• १२ असोज २०८१, शनिबार

सङ्खुवासभामा मतदाता शिक्षा कार्यक्रम सुरु

blog

जिल्लाको चिचिला गाउँपालिकामा नमुना मतदान गरिँदै । तस्बिर : गोरखापत्र

ध्यान कुलुङ

सङ्खुवासभा, कातिक १६ गते । सङ्खुवासभाका १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सवै स्थानीय तहमा विभिन्न चरणमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।

जिल्लामा निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाको लागि ३ तहको समिति निर्माण गरिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय समिति, प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पालिका स्तरीय र वडा सचिवको संयोजकत्वमा वडा स्तरीय मतदाता शिक्षा समिति गठन गरिएको हो । सोहि समितिहरु मार्फत जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

जिल्लामा रहेका विभिन्न रेडियोहरुबाट निर्वाचन सम्बन्धि ‘जिङ्गल’हरु प्रसारण सुरु गरिएको छ । त्यस्तै जिल्लाको सवै स्थानीय तहको केन्द्रहरुमा नमुना मतदान कार्यक्रम सुरु गरिएको छ । नमुना मतदान कार्यक्रमको पहिलो दिन मंगलबार चिचिला गाउँपालिका, मादी नगरपालिका र धर्मदेवी नगरपालिकामा सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख रामेश्वर निरौलाले जानकारी दिनुभयो । 

कातिक १५ बाट सुरु गरिएको नमुना मतदान कार्यक्रम कातिक २१ सम्म सञ्चालन गरिने निरौलाले जानकारी दिनुभयो । अर्को चरणमा जिल्ला निर्वाचन कार्यालयबाट तोकिएको प्रतिनिधिले मतदाताहरुको घर घरमा गएर मतदान गर्ने तरिका सिकाउने कार्यक्रम तय गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख निरौलाले जानकारी दिनुभयो । 

उक्त प्रतिनिधिहरु वडा स्तरीय समितिको सिफारिसमा छनौट समेत गरिसकिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यका लागि प्रत्येक वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरु खटाईएको निरौलाले जानकारी दिनुभयो । 

यसरी छनौट भएका प्रतिनिधिहरुलाई तालिम दिईएपछि फिल्डमा पठाईने प्रमुख निरौलाले बताउनुभयो । यसरी प्रत्येक घरमा पुगेर मतदान गर्ने तरिका बारे जानकारी गराउदा मत बदर हुने सम्भावना कम हुने अपेक्षा निर्वाचन कार्यालयको छ । सङ्खुवासभामा प्रतिनिधि सभा तर्फ १ र प्रदेश सभा तर्फ २ वटा निर्वाचन क्षेत्रहरु छन् । प्रतिनिधि सभाका लागि २ स्वतन्त्र सहित १२ जना चुनावी मैदानमा छन् । 

प्रदेश सभा (क) तर्फ एक स्वतन्त्र सहित ८ जनाको उमेदवारी रहेको छ भने प्रदेश सभा (ख) तर्फ २ स्वतन्त्र सहित ९ जनाको उमेदवारी रहेको छ । एक सय ६२ मतदान केन्द्र रहेको सङ्खुवासभामा एक लाख १७ हजार ५५४ मतदाता रहेका छन् ।