• १३ साउन २०८१, आइतबार

सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

blog

धर्बेन्द्र झा 

धनुषा, कात्तिक १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाल सरकारको गृह मन्त्रालय तथा मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राउतले सो निर्देशन दिनुभएको हो । 

मधेश प्रदेशमा भारतसँगको खुला सिमानाका साथै आन्तरिक तिक्तताले निर्वाचनमा हुन सक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले कुनै प्रकारको आपराधिक गतिविधि हुन नदिन सचेत रहन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभयो । निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको भन्दै मुख्यमन्त्री राउतले आचारसंहिताको सूक्ष्म कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणजस्ता कामलाई प्राथमिकतामा राख्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । प्रदेश गृह तथा सञ्चारमन्त्री साहकै अध्यक्षतामा भएको सो गोष्ठीमा नेपाल सरकारका गृहसचिव विनोदप्रकाश सिंह, मधेश सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत, नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहको सहभागिता थियो ।

सोहीअनुसार कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको पनि उपस्थिति थियो । गोष्ठीमा मधेश प्रदेशस्थित आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे गोष्ठीमा सहभागिभएका सुरक्षा निकायका प्रमुखलाई जानकारी गराउनु भएको थियो ।