• १३ साउन २०८१, आइतबार

स्यालको आक्रमणबाट सात जना घाइते

blog

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक १६ गते । बस्ती पसेको स्यालको आक्रमणबाट बर्दिबास नगरपालिका–४, माईस्थानमा सात जना घाइते भएका छन्। घाइतेमध्ये विभा आले, तेजबहादुर राना र तुलामाया सुठुङ्गेको अवस्था गम्भीर छ। 

घटनालगतै तीनै जनालाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले सिफारिस गरेपछि उहाँहरूको अहिले काठमाडाैँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। 

घाइतेमध्ये ४५ वर्षीया विभा आलेको अवस्था चिन्ताजनक छ। प्रत्यक्षदर्शीका अनुसार आक्रमणलगत्तै उहाँ मूच्र्छित हुनुभएको थियो। उहाँको हातको एउटा औँलासमेत स्यालले खाएको छ। शुभ स्वस्तिक अस्पतालका व्यवस्थापक दीपेन्द्र ढकालका अनुसार दुवै ओठमा टोकेर घाइते बनाएकाले विभालाई बीभत्स अवस्थामा अस्पताल ल्याइएको थियो। 

स्यालले चिथोरेपछि ६५ वर्षीय तेजबहादुर र ५५ वर्षीया तुलामायाको टाउको, हात, आँखालगायतका अङ्गमा गहिरो घाउ लागेको छ। सोही ठाउँकी ६० वर्षीया लक्ष्मीमाया तामाङको अवस्था भने सामान्य छ। उपचारमा संलग्न डा. धीरज साहका अनुसार स्यालले टोक्दा लगाइने ‘इम्युनो ग्लोमिन भ्याक्सिन’ काठमाडौँमा मात्रै पाइने र अवस्था जटिल भएकाले उहाँहरूलाई काठमाडौँका लागि सिफारिस गरिएको हो।  

“घाइतेलाई एन्टिबायोटिक, रेबिजविरुद्धको इन्जेक्सन, पेनकिलरलगायत यहाँ सम्भव भएसम्मको उपचार गरी काठमाडौँ पठाएका हौँ,” डा. साहले भन्नुभयो, “स्यालको टोकाइ कुकुरको भन्दा जटिल हुने भएकाले पनि प्रेषण गरिएको हो।” 

गाउँमा आक्रमण गरेपछि भागेको सोही स्यालले सशस्त्र प्रहरी छिन्नमस्ता वाहिनीका दुई जवान निरज गोले र पप्पु नुनियालाई पनि आक्रमण गरी घाइते बनाएको उक्त वाहिनी मुख्यालयका वाहिनीपति गणेश ठाडामगरले बताउनुभयो। 

वडाध्यक्ष अक्कलबहादुर तामाङका अनुसार स्यालले एक जनालाई आक्रमण गर्दा वरपरका मान्छेले होहल्ला गरेपछि फेरि अर्को घरको मान्छेलाई टोक्ने, चिथोर्ने गरेको थियो। स्यालले सबैभन्दा पहिले गाउँकै नौ महिनाकी गर्भवती २८ वर्षीया नर्मदा श्रेष्ठलाई आक्रमण गरेर घाइते बनाएको उहाँले बताउनुभयो। छिमेकी कुमार बस्नेतका अनुसार उहाँको पनि हातको एउटा औँला लुछेर तथा शरीरका अन्य ठाउँमा टोकेर घाइते पारेको छ। स्यालले सोमबार एकै दिन छ जनालाई आक्रमण गरेको हो। 

सशस्त्र प्रहरीको वाहिनी मुख्यालय प्रवेश गरेको उक्त स्याललाई सशस्त्र जवानले मारेका छन्। वाहिनीपति मगरका अनुसार मङ्गलबार बिहान ५ः०० बजे छिन्नमस्ता वाहिनी परिसर प्रवेश गरेको स्यालले सशस्त्र जवान इन्द्रलाल चौधरी र सुमन राउतलाई आक्रमण प्रयास गरेको थियो। प्रतिरक्षामा दुवैले प्रहार गरेको बेतको लौरोले लागेर स्याल घटनास्थलमै मरेको थियो। 

मृत स्याललाई वन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। डिभिजन वन प्रमुख (डीएफओ) सन्तोष झाले घाइतेहरूलाई वन्यजन्तु राहत निर्देशिकाअनुसार रकम उपलब्ध गराउनेतर्फ कारबाही प्रक्रिया सुरु गरिएको बताउनुभयो।