• १३ साउन २०८१, आइतबार

म्याग्दीको घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल (फोटोफिचर)

blog

म्याग्दी, असोज २३ गते । शनिवार देखि मौसममा आएको हल्का सुधारसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेको छ । दसैँ तिहार विधाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरू  प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका छन् । यो समयमा पुनहिलमा आन्तरिक पर्यटकको निकै भिडभाड लाग्ने गर्दछ । 

निरन्तरको वर्षाका कारण रोकिएका पर्यटकहरू मौसममा सुधार आएसँगै शनिवारदेखि घोडेपानी र पुनहिलको भ्रमणमा आउने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको होटेल व्यवसायीहरूले बताएका छन् । विश्व प्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको घोडेपानी र  पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटेल व्यवसायीहरू उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिनुभयो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । 


समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा  दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन् । शरद ऋतुको सुरुवातसङै पुनहिलको प्रवेशद्वारमा पर्ने घोडेपानीमा रहेका होटलहरु पर्यटकको आगमन वृद्धि सँगै भरिभराउ हुन थालेका छन् । पुनहिल आन्तरिक तथा विदेशी पर्यटकका लागि पहिलो रोजाइमा पर्ने गरेको छ । घोडेपानी देखि पुनहिल सम्म पुग्न यहाँका स्थानीयहरूले चन्दा सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन् । 


असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटेल व्यवस्थापन समितिको अध्यक्ष मिना पुनले बताउनुभयो । पर्यटकका लागि यो उपयुक्त समय हो उहाँले भन्नुभयो ‘निरन्तरको भारी वर्षाका कारण यसपालि दसैँ विधामा निस्केका पर्यटकहरू प्रभावित भए पनि दुई दिन यता मौसममा हलुका सुधार आएसँगै  पर्यटकको आगमन बढ्न थालेको छ । पाँच दिनको भारी वर्षका कारण सडक मार्ग अवरुद्ध हुँदा कतिपय पर्यटकहरू बीच बाटोमै रोकिएको उहाँले बताउनुभयो । मौसममा सुधार र सडक मार्ग खुलेपछि पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 


पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखै अगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटकहरू पुग्ने अन्नपूर्ण गाउँपालिका ५ शिखरका स्थानीयवासी सुरेन गुरुङले बताउनुभयो ।  चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिम चुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताउनुभयो । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । पर्यटकका लागि घोडेपानीमा साना ठुला गरेर २६ वटा सुविधा सम्पन्न होटल छन् । 



Author

ठाकुरप्रसाद आचार्य