• १२ असार २०८१, बुधबार

निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

बर्दिबास समाचारदाता

बर्दिबास, असोज २३ गते ।  प्रतिनिधि तथा प्रदेश सभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित बिहीबार साँझसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै जिल्लामा निर्वाचन माहोल तात्न थालेको छ । 

निर्वाचन क्षेत्र नं. ३ को लागि सदरमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएपछि क्रमिक रूपले बाँकी रहेका निर्वाचन क्षेत्रमा पनि कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हेमबहादुर सेनले कार्यालयको ब्यानर खोलेर कार्य शुभारम्भ गर्नुभएको थियो । उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनी, जिल्ला निर्वाचन अधिकारी सुवोध महतोलगायत सम्बद्ध कर्मचारीको उपस्थिति थियो । 

क्षेत्र नं. १ को बर्दिबासस्थित गौरीडाँडा, क्षेत्र नं. २ को बलवा–७ स्थित बनौटामा र क्षेत्र नं. ४ को रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जिल्ला निर्वाचन अधिकारी सुवोध महतोले जानकारी दिनुभएको छ । बर्दिबासमा निर्वाचन कार्यालय स्थापना भए लगत्तै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । कार्यालय स्थापनापछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अधिकृत गुणराज श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, पारदर्शी, स्वतन्त्र एवं भयरहित ढङ्गमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसका लागि सबै पक्षलाई सहयोग र सुझावका लागि आग्रह गर्नुभयो । 

सहायक निर्वाचन अधिकृत एवं बर्दिबासस्थित इलाका प्रशासन प्रमुख सन्देश अधिकारीले निर्वाचन कार्यालयका लागि नौ कर्मचारी खटाइएको र दशैँको बिदा सकेर कर्मचारी फर्किंर्दै गरेको जनाउनुभयो । यसका साथै शुक्रबारसम्म कार्यालयमा कम्प्युटर, प्रिन्टर, वाइफाई, कार्यकक्षलगायत सम्पूर्ण व्यवस्थापन र बन्दोबस्ति मिलाइने जनाउनुभयो । 

४९९ मतदान केन्द्र

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि २५८ मतदान स्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ । यसमध्ये निर्वाचन क्षेत्र नं. १ मा ५९ मतदान स्थल र १२३ मतदान केन्द्र निर्धारण गरिएको छ । क्षेत्र नं. २ मा ६२ मतदान स्थल र १२६ मतदान केन्द्र, क्षेत्र नं. ३ मा ७७ मतदान स्थल र १२८ मतदान केन्द्र तथा क्षेत्र नं. ४ मा ६० मतदान स्थल र १२२ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी सुवोध महतोले जानकारी दिनुभयो ।