• १३ साउन २०८१, आइतबार

चाडबाडलक्षित सुरक्षा योजना

तीन सय सवारीसाधन कारबाहीमा

blog

बर्दिबास समाचारदाता

बर्दिबास, असोज १६ गते । बर्दिबासस्थित जिल्ला ट्राफिकले चाडबाडलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । ट्राफिकको यस अभियानमा यातायात व्यवसायीले समेत लिखित सहमति जनाएका छन् । 

अभियानअन्तर्गत चाडबाडका बेला सवारी नियम उल्लङ्घन गर्ने त्यस्ता तीन सयभन्दा बढी सवारी कारबाहीको दायरामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासले अभियानअन्तर्गत तीन दिनको अवधिमा ३१७ सवारीसाधन कारबाहीमा परेको जनाएको छ । 

बर्दिबासस्थित जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार सवारी नियम उल्लङ्घनका विभिन्न नौ अवस्था निर्धारण गरी जिल्लाका प्रमुख सडक मार्गमा बुधबारदेखि सघन जाँच सुरु गरेको हो । त्यस क्रममा शुक्रबारसम्म १३३ मोटरसाइकल, ८१ कारजिप, ७० मालवाहक ट्रक र ट्याङ्कर, १२ यात्रु बसलगायत कारबाहीमा परेका छन् ।

ट्राफिक कार्यालयको रेकर्ड शाखाका अनुसार यस अवधिमा कारबाहीमा परेकामध्ये सबैभन्दा बढी क्षमताभन्दा बढी भार बोक्ने (ओभर लोड) ७७ सवारीमाथि कारबाही गरिएको छ । सवारी लाइसेन्स नबोकेका २३ र प्रयोजनविपरीत ‘लगेज लोड’ गर्ने १८ यात्रु सवारी, सिट बेल्ट नलगाएका १६, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १४ तथा बत्तीको अवस्था ठीक नभएका १३ सवारीसाधन कारबाहीको दायरामा परेका थिए । 

कारबाहीमा परेका सवारीबाट दुई लाख ५० हजार जरिवाना असुलउपर गरिएको सिजापतिले जनाउनुभयो । चाडबाडको बेला सहज र सुगम यात्राका लागि ट्राफिकले जलेश्वर, गौशाला र बर्दिबासको बीपी राजमार्गअन्तर्गत गौरीडाँडासमेत तीन ठाउँमा ‘यात्रु सहायता कक्ष’ खडा गरी २४ घण्टे सेवा दिन सुरु गरेको छ । सहायता कक्षमा बढी भाडा लिने, दुव्र्यवहार गर्ने सवारीमाथि कारबाही, यात्रुका पीरमर्का, गुनासा, उजुरी र जिज्ञासाउपर सुनुवाइ, सहयोग, कारबाही र परामर्शजस्ता सेवा दिने व्यवस्था मिलाइएको सिजापतिले बताउनुभयो । 

पूर्वपश्चिम लोकमार्ग, बीपी राजमार्ग, बर्दिबास–जलेश्वर सडक तथा माईस्थान–गौशाला–समसी हुलाकी मार्गजस्ता सडक सञ्जालको सुविधाका कारण बर्दिबासमा चाडबाडका बेला यात्रुको चाप बढ्ने गरेको छ । यस्तो बेला सहज, सुगम र भयरहित यात्राका लागि ट्राफिकले यातायात व्यवसायीको सहभागितामा अन्तरक्रिया र लिखित निर्णय गरी चाडबाडलक्षित सुरक्षा अभियान सञ्चालन गरेको हो । 

बर्दिबासस्थित जिल्ला ट्राफिक कार्यालयमा बसेको बैठकमा सहभागी ४० जना यातायात व्यवसायीले टिकट काउन्टरका स्टाफले परिचयपत्र लगाउने, सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने, तोकिएभन्दा बढी भाडा नलिनेजस्ता लिखित सहमति गरेको सिजापतिले जनाउनुभयो ।

“यातायातलाई सेवामूलक र यात्रालाई सहज र सुरक्षित बनाउन ट्राफिकले सरोकारवाला सबैसँग आग्रह गर्दै आएको छ,” सिजापतिले भन्नुभयो, “चाडबाडलाई यात्रु ठग्ने, दुव्र्यवहार गर्ने र सवारी नियम उल्लङ्घन गर्ने अवसरका रूपमा लिनेमाथि चौबीस घण्टे निगरानी र कारबाहीको व्यवस्था मिलाएका छौँ ।”