• १२ असोज २०८१, शनिबार

विकासकै मुद्दा प्राथमिकतामा

blog

राधा लुइँटेल 

फिदिम, कात्तिक १६ गते ।  पाँचथर जिल्लामा सुरु भएर अधुरो रहेका योजना पूरा गर्ने वचन दिँदै प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएका दल र स्वतन्त्र उम्मेदवारहरू मतदातासँग भोट मागिरहेका छन्।

लामो समयसम्म पूरा नभएका योजना पाँच वर्षभित्र पूरा गर्ने भन्दै उम्मेदवारहरूले विकासकै मुद्दालाई चुनावी एजेन्डा बनाएका हुन्। 

केही साना दलले प्रदेशको नामकरणलाई पनि मुद्दा बनाएको पाइएको छ। एक जना निर्वाचित हुने प्रतिनिधि सभाका लागि पाँचथरबाट चार स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ। प्रायः उम्मेदवारको प्राथमिकता चार दशकअगाडि निर्माण सुरु भएर अधुरो रहेको राँके–रवि सडक खण्डलाई पूर्णता दिने रहेको छ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वसन्तकुमार नेम्वाङले पाँचथर, इलाम र धनकुटालाई छोएर अगाडि बढेको ‘राँके–रवि छ नम्बर बुधबारे (१०३ किमि) फिदिम याङ्नाम फालौट (८६ किमि) र जोरपोखरी एकतिन मेमेङ फालौटे (९० किमि) सडकलाई पूर्णता दिनु आफ्नो प्राथमिकता रहेको बताउँदै मत मागिरहनुभएको छ। बहुचर्चित तमोर जलाशययुक्त आयोजना आफ्नो अर्को प्राथमिकतामा रहेको उहाँ बताउनुहुन्छ।

नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे आफ्ना प्रतिद्वन्द्वी नेम्वाङले उठाएका मुद्दा केवल चुनावी एजेन्डा मात्रै भएको दाबी गर्नुहुन्छ। आफूले प्रतिनिधि सभामा सहभागिता जनाउने अवसर पाए रोकिएको उक्त सडकको कालोपत्रे पूरा गर्ने उहाँको दाबी छ। २०७० सालमा संविधान सभा सदस्यबाहेक जिम्मेवार स्थानमा पुग्न नसके पनि जिल्लाको हकमा थुप्रै काम गरेको बताउनुहुने उहाँ एक पटक जनताबाट अनुमोदन भएर जिल्लाको विकासमा लाग्नेमा विश्वस्त हुनुहुन्छ ।

राप्रपा, जसपा र स्वतन्त्र उम्मेदवार भने कांग्रेस र एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा काम गर्न नसकेकाले आफूलाई मत दिए पूरा गर्ने भन्दै यही सडकलाई चुनावी एजेन्डा बनाएका छन्। 

“पञ्चायतकालमा सुरु भएका सडक बहुदल प्राप्तिपश्चात| कांग्रेस र कम्युनिस्टले पटक पटक सरकारको नेतृत्व गर्ने अवसर पाए पनि पूरा भएन, अधुरो काम पूरा गर्ने मेरो जिम्मेवारी हो।” राप्रपाका तर्फबाट प्रदेश (ख)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिनुभएका सगुनसुन्दर लावतीले भन्नुभयो ।

प्रदेश सभातर्फका उम्मेदवारहरूले भने प्रदेशको नामकरणलाई पनि एजेन्डा बनाएका छन्। कांग्रेस, माओवादी र एमाले नेतृत्वका कुनै पनि सरकारले न्वारान गर्न नसकेको प्रदेशलाई नाम दिनु आफ्नो प्राथमिकता रहने सङ्घीय लोकतान्त्रिक मञ्चका तर्फबाट प्रदेश (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार सागर केरुङ बताउनुहुन्छ।

सङ्घीयताको अभ्यासकै क्रममा रहेको प्रदेश सरकार र प्रदेश सभाले राजनीतिक अस्थिरता हुँदाहुँदै पनि थुप्रै काम सुरु गरेकाले तिनलाई पूरा गर्न पुनः एकपल्ट जनताबाट अनुमोदन हुन आएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको तर्क छ।

मतदाता भने उम्मेदवारहरूले विकास निर्माणसँगै शिक्षा, स्वास्थ, पूर्वाधार र जनजीविकाका सवालमा केन्द्रित हुनुपर्ने धारणा राख्छन्। एक जना निर्वाचित हुने प्रतिनिधि सभा सदस्यका लागि पाँचथरबाट चार स्वतन्त्रसहित १५, प्रदेश सभा (क)का लागि दुई स्वतन्त्रसहित १० र प्रदेश सभा (ख) का लागि नौ गरी ३४ जनाको उम्मेदवारी दर्ता भएको छ।