• १३ साउन २०८१, आइतबार

माला बनाउने र फूल टिप्‍ने चटारो

blog

सयपत्री फूल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक ४ गते । तिहार नजिकिएसँगै फूल खेती गर्ने कृषकलाई फूल टिप्न र माला बनाउने चटारो छ।  तनहुँका विभिन्न भागमा यतिबेला कृषक भाइटिकामा प्रयोग हुने फूल टिप्न र माला बनाउन व्यस्त छन्। तिहार नजिकिएकोले पोखरामा लगेर बिक्री गर्नको लागि भाइटिकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफू व्यस्त बनेको शुक्लागण्डकी नगरपालिका–८ डहरेकी मञ्जु श्रेष्ठले बताउनुभयो।

दुई रोपनीमा लगाएको सयपत्री फूल टिप्न र माला बनाउने परिवारको सबै सदस्य व्यस्त बनेको उहाँले जानकारी दिनुभयो। वार्षिक रूपमा फूल बिक्री गरेर करिब एक लाख रुपियाँ आम्दानी गर्ने गरेको श्रेष्ठ बताउनुहुन्छ। तनहुँमा विशेष गरेर शुक्लागण्डकी र भिमाद नगरपालिकाको विभिन्न स्थानका कृषकले फूलको व्यावसायिक खेती गर्दै आएका छन्। तीन महिनामै फूल पुल्ने हुँदा थोरै लगानी, दुःख पनि कम हुने र मौरी पालनबाट समेत  राम्रो आम्दानी हुने भएकाले फूल खेतीमा आफू सन्तुष्ट रहेको श्रेष्ठले बताउनुभयो।  पारिलो क्षेत्रमा सयपत्री छिटो फुल्ने भएता पनि अत्यधिक वर्षाका कारण सबै फूल तिहारमा नफुलेको श्रेष्ठले बताउनुभयो ।  


सरकारले भारतबाट सयपत्री फूल आयातमा प्रतिबन्ध लगाएकोले यस पटक आफ्नो उत्पादनको बिक्री हुने अपेक्षा कृषकले गरेका छन्।  भिमाद नगरपालिका ८ भागरमा तीन युवाले सामूहिक रूपमा लगाएको सयपत्री पूर्ण रूपमा फक्रिएको छैन। तिहार आइसक्दा पनि ७० प्रतिशत मात्र फूल फुलेपछि लक्ष्य अनुसारको व्यापार नहुने पो हो कि भन्ने चिन्ता उनीहरूलाई छ। गत वर्षदेखि फूल खेती गर्नु भएका सागर विकले यस वर्ष आफ्नो उत्पादन आफै बिक्री गर्ने लक्ष्य लिए पनि बजार व्यवस्थापनमा समस्या रहेको सुनाउनुहुन्छ।  बजारमा बिक्री केन्द्र राख्ने ठाउँ समेत पाउन मुस्किल परेको बताउँदै उहाँले स्थानीय किसानको समस्या समाधानमा स्थानीय सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो। 


तिहारपछि फूलेको फूल  मङ्सिर ४ गते हुने सङ्घ निर्वाचन हुने कार्यक्रममा बिक्री हुने अपेक्षा लिएको विकले बताउनुभयो।  विदेश जानु भन्दा बाँझो जमिनको सदुपयोग गरेर फूल खेती गर्न लागेको विक बताउनुहुन्छ। वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर पुष्प खेतीमा लागेका बिक, विष्णु राना र अमृत कुमालले व्यावसायिक रूपमा फूल खेती  गर्नु भएको छ। 

आगामी दिनमा नर्सरीलाई अझै व्यवस्थित र आधुनिक यन्त्र उपकरण, औजारको प्रयोगबाट कम लागतमा उत्पादन लिने गरी तयारी थालेको जानकारी अधिकारीले दिनुभयो।  यस वर्ष लामो समय खडेरी पर्नुका साथै लामो बर्षातले गर्दा यहाँका किसानले लगाएको फूल पूर्ण रूपमा फुल्न बाँकी छ। तिहारमा व्यक्तिगत प्रयोजनका लागि मात्र लगाइने फूल खेतीले तनहुँमा एक दशक यता व्यावसायिक रूप लिएको छ। सुन्तला अदुवा तथा तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका यहाँका कृषकले तिहारलाई लक्षित गरेर फूल खेती तिहारको खर्च जुटाउने मुख्य आम्दानीको स्रोत बन्ने गरेको छ।