• १३ साउन २०८१, आइतबार

१४ लाखभन्दा बढीका पटाका बरामद

blog

सशस्त्र प्रहरीको महोत्तरी जलसागरस्थित ९ नं गणले नष्ट गर्न ठिक्क पारेको बरामद पटाका । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिवास, कात्तिक २ गते ।
 तिहार र छठ पर्व नजिकिएसँगै मधेश प्रदेशका विभिन्न जिल्लामा पटाका आतङ्क सुरु भएको छ । मुख्यतः दशैं सकिएलगत्तै मधेश प्रदेशका सबै जिल्लामा  पटाका आतङ्कको समस्या सुरु भएको हो । यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र खोजी कार्य तीव्र पारेपछि भारी मात्रामा पटाका बरामद भएको जनाएको छ ।

सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीले प्रदेशअन्तर्गतका सीमा क्षेत्रमा तयनात धनुषा जिल्ला बाहेकका बोर्डर आउट पोष्टहरुले १४ लाख ४१ हजार मूल्य बराबरका पटाका नियन्त्रणमा लिएको जनाएको छ । बाहिनीका सशस्त्र एसपी सागर राईका अनुसार सबैभन्दा बढी महोत्तरीबाट तीन लाख २८ हजार ७० रुपियाँ बराबरका बरामद भएका छन् । त्यस्तै, सिराहाबाट २८ लाख, बाराबाट २७ लाख ५० हजार, सर्लाहीबाट २३ लाख रौतहटबाट १९ लाख र पर्सा जिल्लाबाट १४ लाख ४५ हजार मूल्यका पटाका नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामा सबैभन्दा बढी नागिन पटाका छन् । सुपर हनुमान बम, आलु बम, राकेट बम, बुलेट बम, मुर्गा छाप पटाका, खुर्सानी पटाका, मुर्गा रकेट, नगिना रकेट, झिरझिरे, चक्कर फूलझरी, चुटपटी, सुतली बम, मिनी बुलेट, पलावर बम, ग्राउन्ड चक्कर बरामद पटाकाका नाम र प्रकार छन् ।

सशस्त्र एसपी राईले निगरानी र खोजतलास चुस्त पारिएकाले पक्राउ पर्ने क्रम जारी रहेको जनाउनुभयो । बरामद पटाकालाई सार्वजनिक रूपमा खाल्डोमा पुरेर पानीमा भिजाएर नष्ट गर्ने गरिएको छ । 

जिल्ला प्रहरीका प्रवक्ता एवम् डिएसपी चन्देश्वर यादवले यस पटक प्रहरीले सीमा तस्करी भई आएका अन्य सामान पक्राउ गरे पनि पटाकाजन्य पदार्थ पक्राउ नपरेको जानकारी दिनुभयो ।

कानुनतः पटाका प्रयोग ओसारपसार तथा कारोबार दण्डनीय अपराध हो । मुलुकी अपराध संहिता ०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुरको महलमा पटाकालाई ‘सामान्य विस्फोटक पदार्थ’ भनेर परिभाषित गरिएको छ । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाअनुसार यसको अवमान्या गर्ने माथि तीन वर्षसम्म कैद र २० हजारसम्म जरिवानाको व्यवस्था छ । यसका लागि विस्फोटक पदार्थ ऐन २०१८ ले पनि पटाका, भुइँचम्पालाई दण्डनीय अपराध मानेको छ । 

कानुनले रोक लगाए पनि यसको प्रयोग, ओसारपसार र कारोबारमा कमी भने आउन सकेको छैन । स्थानीय व्यापारी भन्छन्, ‘‘दशैं सकिएसँगै बजारमा पटाकाको माग ह्वात्तै बढेको छ । मुनाफासमेत दोब्बर तेब्बर हुने भएकाले जतिसुकै कडाइ गरे पनि यसको नियन्त्रण हुन सकेको छैन ।’’ 

रमाइलोका लागि प्रयोग गरिने पटाकाले बर्सेनि करोडौँ रुपियाँको क्षति मात्र पुर्‍याएको छैन पटाकाको आडमा आपराधिक घटनासमेत हुने गरेको पाइएको छ । यसको प्रयोगले चाडबाडमा सुरक्षा चुनौतीसमेत थपेको प्रहरीको भनाइ छ । पटाकाकै कारण आगलागी लगायत जस्ता घटना हुने गरेका छन् ।