा चुनाव लड्ने तयारीमा रहेका पार्टीका असन्तुष्ट नेता राजेन्द्र बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय बनाउन कांग्रेस सफल भएपछि पौडेलका लागि चुनाव केही सहज देखिन्छ।
यसैबीच भर्खरै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीबारे चितवनका मतदातामा भ्रम रहेको छ। कतिपय मतदाताले ‘स्वतन्त्र’ पार्टीका उम्मेदवारलाई काठमाडौँका बालेन्द्र शाह र धरानका हर्क राई साम्पाङसँग तुलना गर्ने गरेका छन्। पार्टीको नाममा रहेको स्वतन्त्र शब्दले अन्य क्षेत्रमा पनि मतदातालाई भ्रममा पर्ने देखिन्छ।
विकासमा गुनासो कम
चितवन–१ मा विकास सन्तोषजनक रहेको स्वयं मतदाता बताउँछन्। यद्यपि युवाले खेलकुद पूर्वाधारजस्तै कभर्ड हल र स्टेडियम, मनोरञ्जन केन्द्र चाहेका छन् भने किसानले रासायनिक मलको निर्बाध आपूर्ति चाहेका छन्।
यस क्षेत्रका धेरै मतदाताले सामुदायिक भवन र सडक निर्माण, बाँधसहित कयर, राप्ती, बूढीराप्तीजस्ता नदीमा तटबन्ध विगतमा सकारात्मक विकास कार्य भएको प्रतिक्रिया जनाए। खानेपानी, धारा जडान, खरको छानालाई फलामको छाना लगाउनेजस्ता कार्यलाई स्थानीय सरकारले पनि पूरा गरेको खैरहनी कठारकी शान्ति थारूले बताउनुभयो।
तर, जिल्लाको पर्यटकीय केन्द्र सौराहाका व्यवसायी उम्मेदवार र सरकारले यहाँ सूचना प्रविधियुक्त सेवाको एजेन्डा उठाओस् भन्ने चाहन्छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले चितवन राष्ट्रिय निकुञ्जले अझै पनि म्यानुअल रूपमा टिकट बाँड्ने र पर्यटकले विद्युतीय माध्यमबाट टिकट काट्न नपाएको बताउनुभयो।
त्यसैगरी रेवान सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले सडक, खानेपानी र सुरक्षाको चिन्ता नगर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो।