• १३ साउन २०८१, आइतबार

नौ सिटमा बयासी प्रतिस्पर्धी

blog

कञ्चनपुर समाचारदाता

महेन्द्रनगर, असोज २९ गते । कञ्चनपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभाका नौ पदका लागि ८२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। तीमध्ये स्वतन्त्र र विभिन्न पार्टीका बागी उम्मेदवार १८ जना छन्।

कञ्चनपुरको क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि तीन जनाको स्वतन्त्र उम्मेदवारी छ। नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य खेम सुवेदी, नेपाली कांग्रेस निकट जगतबहादुर सायर र हरिनादेवी भट्ट रहेका छन्। पार्टीका उम्मेदवारविरुद्ध बागी रहेका सुवेदीलाई नेकपा (एमाले)ले पार्टीबाट निष्कासन गरिसकेको छ। 

सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का बिना मगर र नेकपा (एमाले) कञ्चनपुरका पूर्वअध्यक्ष तारा लामा तामाङसमेत चुनावी मैदानमा हुनुहुन्छ। क्षेत्र नं. १ को ‘क’ मा नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारीको स्वत्रन्त्र उम्मेदवारी परेको छ। अधिकारीलाई पनि नेकपा (एमाले)ले कारबाही गरेको छ। ‘क’ प्रदेशमा आठ जनाले प्रतिस्पर्र्धा गर्दै छन्। जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बन्धु राना र नेकपा (एमाले)का पूर्वअध्यक्ष वीरबहादुर थापा पातलसमेत चुनावी मैदानमा हुनुहुन्छ।

यस्तै क्षेत्र नं. १ को ‘ख’ मा नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य टेकबहादुर साउद र नागरिक उन्मुक्ति पार्टी निकट नेत्रलाल चौधरीको स्वत्रन्त्र उम्मेदवारी परेको छ। सो प्रदेशमा पनि आठ जनाले प्रतिस्पर्र्धा गर्दै छन्। प्रदेश सभा ‘ख’ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य दिवानसिंह विष्ट र नेकपा एमालेका सचिव पल्लवराज भट्ट चुनावी मैदानमा रहेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो। 

यस्तै क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि १० जनाको उम्मेदवारी परेको छ। सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउद र पूर्वसांसद तथा एमालेका नेता नरबहादुर धामीसमेत प्रतिस्पर्र्धामा हुनुहुन्छ। 

यसैगरी यस्तै क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का लागि नौ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेका तर्फबाट युवा सङ्घ नेपालका पूर्वअध्यक्ष बचनबहादुर सिंह र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ चुनावी मैदानमा हुनुहुन्छ। 

यस्तै क्षेत्र नं. २ को ‘ख’ प्रदेश सभा सदस्यका लागि पनि नौ जनाबीच प्रतिस्पर्र्धा हुने भएको छ। जसमा एमालेका तर्फबाट संविधान सभा सदस्य कृपाराम राना, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पूर्वप्रदेशमन्त्री लालबहादुर खड्का र गठबन्धनका तर्फबाट पूर्वसांसद बहादुरसिंह थापासमेत चुनावी मैदानमा हुनुहुन्छ। 

यस्तै क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि १२ जना चुनावी मैदानमा हुनुहुन्छ। जसमा गठबन्धनका तर्फबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र नेकपा एमालेका पोलिटब्युरो सदस्य, कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पालसमेत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। सो क्षेत्रमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवार बन्नेमा नेपाली कांग्रेस नजिकका दीपकबहादुर सिंह र शारदादेवी चन्द तथा दल नखुलेका मदन दमाई र सुभाषसिंह धामी रहनुभएको छ। 

यसैगरी क्षेत्र नं. ३ को ‘क’ मा प्रदेश सभा सदस्यका लागि पनि ११ जनाबीच प्रतिस्पर्र्धा हुने भएको छ। जसमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकेन्द्रप्रसाद भट्ट, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धर्मराज जोशी प्रतिस्पर्धी रहनुभएको छ। जोशी राप्रपा र एमालेको तालमेलका उम्मेदवार हुनुहुन्छ। सो क्षेत्रमा नेपाली कांग्रेस नजिकका तथा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वर्तमान अध्यक्ष पीताम्बर जोशी, नेकपा (एकीकृत समाजवादी) नजिकका नेता लोकविक्रम थापालगायत पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। 

यस्तै क्षेत्र नं. ३ को ‘ख’ मा प्रदेश सभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ। जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता बेलबहादुर रानामगर, नेकपा एमालेका तर्फबाट अध्यक्ष तथा भीमदत्तका नगरपालिकाका पूर्वप्रमुख सुरेन्द्रबहादुर विष्ट, नेपाली कांग्रेस (बीपी)बाट धनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका तर्फबाट लक्ष्मण रोकाया र भीमबहादुर कुमाल स्वतन्त्र उम्मेदवार रहनुभएको छ।