गोविन्द रेग्मी / श्यामशङ्कर पाण्डे
रुपन्देही, कात्तिक २० गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै रुपन्देहीमा चुनावी माहोल तातेको छ। पाँच दलीय गठबन्धन एवं सरकारका गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लासमेत रहेको रुपन्देहीमा चुनावी प्रचार प्रसारमा भने विगतको जस्तो झकिझकाउ छैन। उम्मेदवारहरू साधारण तरिकाले मतदाताको घरदैलोमा पुगेका छन्।
रुपन्देही–३ बाट प्रतिनिधि सभाका लागि पाँच दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा गृहमन्त्री खाण निर्वाचनमा होमिनुभएको छ। खाणलाई राप्रपाका पुराना नेता दीपक बोहोराले टक्कर दिँदै हुनुहुन्छ। बोहोराले पनि चुनावी प्रचार र घरदैलो कार्यक्रम सुरु गरिसक्नुभएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाण र राप्रपाका पाका नेताबीचको प्रतिस्पर्धालाई मतदाताले चासोका साथ हेरेका छन्।
दुवै नेता ‘पावर’मा पुगिसक्नुभएकाले निर्वाचनमा को बलियो भनेर यसै भन्न नसिकिने रुपन्देही–३ सिद्धार्थनगरका गोपालप्रसाद न्यौपानेले बताउनुभयो। “अहिलेका चल्तापुर्जा कांग्रेस नेता खाण गृहमन्त्री पनि भइसक्नुभयो। गृहमन्त्रीजस्तो मान्छेलाई कमजोर आँक्ने कुरा भएन। यता २०३६ सालको जनमतसङ्ग्रहदेखि निरन्तर चुनाव लड्दै आउनुभएका बोहोरा पनि नेपाली राजनीतिमा भिजेको पात्र हुनुहुन्छ। बोहोरालाई अहिले नेकपा (एमाले) र जसपाको पनि समर्थन रहेको छ। बाहिर सडकमा चुनावी माहोल विगतको जस्तो नदेखिएकाले नतिजाबारे आँकलन गर्न सकिन्न,’’ ६७ वर्षीय न्यौपानेले गोरखापत्रसँग भन्नुभयो।
गृहमन्त्री खाणले भने यसपटकको चुनावी लडाइँ निरङ्कुशताविरुद्ध भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो। “सबैखालको निरङ्कुशताविरोधी आन्दोलनमा होमिएर सफलता पाएको मान्छे हुँ। विद्यार्थी आन्दोलनदेखि अहिलेसम्म प्रजातन्त्र र सार्वभौमसत्ताका लागि लड्दै आएको छु। २०६४ को हावाहुरीमा त रुपन्देहीबाट कांग्रेसको एक्लो जित्ने मान्छे हुँ म। झन् अहिलेको गठबन्धनमा हारको त कल्पनासमेत गरेको छैन,’’ उहाँले भन्नुभयो।
चुनावी घरदैलोका क्रममा गृहमन्त्री खाणले शुक्रबार राति मात्र यहाँ प्रजातान्त्रिक प्राध्यापक सङ्घको भेलालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले प्राज्ञिक र शिक्षित वर्गलाई नीति निर्माणमा हस्तक्षेप गर्न आग्रहसमेत गर्नुभयो। “नीति निर्माण तहमा प्राध्यापक र विद्वत् वर्गको ठूलो भूमिका रहन्छ। यसले देश विकासका लागि खाका कोर्न प्रतिनिधिलाई सहयोग पनि पुग्छ,’’ उहाँले भन्नुभयो। आफू २२ वर्ष निरन्तर कांग्रेसको केन्द्रीय सदस्य रहेको र गठबन्धनका सबै दलले रुचाएरै गृहमन्त्री बनेकाले आगामी दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लागिपर्ने पनि
उहाँले बताउनुभयो।
“गठबन्धन युगले दिएको दायित्व हो। पञ्चायती व्यवस्था र राजतन्त्र फालेर गणतन्त्र ल्याए पनि बहुमतको नाममा फरकखालको तानाशाह देखाप¥यो। त्यसैको परिवर्तनका लागि पाँच औँलाको मुठ्ठीजस्तै पाँच दलीय गठबन्धन बनाएका हौँ,” उहाँले भन्नुभयो, “अबको हाम्रो नारा ‘गणतन्त्र जोगाउने र जनताको जीवनस्तर बदल्ने हो।’’ खाणले शनिबार दिउँसो पनि गठबन्धनले भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो।
यता बोहोराले पनि यसपटक आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ। राप्रपाका नेता एवं पूर्वगृहराज्यमन्त्री निरञ्जन थापाले रुपन्देहीको विकासमा लामो समयदेखि जोडिनुभएका बोहोरालाई जिताउन अहिले सबै जनता लागिपरेको दाबी गर्नुभयो। स्वास्थ्य समस्याका कारण बोहोरा बोल्न सक्ने अवस्थामा हुनुहुन्न। ‘पोस्ट कोभिड’का कारण बोहोरालाई केही समय चिकित्सकले नबोल्न सुझाव दिएको थापाले बताउनुभयो। बोहोरालाई एमालेसहित जसपाले समर्थन गरेको छ।
निर्वाचनमा उम्मेदवारले जित्छु भन्नु स्वाभाविक भए पनि पछिल्लो समय दलका नीति तथा कार्यक्रमलाई विश्वास गरेर मत हाल्ने काम हुन छाडेको सिद्धार्थनगर नगरपालिका–३ का सञ्जु गुरुङले बताउनुभयो। “नीति र कार्यक्रमभन्दा पनि को नेता बलियो र कसले परेको बेलामा काम गर्न सक्छ भनेर स्थानीयवासीले बढी महत्व दिने गरेका छन्। नेपालको राजनीति नीतिभन्दा पनि नेताप्रधान भइरहेको छ। नेता सदैव जनताको चौकीदार हुनुपर्ने हो तर मत हालुन्जेल जनप्रेमीजस्ता लाग्छन्। मत दिएर पठाएपछि आफ्ना नातागोता र आफन्तबाहेक अरूलाई चिन्दैनन्,’’ गुरुङले भन्नुभयो।
प्रतिनिधि सभामा गृहमन्त्री खाण र राप्रपा नेता बोहोरा उम्मेदवार रहेको रुपन्देही–३ को प्रदेश सभा (क)मा गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सन्तोषकुमार पाण्डे र जसपाबाट महेन्द्र यादवले उम्मेदवारी दिनुभएको छ। रुपन्देही–३ को प्रदेश सभा (क)मा एमालेका उम्मेदवार छैनन्। यस्तै प्रदेश सभा (ख)बाट कांग्रेसका रामचन्द्र ढकाल र एमालेबाट तुलसीप्रसाद चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।