• १३ साउन २०८१, आइतबार

प्रतिकूल मौसमले पर्यटन क्षेत्र प्रभावित

blog

मीनराज भण्डारी

काठमाडौँ, असोज २६ गते  । प्रतिकूल मौसमका कारण यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुुमाएका छन् भने सयौँ पर्यटक प्रभावित भएका छन् ।

खराब मौसमका कारण मनास्लुको आधार शिविरसहित विभिन्न क्याम्प पुगेका आरोही आरोहण पूरा नगरी फर्किन थालेका छन् । यस सिजनमा ४०४ जनाले आरोहण अनुमति लिएको मनास्लुमा झन्डै एक सय जतिले मात्रै आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको छ ।

भदौ ८ गतेदेखि हिमाल आरोहण खुला भए पनि सुरुदेखिको बिग्रँदो मौसमका कारण विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनले मनास्लुमा स्की गर्ने क्रममा ज्यान गुमाएकी छन् । त्यस्तैगरी शेर्पा गाइड अरुण राईले समेत मनास्लुमा ज्यान गुमाएका छन् । असोज २० गतेदेखि लार्केपासमा हराइरहेका गाइड ३८ वर्षीय पुस्तर (पुछेत्तर) शेर्पा पाँच दिनपछि मङ्गलबार मृत अवस्थामा फेला पर्नुभएको छ । उहाँको शव गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँस्थित धर्मशाला नजिकै भेटिएको हो ।

सोमबारसम्म मनाङमा फसेका ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । विभागका अनुसार यस वर्ष मनास्लुमा मुख्य आकर्षण देखिए पनि निरन्तरको बाक्लो हिमपात, दुई पटकको हिमपहिरो पर्दा आरोहण बन्द गरिएको छ । अन्य हिमालमा समेत खराब मौसमका कारण उल्लेख्य आरोहण हुन नसकेपछि आरोही फर्किन थालेका छन् । 

प्रतिकूल मौसमकै कारण हवाई उडानमा समेत असर पुग्दा आधार शिविर, लुक्ला, रामेछापको मन्थलीलगायतका क्षेत्रमा आरोही रोकिएका छन् । विभागका निर्देशक युवराज खतिवडाले यस पटक खराब मौसमका कारण मनास्लुमा मुस्किलले १० प्रतिशत पर्यटकले मात्रै आरोहण पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिकूल मौसमका कारण आरोहण, ट्रेकिङमा उल्लेख्य असर पुगेको छ । विभिन्न ठाउँमा पर्यटकहरू रोकिएका छन् । कतिपय स्थानमा आरोही पसेका छन् । खराब मौसमकै कारण हवाई उद्वार हुन सकेको छैन ।”

मनास्लु क्षेत्रमा जारी बाक्लो हिमपातले सामागाउँसम्म नै ढाकेपछि धेरैजसो आरोही फर्किसकेको र केही आरोही फर्किन उपयुक्त मौसमको पर्खाइमा रहेका छन् । खराब मौसमका कारण उडान नहुँदा मन्थलीमा झन्डै आठ सय र लुक्ला क्षेत्रमा दुई हजार पर्यटक रोकिएको निर्देशक खतिवडाले जानकारी दिनुुभयो । यस वर्ष विभिन्न ३१ वटा हिमाल आरोहणका लागि ९५ समूहका ७८५ जनाले अनुमति लिएका छन् । शरद ऋतुका लागि सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, न्युप्से, सरिबुङलगायतका हिमाल आरोहणका लागि खुला गरिएको थियो । अन्य हिमालमा आरोहण सकिए पनि हिमलुङ र अमादब्लममा भने अनुमति दिने क्रम जारी रहेको छ ।

हालसम्म अनुमति पाउनेमा ५९७ पुरुष र १८८ जना महिला आरोही रहेका छन् । यस पटक आरोहण अनुमतिबाट सरकारले छ करोड ५९ लाख ९३ हजार ५२४ रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

विभागको तथ्याङ्कअनुसार गत वर्ष यस सिजनमा नेपालसहित ६७ देशका ८३ समूहले २८ हिमाल आरोेहणका लागि अनुमति लिएका थिए । गत वर्ष आरोहण अनुमति लिनेमा १३२ जना महिला र एक हजार ८४ जना पुरुष गरी कुल एक हजार २१६ जनाले अनुमति लिएका थिए ।

गत वर्ष अनुमति लिएकामध्ये ६४७ जना पुरुष र ११५ जना महिलाले आरोहण पूरा गरेका थिए । सो समयमा आरोहणबाट सरकारलाई चार करोड ६७ लाख आठ हजार ७२२ रुपियाँ राजस्व प्राप्त भएको थियो ।

विभागले दुई सिजनमा गरी मार्च, अप्रिल, मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।