काठमाडौँ, कात्तिक १४ गते । शुक्रबारबाट प्रदर्शनमा आएको ‘महापुरुष’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ। वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको चलचित्रले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
“हामीले उठान गरेको विषयलाई दर्शकले रुचाउनुभयो। यो हाम्रो पहिलो सफलता हो,” लेखकसमेत रहनुभएका निर्देशक प्रदीप भट्टराईले भन्नुभयो, “हल भिजिटमा दर्शकमार्फत पाएको प्रतिक्रियाले अभिनेता हरिवंश आचार्य उत्साहित हुनुहुन्छ । उहाँले बलिदानपश्चात् यस किसिमको अभिनय गरेको प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्। दर्शकले मलाई फरक रूपमा समेत रुचाउनुभयो।”
“बलिदानपश्चात् नयाँ पुस्तामा यसै चलचित्रमार्फत यस किसिमको भूमिका निर्वाह गर्न पाएँ,” अभिनेता हरिवंश आचार्यले भन्नुभयो। हल भिजिटमा निर्देशक प्रदीप भट्टराई र कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली सहभागी हुनुहुन्थ्यो।
चलचित्रले नेपाल मात्र नभई अस्ट्रेलियामा पनि राम्रो सुरुवात गरेको छ। सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमा हलमा चलचित्र हेर्न आइपुग्नुभएका अधिकांशका आँखा रसाए। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, सिरू विष्टसँगै नव प्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा हुनुहुन्छ।