• १३ मंसिर २०८१, बिहिबार

२६ मनोनयन दर्तामध्ये १४ स्वतन्त्र

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दै उम्मेदवारहरु । तस्बिर : जयमान बुढा मगर

जयमान बुढा मगर

रुकुमपूर्व, असोज २४ गते । रुकुम पूर्वमा  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ जिल्लास्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि जिल्लास्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि  आकाङ्क्षीहरूले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन्  । २६ जनाको मनोनयन दर्ता भएकोमध्ये १४ जनाको स्वतन्त्र रूपमा मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो । 

प्रतिनिधिसभा तर्फ ६ जना र प्रदेशसभा तर्फ २० जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा पाँच दलीय गठबन्धनबाट सङ्घमा नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती मगरले मनोनयन दर्ता गराउनुभएको छ । घर्ती मगर लुम्बिनी प्रदेशको सभामुख समेत हुनुहुन्छ । 

यस्तै, दुई वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा प्रदेश (क) बाट गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली र प्रदेश (ख) बाट गठबन्धनकै तर्फबाट कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै, नेकपा (एमाले) को तर्फबाट सङ्घमा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभातर्फ निर्वाचन क्षेत्र (क) बाट तेजेन्द्र बुढामगर र निर्वाचन क्षेत्र (ख) बाट भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ ।

सोहीअनुसार राप्रपाबाट सङ्घमा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेश निर्वाचन क्षेत्र (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र (क) बाट भने राप्रपाले उम्मेदवारी दिएको छैन । यस्तै, मङ्गोल नेसनल अर्गनाइजेसनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढा, प्रदेश निर्वाचन क्षेत्र (क) बाट  पूरा पुन र निर्वाचन क्षेत्र (ख) बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको छ ।

१४ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएकामध्ये सङ्घमा १ र प्रदेशसभामा १३ जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभामा चन्द्रराज झाँक्री मगरले मनोनयन दर्ता गराउनुभएको छ । सोहीअनुसार निर्वाचन क्षेत्र (क) बाट रामसुर बुढा मगर, सङ्गम रोका मगर, सुरुल पुन मगर, कालीप्रसाद रोका मगर, ओमकुमारी शाही (मल्ल), दुतकुमार पुन मगर (गुमाने) हुनुहुन्छ । 

यस्तै निर्वाचन क्षेत्र (ख) बाट गजेन्द्रबहादुर ओली, नरहरि खड्का, भीमबहादुर खड्का, केशव रावल, पूर्णजंग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकारी ओलीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरू राजनीतिक दलमा आबद्ध नेताकार्यकर्ताहरू रहेको उहाँले बताउनुभयो । ।