• १३ साउन २०८१, आइतबार

सुनसान सिंहदरबार

blog

दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सुनसान देखिएको सिंहदरबार । तस्बिर : न्यूज एजेन्सीको सहयोगमा

काठमाडौं, असोज २५ गते । दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरू निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको हो ।


मन्त्रीहरू निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणको भीड कम छ । मन्त्री तथा नेताहरू आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकाले पनि सिंहदरबारमा मन्त्री तथा कर्मचारीहरू त्यत्ति देखिन सकेका छैनन् ।


यसले सिंहदरबार सुनसान हुन पुगेको हो । मङ्गलबार पनि सिंहदरबारमा मानिसहरूको आवतजावत निकै कम देखिएको छ । आइतबार कोजाग्रत पूर्णिमादेखि दशैं औपचारिक रूपमा सकिए पनि सरकारी कामकाज सुरु भइसक्दा समेत दशैं बिदामा गएका कर्मचारीहरू फर्किसकेको अवस्था छैन भने मन्त्रीहरू पनि निर्वाचनका लागि दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीडभाड घटेको हो ।


हाल मन्त्रालयमा सीमित कर्मचारीहरूलाई मात्रै देख्न र भेट्न सकिन्छ । यता पछिल्लो केही दिन यता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि नेता तथा मन्त्रीहरू विभिन्न जिल्लामा पुगिरहेका छन् ।

वर्षाका कारण सडकहरू भत्किँदा राजधानी फर्किनेहरू सहजै र समयमा राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरबार जानेहरूको सङ्ख्या घटाएको छ । दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू सिंहदरबार प्रवेश गर्ने भए पनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरू र सवारी साधनहरू देख्न सकिन्छ ।


मङ्गलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरूको सङ्ख्या न्यून मात्रामा देखियो ।