• १३ साउन २०८१, आइतबार

अग्निपरीक्षामा केन्द्रीय तहका नेता

blog

बर्दिबास, कात्तिक १९ गते । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन प्रचारप्रसारको औपचारिक चरणमा प्रवेश गरेको छ । मतदाताको मत जित्न उम्मेदवार तथा तिनका समर्थक सघन कार्यक्रममा जुटेका छन् । मतदाता रिझाउन सभा सम्मेलन, सम्पर्क तथा घरदैलोजस्ता कार्यक्रमका आयोजनाले जिल्ला निर्वाचनमय देखिएको छ । 

यादव, महतो, मुस्लिम र भूमिहार जातिको बाहुल्य रहेको महोत्तरीमा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अन्य जातिको मत निर्णायक हुने देखिएको छ । एउटै क्षेत्रमा यिनै जातिका एकभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रेकाले अन्य जातिको मत निर्णायक हुने आकलन गरिएको हो । 

निर्णायक मानिएका अन्य जातिका मन जित्न सबै उम्मेदवारले चुनावी अभियानलाई तीव्र पारेका छन् । तीन लाख ९७ हजार ३० मतदाता रहेको महोत्तरीमा प्रतिनिधि सभाका चार र प्रदेश सभाका आठ निर्वाचन क्षेत्र छन् । 

हरेक निर्वाचनमा मतदाता सङ्ख्या बढ्दै गएको महोत्तरीमा निर्वाचन क्षेत्र भने घट्दै गएको छ । २०४७ सालको संविधान आएपछि महोत्तरीमा पाँच निर्वाचन क्षेत्र निर्धारण गरियो । संविधान सभामा बढेर छवटा क्षेत्र पुगे तर पुनर्संरचनापछि महोत्तरी चार निर्वाचन क्षेत्रमा खुम्चियो । यसले चुनावी पृष्ठभूमिलाई नै प्रभावाति पारेको विश्लेषण गरिएको छ । 

महोत्तरीमा यस पटक २४ राजनीतिक दलका प्रतिनिधि सभातर्फ पाँच महिलासहित ६९ र प्रदेश सभातर्फ १६ महिलासमेत १७० उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् । केन्द्रीय तहका नेतामध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महन्थ ठाकुर र शरतसिंह भण्डारी, माओवादीका गिरिराजमणि पोखरेल, कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमार राय र जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादव, डा. सुरेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का वृषेशचन्द्र लाल, डा. विजयकुमार सिंहलगायतले परिणाम आफ्नो पक्षमा पार्न निकै प्रयासमा जुट्नुभएको छ ।

हरेकजसो निर्वाचनमा विजयी हुँदै आउनुभएका सत्ता गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार गिरिराजमणि पोखरेलका लागि यो निर्वाचन अग्निपरीक्षा बनेको छ । उहाँले महोत्तरीको क्षेत्र नं. १ बाट २०६४ सालदेखि लगातार चुनाव जित्दै आउनुभएको छ । यतिखेर भने उहाँप्रति मतदाताका गुनासैगुनासा छन् । २०७४ को निर्वाचनमा पोखरेलका पुराना प्रतिद्वन्द्वी लक्ष्मी महतोले नयाँ पृष्ठिमूमिका साथ यसै क्षेत्रबाट पुनः उम्मेदवारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा पोखरेलका निकटतम प्रतिस्पर्धी महतो सङ्घीय समाजवादी फोरमका उम्मेदवार हुनुहुन्थ्यो । यो निर्वाचनमा महतोलाई नेकपा (एमाले)ले टिकट दिएको छ । 

हरेकजसो निर्वाचनमा विजयी हुँदै आउनुभएका लोसपाका नेता शरत्सिंह भण्डारीका लागि पनि यो निर्वाचन अग्निपरीक्षासरह भएको छ । कहिले स्वतन्त्र, कहिले कांग्रेस र कहिले मधेशवादी दलबाट निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै आउनुभएका भण्डारीले अनेक मोड र अवरोध छिचोल्दै आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिँदै आउनुभएको छ । आसन्न निर्वाचनको अन्तिम अवस्थामा उहाँको पार्टीले सत्ता गठबन्धनसँग तालमेल गरे पनि यस पटक भण्डारीलाई चुनौती थपिएको जानकारहरू बताउँछन् । 

यसै क्षेत्रबाट तमलोपाले डा. विजयकुमार सिंहलाई र एमालेले डा. रामपरीक्षण यादवलाई मैदानमा उतारेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवका पेसागत सहयात्री डा. सिंह मधेश आन्दोलनपछि राजनीतिमा सक्रिय देखिए पनि उहाँको परिचय र पहिचान राजनीतिभन्दा बढी चिकित्सकका रूपमा छ ।  मेडिकल अफिसरबाट सेवानिवृत्त डा. यादव राजनीतिक वृत्तमा नयाँ नाम हो । एउटै निर्वाचन क्षेत्रबाट सिंह र यादवको उम्मेदवारी ‘डाक्टरविरुद्ध डाक्टर’को हुने र यसको राजनीतिक लाभ भण्डारीलाई पुुग्न सक्ने विश्लेषण गरिँदै आएको छ । 

सदरमुकामसमेत रहेको निर्वाचन क्षेत्र नं. ३ चुनावका बेला सर्वाधिक चर्चामा आउने क्षेत्रमध्ये पर्छ । यस क्षेत्रबाट लोसपाका शीर्ष नेता महन्थ ठाकुर दोस्रो पटक चुनाव लड्दै हुनुुहुन्छ । २०७४ को निर्वाचनमा उहाँ यसै क्षेत्रबाट भारी मत ल्याएर विजयी हुनुभएको थियो तर यसबीच उहाँको पुरानो पार्टी राजपा टुक्रिएको छ । सहकर्मीमध्ये पनि कतिपयले साथ छाडेकाले यो निर्वाचन ठाकुरका लागि त्यति सहज नभएको विश्लेषण गरिएको छ । जसपाका उम्मेदवार एवं पूर्वमन्त्री हरिनारायण यादव, तमलोपाका वृषेशचन्द्र लाल र ठाकुरबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

महोत्तरी क्षेत्र नं. ४ बाट जसपाका डा. सुरेन्द्रकुमार यादव र कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमार राय चुनावी मैदानमा हुनुहुन्छ । २०७४ को निर्वाचनमा पनि यादव र रायबीच कडा प्रतिस्पर्धा भएको थियो । विगतका संसदीय निर्वाचनमा महोत्तरीका सबै कांग्रेसले जित्दै आएको थियो । संविधान सभा निर्वाचनदेखि कांग्रेस खुम्चँदै गयो । यस पटक प्रतिनिधि सभा सदस्यका लागि महोत्तरीमा राय एक जना मात्र कांग्रेस उम्मेदवार भएकाले यो क्षेत्रले चासो र चर्चा पाएको छ । 

  

Author

रवीन्द्र उप्रेती