• १३ साउन २०८१, आइतबार

प्रहरीले आफूलाई रूपान्तरण गरी जनताको पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

blog

६७औं प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्बिर : गोरखापत्र

अविनाश चौधरी

धनगढी, असोज ३१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रहरी र प्रहरीको अनुसन्धानलाई अहिलेको युग अनुसार आधुनिक बनाउनु पर्ने बताउनुभएको छ । 

६७औँ प्रहरी दिवसको अवसरमा सोमबार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले अपराध नयाँ तरिकाले भइरहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि प्रहरी र प्रहरीको अनुसन्धानलाई आधुनिक बनाउनु पर्ने बताउनुभएको हो । 

‘प्रहरीलाई कसरी आधुनिक बनाउन सकिन्छ भन्ने विषय सबैको चासोको विषय हो’, मुख्यमन्त्रीले भन्नुभयो, ‘अपराध जति तीव्र रूपमा बढिरहेको छ, स्वाभाविक रूपमा त्यसलाई नियन्त्रणका लागि प्रहरी एक कदम अगाडि रहनु पर्दछ ।’

उहाँले सभ्य समाज निर्माणका लागि प्रहरीले अगुवाइ गरिरहे पनि दायित्व सबैको रहेको उल्लेख गर्नुभयो । ‘यो एउटा प्रहरीकोमात्रै दायित्व होइन । सरकार, प्रहरी, नागरिक, नागरिक समाज सबैको दायित्व हो’, उहाँले भन्नुभयो,‘सभ्य समाज निर्माणमा सबैको भूमिका उत्तिकै छ ।’ 

अहिले अवस्था परिवर्तन भएकाले प्रहरीमा उजुरी दिएपछि त्यसको सुनुवाइ छिटोछरितो हुनु पर्ने आम नागरिकको चाहना रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । ‘त्यस कारण यतापट्टि प्रहरीको ध्यान जानू पर्दछ । अपराध नियन्त्रण तीव्र गतिमा हुनु पर्दछ । यसका लागि म सम्पूर्ण प्रहरी अधिकृतहरू ध्यान दिन आग्रह गर्दछु’, उहाँले भन्नुभयो । 

गणतन्त्र आइसकेपछि हिजो र आजका प्रहरीले केही न केही फरक देखाउनु पर्ने मुख्यमन्त्रीको जोड थियो । यदि, त्यसो नभएमा व्यवस्थाप्रति नै आम जनताको नैराश्यता पैदा भई विभिन्न अवरोध हुने उहाँले उल्लेख गर्नुभयो । भट्टले भन्नुभयो, ‘व्यवस्था परिवर्तन भइसकेपछि अहिलेको अवस्थामा सबैले आफूलाई रूपान्तरण गरेर जनताको पक्षमा काम गर्नु आजको आवश्यकता हो ।’

प्रहरी आफैमा राज्यको महत्त्वपूर्ण अङ्ग रहेको उल्लेख गर्नुहुँदै उहाँले नजिकबाट जनताको सेवा गर्ने निकाय प्रहरी रहेको बताउनुभयो । समाजमा रहेको अपराध नियन्त्रणका लागि प्रहरीले आफ्नो भूमिका निर्वाह गर्दै आएको भन्दै मुख्यमन्त्रीले अगाडि थप्नुभयो, ‘त्यो भूमिका निर्वाह गर्ने क्रममा कर्तव्यनिष्ठ भएर काम गरी आफ्नो इतिहास निर्माण गर्न नेपाल प्रहरी सफल भएको छ ।’ 

अनुसन्धानको विषयमा चाहे कुनै विपद् आएको बेलामा वा अपराधलाई नियन्त्रण गर्ने सवालमा नेपाल प्रहरीले एउटा इतिहास कायम गरेको मुख्यमन्त्रीको भनाइ थियो । हिजो एक किसिमले घट्ने अपराधहरू आज फरक तरिकाले घटिरहेका भन्दै उहाँले बढिरहेको अपराध नियन्त्रण र आफूलाई रूपान्तरण गर्ने कार्यलाई प्रहरीले प्राथमिकता दिनु पर्ने बताउनुभयो । 

पाँच वर्षसम्म प्रहरी समायोजन हुन नसके पनि अब हुने निर्वाचन पश्चात् प्रहरी समायोजन पनि छिट्टै हुने आफूले विश्वास गरेको मुख्यमन्त्रीको भनाइ थियो । ‘हामीले आधारशिला तय गरी दिएका छौँ’, उहाँले भन्नुभयो, ‘निर्वाचन पश्चात् अब आउने सरकारले प्रहरी समायोजन गर्नेछ ।’

अहिलेको आवश्यकताअनुसार प्रहरीलाई सुविधा सम्पन्न गर्ने सवालमा प्रदेश सरकार नचुक्ने मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले प्रहरीको जनताप्रतिको समर्पण र कर्तव्य पालनाप्रतिको साहस अझ उच्च हुने आफूले विश्वास लिएको बताउनुभयो ।  

यसैगरी, आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले लामो समयसम्म प्रहरी समायोजन नहुँदा प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले बिना सेनाको सेनापति जस्तै काम गरेको बताउनुभयो । 

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन निर्माण गरिसकेको जनाउँदै उहाँले त्यसको नियमावली बन्ने क्रममा रहेको बताउनुभयो । प्रहरी समायोजन नभएपनि प्रहरीको सेवा सुविधाका लागि प्रदेश सरकारले भवन निर्माण, गाडी लगायतको सहयोग गरेको उहाँले बताउनुभयो । प्रहरीको सेवा सुविधाका लागि प्रदेश सरकार अझ प्रयत्नशील रहेको उहाँको भनाइ थियो । 

दिवसको अवसरमा सहिद प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । यसैगरी, कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका दुई जना प्रहरीका आश्रित परिवारलाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ । प्रहरी हवलदार रमेशदत्त जोशीकी श्रीमती बसन्तीकुमारी बडू र प्रहरी जवान हरेन्द्रसिंह विष्टकी श्रीमती कलावतीलाई मुख्यमन्त्री भट्टले नगदसहित कदरपत्र हस्तान्तरण गर्नु भएको थियो । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको पीएसओको रूपमा कार्यरत प्रहरी हवलदार जोशीको कोरोनाका कारण निधन भएको थियो । यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ड्युटीमा खटेको बेला एक्कासि बेहोस भई प्रहरी जवान विष्टको ज्यान गएको थियो ।