• १३ साउन २०८१, आइतबार

सबै दललाई बागीको पिरलो

blog

प्रकाशविक्रम शाह 

धनगढी, कात्तिक २ गते । सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका धेरैले अझै उम्मेदवारी फिर्ता लिएका छैनन् । गठबन्धनविरुद्ध उम्मेदवारी दिएकालाई सम्बन्धित दलले उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरिसकेका छन् । सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले बागी उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरिसकेका छन् । सत्तारूढ गठबन्धनका दलले विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवारलाई समर्थन गरे कारबाही नहुने भन्दै फकाउँदै पनि आएका छन् । 

कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस नेत्री शारदादेवी चन्द र दीपकबहादुर सिंहले आफ्नो उम्मेदवारी कायमै राख्नुभएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । 

अछाम क्षेत्र नम्बर १ मा गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । सो क्षेत्रमा कांग्रेस नेता राजन कुँवर स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । उहाँले पनि मन्त्री कुँवरलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिनुभएको छैन । 

यस्तै डोटीमा पनि नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेमगर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुनुहुन्छ । उहाँका विरुद्ध पनि नेपाली कांग्रेसका नरेन्द्रबहादुर खड्का उम्मेदवार बन्नुभएको छ । बैतडीको (क) मा नेपाली कांग्रेस उम्मेदवार वीरबहादुर विष्टका विरुद्ध कांग्रेसकै हरिमोहन भण्डारी स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । 

कैलाली क्षेत्र नम्बर २ (ख)मा नेपाली कांग्रेसका भरतकुमार शाही बागी उम्मेदवार बन्नुभएको छ । सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नन्दबहादुर साउद उम्मेदवार हुनुहुन्छ । यस्तै गरेर कैलाली क्षेत्र नम्बर ३ (ख)मा पनि गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार अमरबहादुर साउदका विरुद्ध नेपाली कांग्रेस कैलालीका पूर्वसभापति गोविन्दराज जोशी र कांग्रेसकै अर्का नेता लक्ष्मण शाही बागी उम्मेदवार हुनुहुन्छ । कैलाली क्षेत्र नम्बर ४ को (ख)मा पनि नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर बमका विरुद्ध नेपाली कांग्रेसका भगवती ओझा बागी उम्मेदवार हुनुहुन्छ । उहाँको समेत आफ्नो उम्मेदवारी कायमै छ । 

कैलाली क्षेत्र नम्बर ५ (क)मा गठबन्धनका तर्फबाट उम्मेदवार रमेश धामी र ‘ख’ मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवाका विरुद्ध पनि बागी उम्मेदवार छन् । नेकपा (माओवादी केन्द्र)का धामीविरुद्ध माओवादी केन्द्रकै रमेशकुमार बस्नेतको उम्मेदवारी कायमै छ । बस्नेतलाई नेकपा (एमाले)ले अन्तिममा उम्मेदवारको सूचीबाट हटाएका यज्ञराज बाँस्तोलाको पनि समर्थन छ । (ख) क्षेत्रमा नेपाली कांग्रेसका महासमिति सदस्य क्षितिज भण्डारी बागी उठ्नुभएको छ । भण्डारीलाई कांग्रेसले कारबाही गरिसकेको छ । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले कात्तिक ४ गतेसम्म आधिकारिकलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिए कारबाही भएकाको कारबाही फिर्ता हुने निर्णय केन्द्रले गरेको बताउनुभयो । 

एमालेमा पनि बागी 

विगतका निर्वाचन हेर्दा नेकपा (एमाले)मा बागी उम्मेदवार त्यति देखिन्न । यद्यपि, यस पटक नेकपा (एमाले)ले भने प्रतिनिधि सभादेखि प्रदेश सभासम्ममा बागी उम्मेदवारको सामना गर्नुपरेको छ । सो पार्टीले बागी उम्मेदवार बनेका सुदूरपश्चिमका पाँच जनालाई कारबाही गरिसकेको छ । नेकपा (एमाले)बाट कञ्चनपुर क्षेत्र नम्बर १ मा खेम सुवेदी, सोही क्षेत्रको प्रदेश (क)मा भक्तबहादुर अधिकारी, (ख)मा टेकबहादुर साउद र क्षेत्र नम्बर २ (क)मा टेकबहादुर हमाल बागी उम्मेदवार हुनुहुन्छ ।  

नेकपा (एमाले)का प्रदेश सचिव धर्मराज पाठकले भने कांग्रेसमा जस्तो कारबाही भएकालाई अहिले पनि उम्मेदवारी फिर्ता लिए कारबाही फिर्ता लिने व्यवस्था नभएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ क्षेत्रमा ३३ र प्रदेशका ३२ क्षेत्रमा ३६ जना स्वतन्त्र उम्मेदवार छन् । तीमध्ये कतिपय विभिन्न दलका बागी हुन् भने कतिपय स्वस्फूर्त रूपमा उम्मेदवार बनेका छन् ।