• १६ भदौ २०८१, आइतबार

मनास्लु हिमालमा पुनः हिमपहिरो एक जनाको मृत्यु

blog

फाइल तस्बिर

गोरखा, असोज १७ गते । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा  एक जनाको मृत्यु भएको छ। आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उहाँले बताउनुभयो।

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिनुभयो। मृतकको शवपरीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ। आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। 

यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। उक्त हिमपहिरामा परी दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो। रासस