• १२ असार २०८१, बुधबार

प्रदेशभर उम्मेदवारी दर्ता शान्तिपूर्ण

blog

गण्डकी प्रदेश ब्युरो

पोखरा, असोज २४ गते । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कास्कीमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता गरिएको छ । प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभातर्फ छ क्षेत्रमा मनोनयन दर्ता गरेका उम्मेदवारलाई हेर्दा सत्ता गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा भएको र देश निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले सबै दल र स्वतन्त्र गरी यकिन विवरण सङ्कलन हुँदै गरेको बताउनुभयो । 

पोखरा समाचारदाताका अनुसार सत्ता गठबन्धनले कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फको टिकट एकीकृत समाजवादीलाई दिएर बाँकी क्षेत्र नेपाली कांग्र्रेस र माओवादी केन्द्रले लिएका छन् । जसअन्तर्गत कास्की क्षेत्र नम्बर १ मा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै सो क्षेत्रमा एमालेबाट मनबहादुर गुरुङले मनोनयन दर्ता गराउनुभयो । एमाले जिल्ला सभापतिसमेत रहनुभएका गुरुङ अघिल्लो पटक प्रदेश सभा सदस्यसमेत हुनुहुन्थ्यो ।

कास्की १ (१) मा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका दीपक कोइराला र एमालेबाट खगराज अधिकारीकोे उम्मेदवारी दर्ता भएको छ  । अघिल्लो चुनावमा प्रदेश सभाको चुनाव जित्नुभएका कोइराला विकास समिति सभापतिसमेत रहनुभएको थियो । उहाँले त्यसबेला एमालेका खगराज अधिकारीलाई सङ्घको चुनाव जिताएकोमा यस पटक उहाँसँगै आमनेसामने हुनुभएको छ । 

एमालेका उम्मेदवार अधिकारी पूर्वगृहमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत बन्नुभएका र पटक–पटक टिकट पाउने नेतामा पर्नुहुन्छ । एमाले केन्द्रीय कमिटीले उहाँलाई भावी मुख्यमन्त्रीका रूपमा अघि सार्दै सङ्घबाट प्रदेशमा झारेको हो । यसअघि एमालेबाट मुख्यमन्त्री बन्नुभएका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले सङ्घमा टिकट दिएको छ । 

कास्की क्षेत्र २ (२) मा सत्ता गठबन्धनअन्तर्गत कांग्रेसबाट दीपक गुरुङ माइला र नेकपा एमालेका वेदबहादुर गुरुङ श्यामले उम्मेदवारी दिनुभएको छ । उहाँहरू संसदीय प्रक्रियामा नयाँ अनुहारमा पर्नुहुन्छ  । त्यस्तै कास्की २ मा गठबन्धनअन्तर्गत समाजवादीका श्रीनाथ बराल र एमालेबाट विद्या भट्टराईले सङ्घको चुनाव लड्दै हुनुहुन्छ । 

प्रदेश सभातर्फ कास्की २ (१) मा गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने र एमालेबाट भीम कार्कीले उम्मेदवारी दिनुभएको छ । कास्की २ (२) मा गठबन्धनको तर्फबाट गण्डकी प्रदेशका कानुन तथा सञ्चारमन्त्री विन्दुकुमार थापा र एमालेबाट मीना गुरुङले उम्मेदवारी दिनुभएको छ  । 

त्यस्तै कास्की क्षेत्र ३ मा गठबन्धनतर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बराल जीवनले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धा एमालेका दामोदर बैरागीबीच हुनेछ । कास्की ३ (१) मा माओवादी केन्द्रका दुर्गादत्ता भण्डारी र एमालेका गणेशमान गुरुङबीच प्रतिस्पर्धा हुनेछ भने ३ (२) मा कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारी चुनाव लड्दैछन् । प्रतिनिधि सभातर्फ कास्कीमा ३ मध्ये कास्की १ कांग्रेसलाई, २ समाजवादीलाई र ३ माओवादी केन्द्रलाई परेको छ । 

कांग्रेसका पूर्वराज्यमन्त्री महादेव गुरुङको प्रतिनिधि सभातर्फ कास्की २ मा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । उहाँ कांग्रेसका पुराना नेता हुनुहुन्छ । यो निर्वाचन क्षेत्र सत्ता गठबन्धनको भाग बन्डामा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । सत्ता गठबन्धनबाट नेकपा एसका श्रीनाथ बरालले टिकट पाउनुभएको छ । 

पूर्वप्रधानमन्त्री प्रचण्ड गोरखामा 

गोरखा समाचारदाताका अनुसार पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, अब्दुल सतारलगायतका नेताको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । 

उहाँको प्रस्तावकका रूपमा यसअघि दुई पटकसम्म गोरखा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र सोही क्षेत्रका माओवादीका उपाध्यक्ष श्रेष्ठले समर्थन गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवन छोडेर गोरखाबाट उम्मेदवारी दिनुभएका प्रचण्डलाई डाक्टर भट्टराई र कांग्रेसका नेताले समेत मैदान छोडेका हुन् । प्रचण्ड सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको हो । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा खसेको मतलाई आधार बनाउँदा गोरखा क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनका पक्षमा झन्डै ५० हजार मत छ । स्थानीय निर्वाचनमा कमजोर देखिएको एमालेले करिब आठ हजार मात्र मत ल्याएको देखिन्छ । 

सो क्षेत्रमा एमाले नेतृत्वको गठबन्धनले युवा नेता अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ । एमाले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँबाट उठ्ने घोषणा गरेका मियाँले केही दिनअघि एमालेमा प्रवेश गरी पुख्र्यौली जिल्ला गोरखाबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

मनोनयन उत्साहपूर्वक सम्पन्न

पर्वत समाचारदाताका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पर्वतमा दलहरूले उत्साहका साथ मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभाअन्तर्गत सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशी र नेकपा एमालेका तर्फबाट निवर्तमान सांसद पदम गिरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । गत २०७४ सालको प्रतिद्वन्द्वी रहेका जोशी र गिरी यस पटकसमेत चुनावी मैदानमा उत्रिनुभएको छ । यस्तै प्रदेश सभातर्फ सत्तारूढ गठबन्धनबाट प्रदेश सभा (क)मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदीप कुँवर र (ख)मा नेपाली कांग्रेसका नेता ऋषिकेश तिवारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी एमालेबाट (क) मा भक्त कुँवर र (ख) मा मित्रलाल बस्याल उम्मेदवार हुनुभएको छ । 

प्रतिनिधि सभातर्फ १ निर्वाचन क्षेत्र रहेको पर्वतमा गत २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनबाट पदम गिरीले निर्वाचन जित्नुभएको थियो 

कांग्रेसका पौडेलद्वारा उम्मेदवारी

तनहुँ समाचारदाताका अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । नेता पौडेलले गठबन्धनको तर्फबाट  उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्दै पौडेलले समृद्धि, सुशासन र नयाँ युग शान्तिको अभियानका लागि पाँच दलबीच चुनावी गठबन्धन गरिएको बताउनुभयो । राजनीतिक स्थायित्व र सुशासनका लागि गठबन्धन गरिएको पौडेलको भनाइ छ । 

“प्रतिगमन र अधिनायकवादलाई मुन्टो उठाउन नदिन देशलाई अग्रगमनमा लैजान गठबन्धन गरेका हौँ,” पौडेलले भन्नुभयो । यो निर्वाचन मात्रै नभई राष्ट्रलाई अघि बढाउने अभियान पनि भएको नेता पौडेलले बताउनुभयो । प्रतिगमनलाई पराजय गर्न पाँच दलको गठबन्धन गरिएको पौडेलको भनाइ थियो । 

प्रतिनिधि सभा सदस्यका लागि तनहुँ क्षेत्र नम्बर १ बाट नेकपा एमालेका एकबहादुर रानाले उम्मेदवारी दिनुभएको छ । यसैगरी नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस तनहुँका पूर्वसचिव विश्व बास्तोलाले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । प्रदेशतर्फ क्षेत्र नम्बर १ को  ‘क’ बाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र ‘ख’ बाट माओवादी केन्द्रका हरिबहादुर चुमानले उम्मेदवारी दिनुभएको छ । एमालेको तर्फबाट ‘क’ रामबहादुर गुरुङ र ‘ख’ मा पूर्णबहादुर गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसैगरी तनहुँ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रदेश सभाका लागि ‘क’ माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने, ‘ख’ नेपाली कांग्रेसका जितप्रकाश आलेले उम्मेदवारी दिनुभएको छ । एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि स्थायी कमिटी सदस्य किरण गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । एमालेको तर्फबाट प्रदेश सभाको लागि ‘क’ मा श्यामराज महत र ‘ख’ मा केदार सिग्देलले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

प्रधानमन्त्री बन्ने कोइरालाको दाबी

कावासोती समाचारदाताका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट कांग्रेसका पूर्वमहामन्त्री डां शशाङ्क कोइरालाले मनोनयन दर्ता गर्नुभएको छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नवलपुर १ बाट उम्मेदवारी दर्तापछि कोइरालाले आफूले तीन पटक चुनाव जितेको र यस पटकको निर्वाचन आफ्नो अन्तिम भएको बताउनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार डा. कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनयन दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री बन्ने बताउनुभएको हो ।

त्यसैगरी नवलपुर २ मा नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले केन्द्रीय निर्वाचन आयोग काठमाडौँमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी प्रदेशतर्फ १ को (क) मा नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी, १ को (ख) मा माओवादीका लोकप्रसाद भुर्तेल, २ को (क) मा कृष्ण शर्मा गैरे, २ को (ख) मा एकीकृत समाज पार्टीका गोपाल खनालले मनोनयन गर्नुभएको छ ।

यसैगरी नवलपुरबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्धारित सबै क्षेत्रमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्यमा गरी नेकपा एमालेका छ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपुर १ मा कृष्ण पौडेल र नवलपुर २ मा तिलक महतले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यस्तै प्रदेश सभा सदस्यका लागि नवलपुर १ (क) बाट रवीन्द्र अधिकारी, १ (ख) मा रोशनबहादुर गाहा, २ (क) मा पद्मा जिसी श्रेष्ठ र २ (ख) मा लक्ष्मण पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।  नवलपुरमा जम्मा मतदाता दुई लाख ६० हजार ४६१ जना रहेका छन् । जिल्लामा दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । 

३० जनाको उम्मेदवारी 

स्याङ्जा समाचारदाताका अनुसार दुई प्रतिनिधि सभा सिट र चार प्रदेश सभा सिट रहेको स्याङ्जामा क्षेत्र नम्बर १ मा सङ्घ तथा प्रदेशमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभामा १५ तथा प्रदेश (क) मा आठ र (ख) मा सात जनाले जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ मा सङ्घबाट नेपाली कांग्रेसका राजु थापा, नेकपा एमालेका नारायण मरासिनी, नेकपा एकीकृत समाजवादीका विष्णु गिरी, राप्रपाका खेमबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी, मौलिक जरोकिलो पार्टीका हरि नेपाल, मङ्गोल नेसनल अर्गनाइजेसनका निर्मल आले, राष्ट्रिय जनमुक्ति पार्टीका ओमबहादुर थापा, हाम्रो नेपाली पार्टीका सोमबहादुर नेपाली, नेका बीपीका प्रदीप पौडेल, नेकपा माओवादी समाजवादीका ईश्वरीप्रसाद पौडेल, जन समाजवादी नेपाली तिलकुमारी नेपाली, स्वतन्त्र गोविन्द रानाभाट, स्वतन्त्र अर्जुनप्रसाद पौडेल र स्वतन्त्र लोकबहादुर दमैले उम्मेदवारी दिनुभएको छ । 

यस्तै क्षेत्र नम्बर १ (क)बाट नेपाली कांगे्रसका मेखलाल श्रेष्ठ, नेकपा एमालेका सीताकुमारी सुन्दास, नेकपा माओवादी केन्द्रका अमृता थापा र राप्रपाका सूर्यलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको हो । यस्तै क्षेत्र नम्बर १ प्रदेश (ख)मा नेपाली कांग्रेसका बुद्धिबहादुर राना कुमार, नेकपा एमालेका सुधिरकुमार पौडेल, नेकपा एकीकृत समाजवादीका शर्मिला पौडेल, राप्रकाका शान्ति हमाल, राप्रपा नेपालका गोविन्दप्रसाद उपाध्याय, मङ्गोल नेसनल अर्गनाइजेसनका चिन्तु गुरुङ, स्वतन्त्र मनोज नेपालीले उम्मेदवारी दिनुभएको छ । 

त्यस्तै देशभर सत्ता गठबन्धन भइरहँदा स्याङ्जामा छुट्टाछुट्टै उम्मेदवारी दिएपछि समस्या देखिएको छ । गठबन्धनको कार्यदलले बनाएको समझदारीभन्दा बाहिर नेपाली कांग्रेसले टिकट दिएर पठाएपछि समस्या देखिएको हो । यहाँ दुई प्रतिनिधि र दुई प्रदेश सभा कांग्रेसले लिने तथा एक–एक प्रदेश सभा माओवादी केन्द्र र एकीकृत समाजवादीले लिने सहमति बाहिर गई कांग्रेसले टिकट दिएपछि समस्या देखिएको बताइएको छ । 

अर्यालविरुद्ध विद्रोही उम्मेदवार 

वालिङ समाचारदाताका अनुसार नेकपा एमालेकी सचिव पद्मा अर्यालविरुद्ध उहाँकै पार्टीबाट विद्रोहीको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका लागि स्याङ्जा २ बाट सचिव अर्यालविरुद्ध उहाँकै सचिवालयमा रहेर काम गरेका कपिलदेव न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सोही क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उपसभापति धनराज गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङ र अर्यालले मनोनयन दर्ता गर्नुभएको हो ।