• १२ असोज २०८१, शनिबार

ओखलढुङ्गामा चुनावी अभियान

गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

blog

शेरबहादुर राई

ओखलढुङ्गा, कात्तिक २० गते । ओखलढुङ्गामा सत्ता गठबन्धन र नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् । कात्तिक १७ अघि सामान्य घरदैलो गरेका दलले अहिले सार्वजनिक तथा ठूला चुनावी सभा गर्न थालेका हुन् । 

गठबन्धन उम्मेदवारले मोलुङ गाउँपालिका –२ रामपुरबाट चुनावी सभाको कार्यक्रम प्रारम्भ गरेको छ । एमालेले सिद्धिचरण नगरपालिका र खिजिदेम्बा गाउँपालिकाबाट अभियान सुरु गरेको छ । जनता समाजवादी पार्टीले खिजिदेम्बा र मोलुङ गाउँपालिकाबाट चुनावी अभियान थालेको जनाएको छ । 

गठबन्धन, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन लगायतका दलका प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारले जिल्लाव्यापी अभियान चलाइरहेका छन् । आफ्नो चुनावी नारा घरदैलोमा लग्न विभिन्न कार्यक्रम अभियानका रूपमा उम्मेदवारले चलाइरहेका छन् । 

खेतीपाती भित्र्याउने मौसम भएकाले मतदाताको भने उत्साहजनक उपस्थिति दलको सभामा देखिएको छैन । अधिकांश दलले आफ्नो पार्टीमा अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउने होडबाजी हुनथालेको छ । गठबन्धनले सिद्धिचरण नगरपालिका –६ जन्तरखानिबाट १५० जना एमालेका कार्यकर्ता आफ्नो दलमा प्रवेश गराएको जनाएको छ । 

यता, एमालेले सिद्धिचरण नगरपालिका –३ नारायणस्थान, मानेभञ्ज्याङ गाउँपालिका –१ मोली र लिखुगाउँपालिकाका सयौँ गठबन्धनका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको सो दलले जनाएको छ । त्यसैगरी मोलुङ गाउँपालिका –८ रागाँदिपका ८५ जना स्थानीय नागरिक जनता समाजवादी पार्टीमा प्रवेश गरेको जसपा ओखलढुङ्गाले जनाएको छ । 

जिल्लामा रहेका आठ वटै स्थानीय तहमा प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले संयुक्त तथा एक्लाएक्लै आमसभा साथै घरदैलो कार्यक्रम तय गरिएको विभिन्न दलका नेताहरूले जनाएका छन् । सबै दलका उम्मेदवारले चुनावी अभियानलाई तीव्रता दिए पनि ओखलढुङ्गामा विशेष गरी गठबन्धन र एमाले उम्मेदवारवीच मुख्य प्रतिस्पर्धा हुने स्थानीयको भनाइ छ ।  


मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा संयुक्त लोकतान्त्रिक बाम गठबन्धन र एमालेवीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामहरी खतिवडा र नेकपा एकालेको तर्फबाट उम्मेदवार बन्नुभएका यज्ञराज सुनुवारबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । 

२०७० र २०७४ को निर्वाचनमा विजयी हुनुभएका एमालेका सुनुवार तेस्रो पटक जितको प्रयासमा हुनुहुन्छ । २०७४ को निर्वाचनमा एमालेका सुनुवारसँग पराजित हुनुभएका कांग्रेसका खतिवडा यस पटक जित निकाल्ने दाउमा लाग्नुभएको छ । पाँच वर्षअघिको निर्वाचनमा माओवादी केन्द्र र एमाले गठबन्धनबाट सुनुवार निर्वाचन जित्नुभएको थियो । 

सुनुवार र खतिवडा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुङ्गा निर्वाचन –१ र २ बाट निर्वाचित हुनुभएको थियो । २०७४ देखि ओखलढुङ्गामा एकमात्र निर्वाचन क्षेत्र कायम भएपछि दुई नेता एकअर्काका प्रतिस्पर्धी बन्नुभएको हो । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका तथा वडाका उम्मेदवारले प्राप्त गर्नुभएको मत परिणामका आधारमा कांग्रेसका खतिवडालाई चुवान जित्न सहज देखिन्छ । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गर्नुभएको मतअनुसार कांग्रेसले ३२ हजार दुई सय ८८, एमालेले २९ हजार पाँच सय ९१, माओवादी केन्द्रले ६ हजार नौ सय ६१, जनता समाजवादी पार्टीले दुई हजार एक सय ९४, एकीकृत समाजवादीले पाँच सय २१ र राप्रपा नेपालले एक सय ४६ मत पाएको थियो ।

सो मतअनुसार एमालेभन्दा गठबन्धन करिब १० हजार बढी मतले अगाडि देखिन्छ । गठबन्धनको मत जोड्दा ३९ हजार सात सय एक पुग्छ भने एमालेको २९ हजार पाँच सय ९१ रहेको छ । गठबन्धनका बाट कांग्रेसका प्रतिनिधि सभा तर्फका उम्मेदवार खतिवडाले १२ हजार मतान्तरले चुनाव जित्ने दाबी गर्नुभएको छ । 

खतिवडा गठबन्धनको बलमा २०७४ को बदला लिने तयारीमा लाग्नुभएको छ । एमाले उम्मेदवार सुनुवार ‘ह्याट्रिक’ गर्ने दाउमा लाग्नुभएको छ । सुनुवारले कांग्रेसभित्रको द्वन्द्व र माओवादीभित्रको असन्तुष्टिको फाइदा लिएर चुनाव जित्ने दाउमा देखिनुभएको छ ।

२०७४ को निर्वाचनमा सुनुवार माओवादीसहितको मतबाट विजयी हुँदा खतिवडा पाँच हजार दुई सय ५२ मतले चुनाव हार्नुभएको थियो । अहिले खतिवडालाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत अन्य स्वतन्त्र उम्मेदवारको समेत समर्थन छ । गत स्थानीय तहको चुनावमा गठबन्धनले जिल्लाका आठ स्थानीय तहमध्ये ६ वटामा प्रमुख र चार वटामा उपप्रमुख विजयी हुनुभएको छ । 

प्रतिनिधि सभाका लागि कांग्रेसका खतिवडा, एमालेबाट सुनुवारलगायत जनता समाजवादी पार्टीबाट जुद्धबहादुर राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट ब्रिजबहादुर थापा मगर, त्यस्तै, नेपाल मजदुर किसान पार्टीबाट कुमार तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभा कार्की र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट ङिमाल्हमु शेर्पाबीच प्रतिस्पर्धा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ । 


प्रदेश सभातर्फ प्रतिष्पर्धा

ओखलढुङ्गा प्रदेश सभा (क) र (ख) दुवै तर्फ पनि गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । (क) तर्फ गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार र एमालेका उम्मेदवार प्रदेश नं. १ का पूर्वमन्त्री अम्बीरबाबु गुरुङ हुनुहुन्छ । 

त्यसैगरी (ख) तर्फ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बाबुराम गौतम र एमालेबाट ज्ञानबहादुर खड्का उम्मेदवार हुनुहुन्छ । सुनुवार कांग्रेसको दुई पटक लगातार जिल्ला सभापति र अहिले केन्द्रीय सदस्य हुनुहुन्छ । २०५४ मा गाविस अध्यक्ष तथा जिल्ला पार्टी सभापति हुँदा तत्कालीन जिल्ला विकास समितिको राजनीतिक संयन्त्रको नेतृत्व गरेर काम गर्नुभएका सुनुवार स्थानीय विकासको संरचना र भूगोलबारे जानकार नेताका रूपमा परिचित हुनुहुन्छ । 

यता एमालेका उम्मेदवार गुरुङ प्रदेश १ कमिटीको सचिवालय सदस्य हुनुका साथै २०७४ मा निर्वाचित सांसद र प्रदेश नं.१ को भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका समाल्नु भएको थियो । गुरुङ मन्त्री हुँदा जिल्लाको आफ्नो क्षेत्रमा ठुलो बजेट ल्याउनु भएको थियो ।  

यता प्रदेशसभा ‘ख’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बाबुराम गौतम र एमालेका उम्मेदवार ज्ञानबहादुर खड्का चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा चार वटा स्थानीय तह छन् । चार वटैमा कांग्रेसका उम्मेदवार प्रमुखमा विजयी हुनुभएको छ । कांग्रेसले दुई र एमालेले दुई स्थानीय तहमा उपप्रमुख जितेको छ ।