• १३ साउन २०८१, आइतबार

मतदान स्थल बगाएपछि अन्योल

blog

बोदेबर्साइन समाचारदाता 

बोदेबर्साइन (सप्तरी), कात्तिक २ गते । असारको बाढीले गोबरगाढाको शारदा आधारभूत विद्यालय बगाएको छ। सोही विद्यालयमा हरेक चुनावमा मतदान स्थलका रूपमा प्रयोग गरिँदै आइएको थियो। 

गएको वैशाखको स्थानीय तह निर्वाचनमा समेत मतदान स्थल राखिएको र अहिलेसम्मको सबैजसो निर्वाचनमा मतदान स्थल राखिँदै आएको विद्यालय नै बगाएपछि नजिकिंदै गएको मङ्सिर ४ को चुनाव कहाँ गराउने भनी तत्काल सुरक्षित स्थान खोजी गरिएको छैन। 

मतदान स्थलको विकल्प नभेटिँदा एकातिर जिल्ला निर्वाचन कार्यालय सप्तरी, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको कार्यालय तथा नगरपालिकाको टाउँको दुखाइको विषय बनेको छ। अर्कोतिर आउँदो निर्वाचनमा आफूहरू मतदान गर्न कहाँ जाने भनेर यहाँका आठ सय मतदातामा अन्योल बढेको गोबरगाढावासी राधादेवी यादवले भन्नुभयो।

जिल्लाको सर्वदलीय बैठक बसेर एक महिनाअगाडि निर्वाचन लक्षित विशेष सुरक्षा योजनाको निर्माण गरिरहँदा त्यतिबेलै गोबरगाढा मतदान स्थलको सन्दर्भमा समस्या राखेको हनुमाननगर कङ्कालिनी नगरपालिका प्रमुख वीरेन्द्र माझीले बताउनुभयो। 

उहाँ भन्नुहुन्छ, प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला निर्वाचन अधिकारीसमेतले त्यसको विकल्प खोजिने आश्वासन दिनुभयो तर निर्वाचन नजिकिँदै गर्दा निर्वाचन कार्यालयको सूचीमा हालसम्म त्यहीँ विद्यालयमा मतदान स्थल उल्लेख छ। यसले हाम्रो तनाव झन् बढाएको नगरप्रमुख माझीले सुनाउनुभयो। योसँगै भारतीय सीमा नाकासँग टाँसिएको र बाढीग्रस्त नगरपालिकाको रूपमा  हनुमाननगर कङ्कालिनी नगरपालिकाभित्रको १४ वटा वडाको करिब एक दर्जन बढी मतदान स्थल अति सम्वेदनशील र असुरक्षित मानिएका छन्।

यस विषयमा स्थलगत जानकारी नभए पनि गोबरगाढाको समस्याबारे सबै निकायसँग छलफल भइरहेको सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत धनेन्द्र अधिकारीले भन्नुभयो। उहाँले भन्नुभयो, “गोबरगाढामा निर्वाचन सामग्री तथा कर्मचारी पठाउनु पूर्व सम्बन्धित सबै निकायका अधिकारीहरू स्थलगत पुगेर मतदान स्थलको नाम त्यहीँ रहने तर मतदान स्थल विकल्प खोज्ने छौँ।” 

विद्यालय नजिकै भएको खुला चौरमा त्रिपालको अस्थायी टहरा बनाएर भए पनि तत्काल मतदान स्थल निर्माण गरेर सुरक्षित तवरले मतदान सम्पन्न गराउने योजनामा रहेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो। निर्वाचन हुनुअघि उक्त विद्यालय निर्माण गरी पुनः सञ्चालन गर्ने गरी नगरपालिकाले रकम छुट्याइसकेको छ। 

नगर सभा समयमा हुन नसकेर सो योजना तत्काल सम्पन्न गर्न नसके पनि निर्वाचनको लागि मतदान स्थल निर्माण तथा अन्य आवश्यक पर्न सक्ने आपतकालीन बजेट खर्चिनका लागि वडा कार्यालयलाई निर्देशन दिइसकेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले बताउनुभयो।

सप्तकोसी नदीले चारैतिरबाट घेरिएको क्षेत्रमा बस्ती रहेको छ। यहाँ एउटा मात्र विद्यालय छ। सो विद्यालय कोसी नदीले बगाएपछि पठनपाठनमा पनि समस्या आएको स्थानीय बासिन्दाले बताएका छन्।