• १९ असोज २०८१, शनिबार

स्वयंसेविका र स्वास्थ्यकर्मीले उच्च रक्तचापको उपचार गर्न सक्ने

blog

राजधानीमा आयोजित तथ्याङ्क सार्वजनिक कार्यक्रम

काठमाडौं, कात्तिक ३ गते । महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले चिकित्सकको सुपरीवेक्षणमा उच्च रक्तचापको जाँच निदान र उपचार गर्न सक्ने अध्ययनले देखाएको छ ।

द मुटु प्रोजेक्टले रुपा गाउँपालिका र बिरुवा गाउँपालिकामा १२ महिना लगाएर अध्ययन गर्दा नेपालमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले चिकित्सकको सुपरीवेक्षणमा सुरक्षित र प्रभावकारी तरिकाले उच्च रक्तचापको जाँच निदान र उपचार गर्न सक्ने देखिएको हो ।

नेपाल विकास समाज, जोन हप्किन्स विश्वविद्यालय र रिसल्भ टु सेभ लाइफ नामक संस्थाले झण्डै दुई वर्ष लगाएर कास्कीका दुईवटा गाउँपालिकामा गरेको थियो । अध्ययन रुपा गाउँपालिका ६४० र बिरुवा गाउँपालिका ८४० जना केश लिइएको थियो ।

राजधानीमा आयोजित तथ्याङ्क सार्वजनिक कार्यक्रममा अध्ययनमा सम्लग्न काठमाडौं विश्वविद्यालयका डा.अभिनभ वैद्यले स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीका कर्मचारीलाई तालिम दिएर घर घर परिचालन गर्न सकेमा मुटुजन्य समस्याबाट भइरहेको क्षति कम गर्न सकिने निष्कर्ष सुनाउनुभएको थियो ।

उहाँका अनुसार ग्रामीण क्षेत्रका बिरामीहरु चिकित्सकको सीमित सङ्ख्याका कारण चुनौतीपूर्ण अवस्थामा छन् । त्यसैले, ग्रामीण क्षेत्रमा उच्च रक्तचाप निदान र उपचारका लागि एउटा नयाँ किसिमको कार्यविधि लागू गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

परियोजनाले रुपा र बिरुवा गाउँपालिकामा बस्ने वयस्कहरुको उच्च रक्तचाप जाँच गरेको थियो । त्यसमा उच्च रक्तचाप देखिएकाहरुलाई सो अध्ययनमा समावेश गरिएको थियो । त्यसबेला महिला स्वास्थ्य स्वयंसेविकाहरुले रुपा गाउँपालिकामा तीन पटक र बिरुवा गाउँपालिकामा एक पटक घरमै गएर रक्तचाप जाँचसहित जीवनशैली म्बन्धी परामर्श प्रदान गरेका थिए ।

त्यसबेला रुपा गाउँपालिकामा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहज प्रोटोकलमार्फत औषधिको प्रयोग गरी उच्च रक्तचापको निदान र उपचारको बारेमा प्रशिक्षण प्राप्त गरे ।

१२ महिनापछि रुपा गाउँपालिका (कार्यक्रम लागू गरिएको)मा १५ एमएमएचजी र बिरुवा गाउँपालिका (कार्यक्रम लागू नगरिएको)मा लभगभ ४ एमएमएचजी सिस्टोलिक रक्तचाप घटेको देखिए (दुई गाउँपालिका बीच ११ एमएमएचजीको भिन्नता) देखिएको छ । रुपामा लगभग ७० प्रतिशत र बिरुवामा २० प्रतिशतमा रक्तचाप नियन्त्रणमा आएको देखियो ।

नेपालमा प्रत्यक वर्ष ५० हजारभन्दा बढी मानिसले मुटुसम्बन्धी रोगका कारण ज्यान गुमाउने गरेका छन् । मुटुसम्बन्धी रोगहरुको प्रमुख कारण उच्च रक्तचाप हो । प्रत्येक चार जना वयस्कमा एक जनालाई उच्च रक्तचाप छ तर उनीहरुमध्ये अधिकांश यसबारे अनविज्ञ छन् ।