• १२ असोज २०८१, शनिबार

इलाममा चुनावी प्रतिस्पर्धा

उम्मेदवारसँग मतदाताको अपेक्षा ठूलो

blog

प्रकृति अधिकारी / प्रेम अधिकारी

फिक्कल (इलाम), कात्तिक २१ गते । 

मतदाता– सडक बनाइदिनुपर्छ

उम्मेदवार– पक्कै बनाइदिने छौँ

मतदाता– पुल बनाइदिने भए मात्र भोट दिन्छौँ

उम्मेदवार– ढुक्क हुनुहोस्

मतदाता– गाउँमा स्कुल चाहियो

उम्मेदवार– स्कुल, अस्पताल पक्का 

हरेक निर्वाचनमा मतदाता र उम्मेदवार प्रायः हुने संवाद यिनै हुन्। मतदाता उम्मेदवारसँग ठूलो अपेक्षा राख्छन् र उम्मेदवारले निर्वाचन जित्नकै लागि ती माग पूरा गरिदिने भनी तत्कालै मौखिक प्रतिबद्धता व्यक्त गर्छन्। अर्काे निर्वाचन आइसक्दा गाउँका समस्या जस्ताको तस्तै रहन्छन् र उम्मेदवारसँग मतदाताको अपेक्षा पनि उही रहन्छ। 

उम्मेदवारले विधायिकी निर्वाचन हो भनी मतदातालाई बुझाउन चाहँदैनन्। निर्वाचन जित्नकै लागि जस्तोसुकै कुरामा प्रतिबद्धता व्यक्त गर्ने गर्छन्। मतदातालाई सांसद भनेको नीति नियम निर्माता हुन्, सडक–पुल निर्माण गरिदिने माध्यम होइनन् भन्ने थाहा छैन।

सूर्याेदय नगरपालिकाको बरबोटे–९ का गम्भीर राईले विगतका निर्वाचनमा बाटो र पुल निर्माण गरिदिने आश्वासन सबै उम्मेदवारबाट पाएको तर निर्वाचनपछि कुनै पनि नेताले आफूहरूका घर–टोलमा एक पटक पनि पाइला नराखेको गुनासो गर्नुभयो। “त्यो बेला कृषि उत्पादनलाई बजार व्यवस्था गरिदिने भन्थे। कक्षा १२ सम्म निःशुल्क शिक्षा भनेका थिए,” उहाँले थप्नुभयो– “अहिले पनि आफ्ना बच्चाको स्कुल शुल्क तिर्नु परिरहेकै छ। बजार नपाउँदा डेढ सय रुपियाँमा ४० केजी स्कुस बेच्नुपरेको छ। बितेका ३० वर्षमा हामीलाई सपना मात्र देखाइयो।”

उम्मेदवारहरूले भने आफूलाई बचाउ गर्ने गरेका छन्। इलाम क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारले आफ्नो निर्वाचन क्षेत्रमा बजेट कटौती गरेकाले जनताका मागअनुसारका काम हुन नसकेको उल्लेख गर्दै आगामी पाँच वर्षमा ती अधुरा काम पूरा हुने बताउनुभयो। 

इलामका मतदाता यतिबेला ‘हाम्रालाई भन्दा राम्रालाई’ निर्वाचित गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छन्। त्यति हुँदाहुँदै पनि अपेक्षा त उही सडक र खानेपानीकै छ। दैनिक जीवनमा जुन कुराको समस्या बढी भोग्नुपर्छ त्यही समाधानको अपेक्षा राख्नु स्वाभाविक पनि हो। गैरीघर–१ का ६८ वर्षीय नेत्रबहादुर बुढाथोकीले घरघरमा खानेपानी ट्याङ्की दिने आश्वासन पाएको तर सो पूरा नभएपछि आफूहरूले व्यक्तिगत खर्चमा खानेपानीको समस्या समाधान गर्नुपरेको सुनाउनुभयो। “चुनावमा हामीसँग प्रतिबद्धता व्यक्त गरेपछि सांसदले नै विकास गरिदिनुपर्छ,” उहाँले भन्नुभयो, “अब त उम्मेदवार भोट माग्न आएमा लिखित प्रतिबद्धता माग्ने विचार गरेका छौँ।”

उम्मेदवारको तर्क ठ्याक्कै फरक हुने गरेको छ। इलाम क्षेत्र नं. १ का नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले विगतमा चुनाव जितेका प्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रलाई प्राथमिकतामा नराख्दा मतदाताले अपेक्षा गरेअनुसारको विकास नभएको तर्क गर्नुभयो। सांसद विकास कोषको रकमसम्म खर्चका लागि सांसदको अधिकार क्षेत्रभित्र पर्छ। विकास निर्माणका परियोजना आफ्ना निर्वाचन क्षेत्रमा पारिदिन सम्बन्धित निकाय वा मन्त्रीसँग अनुरोध गर्न सक्छन् तर मतदाताको अपेक्षाअनुसार विकास कार्यमा लगानी गर्न सम्भव नहुन पनि सक्छ। राजनीतिक दल आबद्ध प्रतिनिधि सभा सदस्यलाई जति विकास निर्माणमा सजिलो स्वतन्त्र उम्मेदवारलाई भने नहुनसक्छ।

इलाम गोर्खेकी गङ्गामाया क्षेत्रीले नेताहरूले आफूहरूलाई झुक्याएको गुनासो गर्दै भन्नुभयो, “निर्वाचन जित्नका लागि ढाँट्नु भएन। गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ।” 

जीवनमा पहिलो पटक मतदान गर्न पाउने इलामका युवा यतिबेला निकै उत्साहित छन्। उनीहरू अहिलेसम्म मत कसलाई खसाल्ने भन्ने निश्चित गरेका छैनन् तर दलका घोषणापत्रदेखि उम्मेदवारको राजनीतिक पहुँचका बारेमा आफूहरूले अध्ययन गरिरहेको बताउँछन्। सूर्याेदयका विद्यार्थी नरेन्द्र क्षेत्रीले मतदाताले माग गर्नु स्वाभाविक भएको बताउँदै भन्नुभयो, “माग पूरा गरिदिने आधार दिनसक्ने उम्मेदवारको रोजाइमा छौँ।”

इलाम नगरपालिका–१, साखेजुङका खेतीनाथ खत्रीले गत पटकको निर्वाचनमा खानेपानीको व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरेअनुसार खानेपानीको समस्या समाधान भएको सुनाउँदै भन्नुभयो, “ठूलो काम सांसदले गर्ने हो, सानातिना काम पालिकाले गर्ने हो भन्ने कुरा जनताले बुझेका छैनन्। सांसदलाई बिन्तीपत्र पठाएपछि पूरा भयो। जितेर गइसकेपछि नेताहरूलाई देख्न पाएका छैनौँ तर टेलिभिजनमा चाहिँ धेरै पटक देखियो।”

इलाम क्षेत्र नं. २ का एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङको क्षेत्रलाई अझै पनि इलामको कर्णाली भन्ने संज्ञा दिइने गरिएको छ। उहाँले विकासका अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। गठबन्धनका तर्फका उम्मेदवार डम्बरबहादुर खड्काले लामो समयको विकल्प खोज्न आफ्नो उम्मेदवारी भएको तर्क गर्दै विकासका काम पूरा गर्ने आफ्नो घोषणापत्रमा उल्लेख भएकाले सो पूरा गर्ने दाबी  गर्नुभयो।

गठबन्धन–एमाले प्रतिस्पर्धा 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाममा गठबन्धन आबद्ध दल र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। स्वतन्त्र उम्मेदवारी परे पनि उनीहरूको प्रभाव खासै देखिएको छैन। निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल चुनावी मैदानमा हुनुहुन्छ। उहाँसँग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी प्रतिस्पर्धाको दौडमा हुनुहुन्छ। यस निर्वाचन क्षेत्रमा विक्रम पाण्डे, निमातेन्जी शेर्पा, तोयानाथ सापकोटा, नेत्र रेग्मी, कमल चाम्लिङ, पदमबहादुर लिम्बू, गणेश पौडेल र बुद्धलाल मेचे गरी प्रतिनिधि सभामा १० जनाको उम्मेदवारी परेको छ।  

पूर्वप्रम खनालले संविधान र गणतन्त्र बचाउने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताउनुभएको छ। गठबन्धन सरकारले मात्र देशलाई निकास दिन सक्ने बताउँदै उहाँले भन्नुभयो, “गणतन्त्रवादी एकातिर छौँ, अर्कातर्फ प्रतिगामी छन्। त्यसैले गणतन्त्रवादीलाई जिताउन अनुरोध गर्दछौँ।”

एमालेका उम्मेदवार बस्नेतले आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक नेतृत्व परिवतर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “एकै व्यक्तिले एउटै क्षेत्रको प्रतिनिधित्व धेरै गर्नु राम्रो हुँदैन, त्यसैले मतदाताले अब नयाँ अनुहार रोज्नुपर्छ।”

क्षेत्र नं. १ मा प्रदेशतर्फ पनि एमाले र गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। क्षेत्र नं. १ को प्रदेश (क)मा गठबन्धनबाट प्रदेश १ की पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू र एमालेकी शोभा पराजुलीबीच प्रतिस्पर्धा हुँदैछ। प्रदेश (ख)मा गठबन्धनका शमशेर राई र एमालेका दीपक थेबेबीच प्रतिस्पर्धा हुँदैछ। 

इलामको निर्वाचन क्षेत्र नं. १ मा सूर्याेदय र माई नगरपालिका तथा माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका पर्छन्। इलाम नगरपालिकाको वडा नं. १० पनि पर्छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नं. १ मा गठबन्धन बलियो छ। २०७४ सालको निर्वाचनमा इलामको क्षेत्र नं. १ बाट एमालेका तर्फबाट खनाल विजयी हुनुभएको थियो। खनालले ३६ हजार ८०५ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांगे्रसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत प्राप्त गर्नुभएको थियो। 

इलामको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख नेम्वाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा हुँदैछ। यहाँ पनि एमाले र गठबन्धनबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

उहाँहरूबाहेक राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (बीपी) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मङ्गोल नेसनल अर्गनाइजेसनका मणिकुमार लिम्बू (पापो), नेकपा कम्युनिस्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूसहित जुनु माखिम र दिपेश बोहोराले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ।  

प्रदेश सभातर्फ (क)मा सात जना र (ख)मा एक स्वतन्त्रसहित आठ जना उम्मेदवार छन्। यस क्षेत्रमा (क)मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेबाट जिल्ला समन्वय समितिका पूर्वप्रमुख गणेशप्रसाद बरालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन क्षेत्र नं. २ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) र एमालेका तर्फबाट प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर रानामगरबीच प्रतिस्पर्धा हुनेछ। 

२०७४ सालको निर्वाचनमा एमालेका नेम्वाङले कांग्रेसका केशव थापालाई हराएर विजयी बन्नुभएको थियो। उहाँले ३६ हजार ५१७ मत ल्याउँदा कांग्रेसका थापाले २६ हजार ८६५ मत ल्याउनुभएको थियो।