• १३ साउन २०८१, आइतबार

लुम्बिनी तिलौराकोटसम्म निःशुल्क विधुतीय बस : आन्तरिक पर्यटक खुशी

blog

लुम्बिनीदेखि तिलौराकोटसम्म सञ्चालनमा आएको विद्युतीय बस । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, असोज १७ गते । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा थन्किएर रहेको विद्युतीय बस कपिलवस्तुको तिलौराकोटसम्म सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटसम्म बस सञ्चालनमा आएपछि यसको प्रचारप्रसार र संरक्षणमा थप टेवा पुग्ने विश्वास स्थानीयको छ । 

लुम्बिनीसँगै तिलौराकोटको प्रचारप्रसार गर्न र लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर बिजुली बस सेवा सञ्चालन गरिएको हो । लुम्बिनी विकास कोषले सञ्चालन गरेको विद्युतीय बस निःशुल्क चढेर कपिलवस्तुमा रहेका विभिन्न पुरातात्त्विक स्थलको भ्रमण गर्न सकिने भएपछि स्थानीय उत्साहित भएको स्थानीय राजकुमार यादवले बताउनुभयो । 

लुम्बिनीसँगै तिलौराकोटको प्रचारप्रसार गर्न र लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर विधुतीय बस सेवा सञ्चालन गरिएको हो । 

 उहाँले भन्नुभयो, “बस सुचारु भएपछि जिल्लामा भएका गरिब गुरुबाहरूलाई जोसँग पैसा हुँदैन, लुम्बिनी जाने इच्छा पूरा हुन्छ ।” दशैंको बेलामा लुम्बिनीमा आएका पर्यटकहरू निःशुल्क बस चढेर तिलौराकोट भ्रमण गर्न र यहाँका महत्त्व बुझ्न पाउने उहाँको भनाइ छ । 

सञ्चालनमा आएको निःशुल्क विद्युतीय बसले कपिलवस्तुवासी सजिलै बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धको अस्तु भएको रामग्राम र देवदह लगायतका स्थलमा भ्रमण गर्न सक्नुहुने  स्थानीय वशिष्ठ तिवारीले बताउनुभयो । कपिलवस्तुमा रहेको तिलौराकोट, निग्लिहवा, गोटिहवा र कुदान लगायतका अन्य ठाउँबाट सजिलै आन्तरिक पर्यटक आवागमनमा बढवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी विकास कोषलाई अनुदान प्राप्त भए पनि विभिन्न ऐन कार्यविधि निर्माण र कोरोनाका कारण बस तीन वर्षदेखि थन्किएको अवस्थामा थियो । अहिलेको कार्यसमितिले सञ्चालनमा ल्याएको कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले बताउनुभयो । बस थन्किएपछि विभिन्न तहबाट धेरै कुराहरू उठेपछि कार्यसमितिले कार्यविधि बनाएर सो बस सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । 

जनतालाई गोटिहवा, तिलौराकोट, कुदानलगायत पुरातात्त्विक स्थलको भ्रमण गराउन लुम्बिनी विकास कोषले दीर्घकालीन सोच बनाएर बस सञ्चालन गरेको सदस्य शर्माले बताउनुभयो । बस सञ्चालनको निरन्तरताका लागि हामीलगायत सबै सरोकारवालाको सहयोग हुन जरुरी छ, उहाँले भन्नुभयो ।  

गोटिहवा, तिलौराकोट, कुदानलगायत पुरातत्विक स्थलको भ्रमण गराउन लुम्बिनी विकास कोषले दीर्घकालीन सोच बनाएर बस सञ्चालन गरेको सदस्य शर्माले बताउनुभयो ।

लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न एडिबीले लुम्बिनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँच वटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको थियो । दशैं तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुट बस परीक्षणकालका लागि सुचारु गरिएको छ ।

पाँच वटा बसमध्ये एउटा बस बुटवल–भैरहवा–बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया–भैरहवा–एयरपोर्ट हुँदै लुम्बिनी, तेस्रो बस नवलपरासी–रामग्राम–भैरहवा–बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौथो बस कपिलवस्तु–तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको शर्माले बताउनुभयो ।