• १३ साउन २०८१, आइतबार

आरोहीको पहिलो रोजाइ मनासलु

blog

काठमाडौँ, कात्तिक ६ गते । डोरी टाँग्ने काम सकेसँगै आरोहण सुरु भएको मनासलुमा यस वर्ष सबैभन्दा बढी आकर्षण देखिएको छ । मनासलुमा गत भदौ ३० गते डोरी टाँगिएको थियो ।

पर्यटन विभागका अनुसार यो सिजनमा मनासलु आरोेहणका लागि ३८ समूहका ४०४ जनाले आरोहण अनुमति लिएका थिए । मनासलु आरोहणका लागि अनुमति लिनेमा ९७ महिला र ३०७ जना पुरुष छन् ।

अनुमति लिएकामध्ये करिब १८४ जनाले चुचुरो टेकेको विभागले जनाएको छ । यस वर्ष मनासलुबाट मात्रै सरकारलाई चार करोड ६२ लाख ९१ हजार ५७६ रुपियाँ राजस्व प्राप्त भएको छ । 

एक दशकभन्दा बढी समयदेखि शरद ऋतुमा आरोहण हुन नसकेको सगरमाथामा यस पटक पनि आरोहण हुन सकेन । सन् २०१० यता शरद ऋतुमा सगरमाथामा आरोहण हुन सकेको छैन । विभागको आरोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यस वर्ष सगरमाथा आरोहण गर्न पाँच जनाले अनुमति लिए पनि बिग्रँदो मौसमका कारण आरोही आरोहण रोकेर फर्किइसकेको जानकारी दिनुभयो । सगरमाथा आरोहण गर्न गएको उक्त टोलीले उच्च हावाको वेग र धेरै हिमपातका कारण आरोहण अभियान स्थगन गरेको छ ।

त्यस्तै चोयु हिमालमा पनि आरोहण हुन सकेको छैन । चीनतर्फबाट मात्रै आरोहण सम्भव मानिने चोयु आरोहण गर्न तीन समूहका १२ जनाले अनुमति लिएका थिए । 

अधिकृत कोइरालाले भन्नुभयो, “सगरमाथा र चोयु हिमाल आरोहण गर्न अनुमति लिएको टोली आरोहण रोकेर फर्किइसकेको छ । चोयुमा आरोहण सफल भएको भए अर्काे वर्ष मनासलुको भीड व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेका थियौँ तर प्रतिकूल मौसमले आरोहण हुन सकेन ।”

यस वर्षको शरद ऋतुमा विभिन्न ४० वटा हिमाल आरोहणका लागि ७६ राष्ट्रका एक हजार १८८ जनाले अनुमति लिएका थिए । गत वर्ष यही सिजनमा नेपालसहित ६७ देशका ८३ समूहका एक हजार २१६ जनाले अनुमति लिएका थिए ।

गत वर्ष अनुमति लिएकामध्ये ६४७ पुरुष र ११५ जना महिलाले आरोहण पूरा गरेका थिए । गत वर्ष २८ वटा हिमाल मात्रै आरोेहणका लागि खुला गरिए पनि यो वर्ष भने ४० हिमाल आरोहणका लागि खुला गरिएको थियो । यस वर्ष सरकारलाई हिमाल आरोहणबाट आठ करोड ३२ लाख ८७ हजार ५९२ रुपियाँ राजस्व प्राप्त भएको छ ।

यस पटक आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक रहेका छन् । विभागका अनुसार यस पटक ८३ जना अमेरिकी आरोहीले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन् ।

त्यस्तै गरी बेलायत, स्पेन, फ्रान्स, जर्मनी, भारत, इटालीलगायतका मुलकबाट पनि अनुमति लिनेमा अधिक छन् । विभागले वर्षमा मार्च, अप्रिल, मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।