• १३ साउन २०८१, आइतबार

स्वतन्त्र उम्मेदवार धेरै, महिला कम

blog

मधेश प्रदेश ब्युरो

जनकपुरधाम, असोज २५ गते । मधेश प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेदवारी परेका दलको सङ्ख्याभन्दा स्वतन्त्र उम्मेदवार बनेको सङ्ख्या बढी देखिएको छ। मधेश प्रदेशका आठवटै जिल्लामा आफू आबद्ध दलले उम्मेदवार बन्न टिकट नदिएको कारण स्वतन्त्र उम्मेदवार बन्नेको सङ्ख्या बढेको हो। यसैगरी उम्मेदवार बनेको सङ्ख्याको अनुपातमा महिला उम्मेदवार एकदमै न्यून रहेको छ। 

जलेश्वर समाचारदाताका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि महोत्तरीमा दलभन्दा स्वतन्त्र र बागी उम्मेदवारको बढी मनोनयनपत्र दर्ता भएको छ। जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार मनोनयनपत्र दर्ता गर्नेमा स्वतन्त्र र बागी उम्मेदवारको सङ्ख्या बढी रहेको देखिएको छ। पार्टीले टिकट नदिए पछि बागी भई स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी भएको हो।

जलेश्वर नगरपालिका–४, सुगा घर भएका वयोवृद्ध एवं राजनीतिक जानकार कृष्णचन्द्र झाका अनुसार राजनीतिक दलप्रति बढदो वितृष्णा र आफू आबद्ध पार्टीमा लागेर अवसर नपाएकाहरूले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएकामध्ये अधिकांश आफ्नै पार्टीबाट अवसर नपाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। उहाँहरूलाई स्वतन्त्रभन्दा पनि बागी उम्मेदवार भन्ने गरेको छ। राजनीतिक दलले पनि पुरानै अनुहारलाई नै प्राथमिकता दिँदै टिकट वितरण गर्नु पनि स्वतन्त्र उम्मेदवार बढी पर्नुको प्रमुख कारण रहेको झाले तर्क गर्नुभयो। 

निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदको लागि आइतबार १६ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको थियो। जसमध्ये आठ उम्मेदवारले स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य पदका लागि १९ जनाले मनोनयन दर्ता गराएकोमा ११ जना १ (ख) मा २३ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएको मध्ये १८ जना उम्मेदवारले स्वतन्त्र मनोनयनपत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले बताउनुभएको छ। 

यसैगरी क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदमा १७ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएकोमा नौ उम्मेदवारले स्वतन्त्र मनोनयनपत्र दर्ता गराउनुभएको छ। क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्य पदका लागि २० मध्ये नौ, २ (ख) मा २१ मध्ये १४ उम्मेदवार स्वतन्त्र मनोनयनपत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृत अरुण झाले बताउनुभयो।  

यस्तै क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि नौ उम्मेदवारले मनोनयन दर्ता गराएको मध्ये तीन उम्मेदवारले स्वतन्त्र मनोनयनपत्र दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। क्षेत्र ३ (क) मा प्रदेश सभा सदस्य पदका लागि २१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनुभएको मध्ये नौ जना, क्षेत्र ३ (ख) मा १३ मध्ये ११ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिनुभयो। यस्तै क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदमा १५ उम्मेदवारले मनोनयन दर्ता गराएकोमा सात उम्मेदवारले स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको छ। ४ (क) मा प्रदेश सभा सदस्य पदका लागि २६ मनोनयनपत्र दर्ता गराएको मध्ये १८ र ४ (ख) मा २० उम्मेदवारले मनोनयन दर्ता गराएको मध्ये १४ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत दशरथ गौतमले बताउनुभयो।

सर्लाही समाचारदाताका अनुसार चारवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा ७१ जनाको उम्मेदवारी परेको छ। सबैभन्दा धेरै क्षेत्र नं. १ मा २१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलबाट सात जना र स्वतन्त्रबाट १४ जना गरी २१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायले जानकारी दिनुभयो। 

प्रदेशतर्फ क्षेत्र नं. १ को (क) मा विभिन्न दलबाट आठ जना र स्वतन्त्रबाट १२ जना गरी २० जना र (ख) मा विभिन्न दलबाट सात जना र स्वतन्त्रबाट पाँच जना गरी १२ जनाको उम्मेदवारी परेको छ। यस्तै क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यतर्फ दलबाट नौ जना र स्वतन्त्रबाट आठ जना गरी १७ जनाको उम्मेदवारी परेको छ। 

क्षेत्र नं. २ को (क) मा दलबाट छ जना र स्वतन्त्रबाट आठ जना गरी १४ जना र (ख) मा दलबाट दस जना र स्वतन्त्रबाट आठ जना गरी १८ जनाको उम्मेदवारी परेको छ। त्यस्तै क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यमा दलबाट आठ जना र स्वतन्त्रबाट पाँच जना गरी १३ जनाको उम्मेदवारी परेको छ। ३ को (क) मा दलबाट छ जना र स्वतन्त्रबाट १२ जना गरी १८ जना र (ख) मा दलबाट सात जना र स्वतन्त्रबाट १२ जना गरी १९ जनाको उम्मेदवारी परेको छ। यसैगरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यतर्फ दलबाट ११ जना र स्वतन्त्रबाट नौ जना गरी २० जनाको उम्मेदवारी परेको क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिनुभयो। क्षेत्र नं. ४ (क) मा दलबाट सात र स्वतन्त्रबाट १२ जना गरी १९ जना र (ख) मा दलबाट सात जना र स्वतन्त्रबाट १२ जना गरी १९ जनाकै उम्मेदवारी परेको छ। 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चारवटा क्षेत्रबाट उम्मेदवारी दिने ७१ जनामध्ये महिला चार जना मात्रै छन्। चारवटा निर्वाचन क्षेत्रबाट एक/एक जना महिलाको उम्मेदवारी परेको हो। यस्तै आठवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १३९ जनामध्ये ११ जना महिलाको मात्रै उम्मेदवारी परेको छ। 

सप्तरी समाचारदाताका अनुसार सप्तरीमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुन नपाउँदा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डल अमरले स्वतन्त्र रूपमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। क्षेत्र नं. ४ को (ख) बाट जसपाका नेता अनिरुद्धकुमार सिंह यादवले गठबन्धनविरुद्ध र ४ ख बाटै प्रदेश सभा सदस्यमा नेकपा एमालेकी नेत्री ललिताकुमारी लताले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। 

यसैगरी क्षेत्र नं. ३ को (ख) बाट लोसपाका नेता गजेन्द्रकुमार मण्डल र क्षेत्र नं. १ को (क) बाटै तुलसी थारूले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। यस्तै जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा भनिने सुरेन्द्र मधेशीले क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। जनमत पार्टीबाट सो क्षेत्रमा अनिश अन्सारीलाई उम्मेदवार बनाएपछि मधेशीले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। यसैगरी जसपाका केन्द्रीय सदस्य चितनारायण यादवले क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ। 

महिला उम्मेदवार न्यून

बर्दिबास समाचारदाताका अनुसार प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनमा आइतबार सम्पन्न मनोनयन दर्ता उत्साहजनक देखिए पनि महिला सहभागिता भने निराशाजनक रह्यो। महिला अधिकार, उत्थान र समावेशीका हिमायती भएको दाबी गर्ने दल नै महिला उम्मेदवारका सवालमा पछि हटेका छन्।

जिल्लाका चार प्रतिनिधि सभा र आठ प्रदेश सभा गरी १२ सिटका लागि २३९ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ जना महिलाले मात्र मनोनयन दर्ता गराउनुभएको छ। यो सङ्ख्या कुल उम्मेदवारको साढे आठ प्रतिशत मात्र हो। यो प्रतिशतले संविधानले महिलाका लागि प्रत्याभूत गरेको ३३ प्रतिशतको उपहास भएको महिला नेत्रीको गुनासो छ। चारै क्षेत्रका निर्वाचन अधिकृतले जारी गरेको पछिल्लो रिपोर्टका अनुसार प्रतिनिधि सभाका चार सिटका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन्। त्यसमध्ये महिलाको सङ्ख्या पाँच अर्थात् दुई प्रतिशत मात्र छ। प्रदेश सभाका आठ निर्वाचन क्षेत्रमा १७० जनाले मनोनयन दर्ता गराएकोमा छ स्वतन्त्र गरी १६ जना अर्थात् नौ प्रतिशत महिलाको मात्र उम्मेदवारी परेको छ। 

पूर्वप्रदेश सांसद एवं नेकपा एमालेकी नेत्री शारदादेवी थापा निर्वाचनमा महिलाको न्यून सहभागितालाई विभिन्न कोणले विश्लेषण गर्नुहुन्छ। उहाँको भनाइमा दलले महिलाको नेतृत्व र अस्तित्वलाई नस्विकार्ने प्रवृत्तिका कारण संविधानले प्रत्याभूत गरेको ३३ प्रतिशत आरक्षणबाट समेत बञ्चित हुन परेको हो। आर्थिक विपन्नता, सामाजिक एवं सांस्कृतिक कारण र महिलाप्रतिको उपेक्षित दृष्टिकोणले पनि चुनावी राजनीतिलाई प्रभाव पार्ने गरेको उहाँको भनाइ छ। “कानुनलाई बाध्यकारी नपारेसम्म संविधानमा लेखेर मात्र नहुने रहेछ,” पूर्वप्रदेश सांसद थापाले भन्नुभयो।  

कतिसम्म उपेक्षा गरिएको छ भने प्रतिनिधि सभाका लागि त निर्वाचन क्षेत्र नं. २ र ४ बाट एक जना महिलाको पनि उम्मेदवारी परेन। प्रदेश सभाका लागि भने सबैभन्दा बढी क्षेत्र नं १ बाट सात जना महिलाले मनोनयन दर्ता गराउनुभएको छ। त्यस्तै २ बाट तीन जना, ३ बाट दुई जना र ४ बाट चार जना महिलाले मनोनयन गरेको निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्। 

यो पटक महोत्तरीमा साना ठूला २४ वटा पार्टी चुनावी मैदानमा देखापरेका छन् तर सबैभन्दा बढी राप्रपा नेपालबाट पाँच जना महिलाले मनोनयन दर्ता गराउनुभएको छ। त्यस्तै राप्रपा, एमाले, लोसपा, नेकपा एकीकृत समाजवादीलगायत ११ पार्टीले मात्र महिलालाई अवसर दिएको देखिएको छ। पूर्वप्रदेश सांसद रानी शर्माको भनाइमा निर्वाचनमा महिलालाई उपेक्षा गर्ने पहिलो कारण हो पुरुषको हैकमवादी सोच, जहाँ पनि आफँै नेतृत्व लिन खोज्ने प्रवृत्ति, महिलालाई कमजोर र आदेशपालक ठान्ने राजनीतिक संस्कृतिले पनि राजनीतिक वृत्तमा महिलाको प्रतिनिधित्वको अवस्था ठीक नभएको उहाँको अनुभव छ। 

“महिलामा पनि नेतृत्व क्षमता हुन्छ भन्ने कुरा पुरुष स्विकार नै चाहदैनन्,” उहाँले भन्नुभयो “अवसरै नदिए महिला कसरी अगि बढ्ने ? अनि समाज कसरी रुपान्तरण हुने ?” उहाँहरू दुवै जनाले यस पटक पनि एमाले र लोसपाबाट भने मनोनयन दर्ता गराउनुभएको छ। 

रौतहटमा २०७ जनाको उम्मेदवारी 

गौर समाचारदाताका अनुसार, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि रौतहट जिल्लामा २०७ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्य पदको चारवटा निर्वाचन क्षेत्र तथा प्रदेश सभा सदस्य आठवटा निर्वाचन क्षेत्र रहेको छ । 

क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य तथा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य  (१) र (२) पदका लागि ६६ जना, क्षेत्र नं. २ बाट ४१ जना, ३ बाट ४५ जना र ४ बाट ५५ जना गरी कुल २०७ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय रौतटहका प्रमुख छोटेलाल दासले बताउनुभयो । क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि १७ जना, २ बाट १३ जना, ३ बाट १९ जना र ४ बाट १८ जनाले उम्मेदवारी दिएको प्रमुख दासले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य पदका लागि १ क बाट ३१ जना र ख बाट १८ जना, २ (क) बाट १३ र (ख) बाट १५ जना, ३ (क) बाट १७ जना  र (ख) बाट ९ र ४ (क) बाट १३ जना र (ख) बाट २४ जनाले उम्मेदवारी दिएका उहाँले जानकारी दिनुभयो।