• २ वैशाख २०८३, बुधबार

दशैंको रौनक लिङ्गेपिङ

blog

लिङ्गेपिङ हाल्दै गरेका वालिङ १० मदिखोदा–फेदीमोहोरियाका युवाहरू । तस्बिर: राधाकृष्ण डुम्रे

वालिङ, असोज १६ गते । दशैं तिहारको अवसर पारेर हालिने लिङ्गेपिङहरू हराउन थालेको भन्दै वालिङका युवाहरूले सक्रियता देखाएका छन् । वालिङ १० को विभिन्न टोलमा मात्रै ७ वटा लिङ्गेपिङहरू हालिएका छन् । 

युवाहरूको सक्रियता र वडा कार्यालयको सहयोगमा पिङहरू हालिएका हुन् । संस्कृतिको जगेर्ना गर्ने भन्दै दसैँमा लिङ्गेपिङ हाल्ने परम्परालाई कायम राखिएको हो । जसको कारण यस क्षेत्रमा दशैंको रौनक थपिएको छ । 

केही वर्ष अघिसम्म विभिन्न गाउँ बस्तीमा प्रशस्तै भेटिने लिङ्गेपिङहरू आजभोलि भेटिन छाडेका छन् । गाउँका बच्चादेखि वृद्धसम्म रमाउने लिङ्गेपिङ राख्न भने धेरैको चासो कम हुने गएको पाइन्छ तर वालिङ १० मा भने यसको फरक अवस्था छ । 

युवाहरूले बाँस काट्ने, काठ काटे र ठिक्क पारे भने वडा कार्यालयले लिङ्गेपिङ उपलब्ध गरायो जसका कारण युवाहरू उत्साहित हुँदै लिङ्गेपिङ हालेका हुन् । घटस्थापना अगाडि देखि नै तयारी गरेका युवाहरूले सक्रियतापूर्वक टोल टोलमा लिङ्गेपिङ हालेका हुन् । 

स्थानीय युवा गणेश पौडेल भन्नुहुन्छ,‘पछिल्लो समय लिङ्गेपिङहरू हराउन थाले जसको कारण दशैंको महत्त्व समेत कम भएको जस्तो लाग्यो त्यसैले हामीले लिङ्गेपिङ राख्न सक्रियता देखाएका हौँ ।’

युवाहरूको सक्रियतामा नै लिङ्गेपिङ राख्न सफल भएको टोल विकास समितिका संयोजक पिण्डपानी पङ्गेनीले बताउनु भयो । कोरियामा झन्डै दश वर्ष बिताएर स्वदेश आएका पङ्गेनी भन्नुहुन्छ ‘यो पटकको दसैँ निक्कै उल्लासमय हुनेछ ।’ पङ्गेनीका अनुसार बीचको दशैंमा आउँदा गाउँमा त के नजिक कतै पनि लिङ्गेपिङ नै थिएन ।

गाउँ गाउँका युवाहरूले लिङ्गेपिङ राख्ने र दसैँमा रौनक ल्याउने बताएपछि आफूले सहजीकरण गरेको भनाइ छ वडा नम्बर १० का वडा अध्यक्ष सुनिल खनालको, उहाँ भन्नुहुन्छ ‘वडाका सात ठाउँमा लिङ्गेपिङ हालेका छौँ ।’

केही वर्ष पहिलेसम्म युवा युवतीहरूले जङ्गलबाट खर काटेर ल्याउने गर्थे भने युवा बाँसका लिङ्गा ल्याएर पिङ बनाउने काम गर्थे । पिङले मनोरञ्जनका साथै भाइचारा र संस्कृतिको विकासमा पनि टेवा पुर्याउने काम गर्ने भए पनि उक्त परम्परा हराउँदै गएको महसुस गर्नुहुन्छ वालिङ १० का ८२ वर्षीय बोधराज पङ्गेनी, उहाँ भन्नुहुन्छ,‘हामी सानो हुँदा गाउँ टोल जताततै लिङ्गेपिङहरू हुन्थे आजभोलि त देख्न नि पाइन छाड्यो ।’

‘सबै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले पुरानो मौलिक परम्पराको रूपमा रहेका सबै चलन बिस्तारै हराउँदै गएको छ । वालिङ १० का युवा पुस्ताले जस्तै समयमा सबैतिर संरक्षणमा ध्यान दिने हो भने नेपालीका मौलिक परम्परा र संस्कृति लोप भएर नजाने वालिङ नगर उपप्रमुख कविता तिवारी बताउनुहुन्छ । 

अघिल्लो पुस्ताका मानिसका चलन र परम्परालाई नयाँ पुस्ताका युवाले निरन्तरता नदिँदा मौलिक चलनहरू ओझेल पर्ने मात्र नभई हराउने खतरा रहेको उपप्रमुख तिवारीको भनाइ छ । 

स्मार्टसिटिको अवधारणाबाट अगाडि बढेको वालिङ नगरपालिकाले संस्कृति र संस्कारहरूको संरक्षणतर्फ ध्यान दिँदै आएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । गुलाबी सहरको रूपमा परिचित वालिङले चाडपर्वलाई उत्साहजनक बनाउन विभिन्न क्लब, आमा समूह तथा सङ्घ संस्थासँग मिलेर काम गरिरहेको प्रमुख खाँणको भनाइ छ । 

मुलुकमा सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय सरकार, समुदाय र युवा पुस्ताले कला, संस्कृति, परम्परा र चलनको संरक्षण गरी आउने पुस्तामा हस्तान्तरण गर्नु पर्ने पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलको भनाइ छ । 

Author

राधाकृष्ण डुम्रे