• १६ भदौ २०८१, आइतबार

समानुपातिकको मतपत्र व्यवस्थापन हुँदै

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, कात्तिक १६ गते ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन अधिकृतका कार्यालयका कामहरू निर्वाचन केन्द्रित भएका छन्। 

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र व्यवस्थापनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अधिकृतको कार्यालय लागेका छन्। आयोगले जिल्लामा मतपत्र राख्न आवश्यक कपडाको थैलो पठाएपछि दुवै निर्वाचन अधिकृतको कार्यालय मतदान केन्द्रमा मतपत्र पठाउन मतपत्र छुट्याउने काममा लागेका हुन्। 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सहायक मतदान अधिकृत अप्सरा चापागाईंले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र सोमबारदेखि छुट्याउने काम सुरु गरिएको बताउनुभयो। उहाँले निर्वाचन सामग्रीमध्ये हालसम्म समानुपातिकतर्फको मतपत्र र कपडाको थैलो मात्रै प्राप्त भएको बताउनुभयो। यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सहायक मतदान अधिकृत शेषराज दाहालले केही दिनमा समानुपातिकतर्फको मतपत्र व्यवस्थापन सकिने बताउनुभयो। 

प्रत्यक्षतर्फको मतपत्र प्राप्त भएपछि मतदान केन्द्रअनुसार मतपत्र पठाइने उहाँले बताउनुभयो। उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट मतदानका लागि खटिने कर्मचारीको 

नामावली प्राप्त भइसकेकाले कर्मचारीको नामावली रुजु गरी मतदानस्थलमा खटिने कर्मचारीको व्यवस्थापन गरिनेछ। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १८९ मतदान केन्द्र र प्रतिनिधि सभा २ मा २०० वटा मतदान केन्द्र रहेका छन्।