सिराज खान
नेपालगञ्ज, असोज १७ गते। बाँके क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जमा सञ्चालन गरिएको छ। जिल्लाका क्षेत्र नम्बर १ र ३ गरेर अन्य दुई क्षेत्रमा कार्यालय सञ्चालन गरिँदैछ।
नेपालगञ्जको रामलीला मैदान पूर्वमा रहेको पशु सेवा कार्यालयको हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाएर सञ्चालनमा ल्याइएको हो। सो कार्यालयमा जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटनमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारीले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै व्यवस्था मिलाउने कार्य भइरहेको बताउनुभयो।
बाँकेमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन्। मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने समय नजिकै आइसकेकोले पनि कार्यालय स्थापना गरेर तयारी सुरु गरिएको हो।
जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि बढ्दै गएका छन्। विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवार निश्चित भइसकेकाले प्रचार प्रसार र घरदैलो सुरु गरिसकेका छन्। उम्मेदवारका लागि नाम सिफारिस भएकाहरू टिकटका लागि अन्तिम दौडधुपमा व्यस्त छन्।