• १२ असोज २०८१, शनिबार

एक दशकदेखि पुल निर्माण अधुरो

दुई जिल्ला जोड्ने योजना प्रभावित

blog

फिदिम समाचारदाता

फिदिम, कात्तिक १६ गते । पूर्वी पहाडका दुई जिल्लालाई सडक सञ्जालले जोड्ने उद्देश्यसहित निर्माण थालिएको पुल निर्माण व्यवसायीको लापरबाहीले अझै सम्पन्न भएको छैन । पाँचथर र तेह«थुमको सीमावर्ती तमोर नदीस्थित लुमु घाटमा ११ वर्षअगाडि पुल निर्माण सुरु भएको थियो।

यी दुई जिल्ला जोड्ने पुल बनाउन स्वच्छन्द निर्माण सेवा नामक ठेकेदार कम्पनीले २०६८ सालमा १७ करोड रुपियाँ लागतमा सडक विभाग मातहतको पुल सेक्टरसँग सम्झौता गरेको थियो। कम्पनीले २०७२ असारभित्र पुल हस्तान्तरण गर्नुपर्ने सम्झौतमा उल्लेख छ। 

आठवटा पिल्लर रहने पुलमा हालसम्म चारवटा पिल्लर उठाएर ढलान गरिए पनि चारवटा पिल्लरको काम बाँकी छ। पुलको लम्बाइ एक सय ५७ मिटर र चौडाइ तीन मिटर हुने सम्झौता पत्रमा उल्लेख छ।

तेह्रथुमको म्याङलुङ नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिकाको सिमाना भएर बग्ने लुमु घाटमा निर्माणाधीन यो पुल नबन्दा पाँचथर सदरमुकाम फिदिमदेखि यासोक हुँदै तेह्रथुम सदरमुकाम म्याङलुङ जोड्ने ४५ किलोमिटर सडकमा सवारी र ढुवानी साधन ओहोर दोहोर गर्न समस्या भइरहेको छ ।

निर्माण व्यवसायी र तिनका कर्मचारीलाई काम सक्न पटक पटक ताकिता गर्दा पनि अटेर गर्दा समस्या भएको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती बताउनुहुन्छ। फिदिमदेखि लुमुघाट जोड्ने ४५ किलोमिटर र म्याङलुङदेखि लुमुघाटपुलसम्म १९ किलोमिटर सडक भने पाँच वर्षअगाडि नै निर्माण सम्पन्न भएको थियो। 

उक्त सडकमा गाडी गुडिरहेका भए तापनि पुल नहुँदा ती सवारी र ढुवानीका साधन वारपार गर्न सकेका सक्दैनन्। सम्झौतापत्रमा ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रबन्ध निर्देशक जयराम लामिछाने भने २०७२ को भूकम्प, त्यसपछिको नाकाबन्दी, लकडाउन आदि कारणले काममा ढिलाइ भएको दाबी गर्नुहुन्छ। यी र यस्तै कारण देखाएर निवेदन पेस गरेकै आधारमा सरकारले निर्माण कम्पनीलाई सात पटक म्याद थपिसकेको छ।