• ९ मंसिर २०८१, आइतबार

भुटानी शरणार्थीको पीडा

चाडबाड लागेपछि मन भक्कानिन्छ

blog

तस्बिर : हरिप्रसाद कोइराला भुटानी शरणार्थी शिविरमै चिनजान भएका हिमा कार्की र रेवती पौडेल अचेल एकअर्काको भरोसा भएका छन् ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, असोज १६ गते । मोरङको पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका ५१ वर्षीय दीपक गिरीलाई दशैँ नआए पनि हुन्थ्यो जस्तो लाग्छ । शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (यूएनएचसीआर)ले भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन थालेपछि उहाँका सबै आफन्त परदेशीय । श्रीमती र छोराछोरी अमेरिकामा बस्छन् । बुवाआमा, बहिनी ज्वाइँ र भाइको परिवार अस्ट्रेलियामा छ । 

गिरी १३ वर्षयता एक्लो हुनुहुन्छ । आफन्त कोही छैनन् । अरू समय त यसो निर्माणको काममा गयो । दुई चार पैसा ल्यायो । त्यही पैसाले दालभात पकायो खायो । तर, चाडबाड लागेपछि उहाँको मन भक्कानिन्छ । सम्झनाहरू आँखा अगाडि आउँछन् । उहाँले भन्नुभयो, सात समुद्र टाढाका आफन्तसँग बर्सौँ टाढिएर बस्नुको पीडा जसले भोगेको छ उसलाई मात्र थाहा हुन्छ । भुटानबाट शरणार्थी भएर नेपाल छिर्दा उहाँ १८ वर्षको हुनुहुन्थ्यो । स–परिवार ट्रकमा कोचिएर नेपाल आएको स्मरण दीपकसँग ताजै छ । शरणार्थी जीवन, ठूलो परिवार धान्न गाह्रो भएपछि परिवारको जेठो छोरो दीपक कमाउनका लागि भारतको गुजरात लाग्नुभयो । उसबेला चिठीबाहेक खबर आदानप्रदान गर्ने माध्यम थिएन । यूएनएचसीआरले उहाँ गुजरात भएकै बेला शरणार्थी परिचयपत्र बनायो । उहाँले फोटो खिच्न पाउनुभएन । फोटो नखिचेका पारिवारिक सदस्यलाई यूएनएचसीआरले पुनर्वास गराएन । 

गिरी मात्र होइन, ४७ वर्षीय विनोद सुवेदीको पीडा झनै टिठलाग्दो छ । आमाको एक्लो छोरो । बुबा बितेपछि उहाँ सानैमा टुहुरो हुनुभयो । शरणार्थी भएर नेपाल आएपछि कमाउनका लागि भारतको बैङ्ग्लोर हानिनुभएका विनोद पनि फोटो खिच्ने बेलामा छुट्नुभयो । विनोदकी आमा अहिले अमेरिकाको ओहायोमा बस्नुहुन्छ । विनोदले भन्नुभयो, सुरुमा श्रीमती र आमालाई खुसी राख्न कमाउनका लागि बैङ्ग्लोर गएँ । सोही कारणले फोटो खिच्न छुट्यो । म जान नपाउने भएपछि श्रीमतीले छोडपत्र दिएर आफू छोरीलाई पनि साथ लिएर अमेरिका हिँडिन् । सानैमा बुबाको मृत्यु, आमासँग छुटिनु, श्रीमतीसँग छोडपत्र हुनु अनि अहिले एक्लो जीवन बिताउनु विनोदका लागि कष्टप्रद छ । अझ चाडबाड आएपछि विनोद सम्हालिन सक्नुहुन्न । सानै उमेरमा आमाले खोजेर बिहे गरिदिएकी केटीले छोडेपछि विनोदलाई फेरि बिहे गरौँ भन्ने पनि लागेको छैन । उहाँले भन्नुभयो, कुन दशैँ, कुन तिहार वास्तै लाग्दैन । बाबुबाजेले मान्दै आएको पर्व भएकाले एक जना सुवेदी दाईसँग चारगेडा अक्षता टाँसेर आउँछु । 

४० वर्षीय हिमा कार्की पनि १३ वर्षदेखि शिविरमा कहिले छोरा छोरीले बोलाउँछन् र उतै जाऊँ भनेर बाटो कुरिरहनुभएको छ । उहाँले भन्नुभयो, आफन्त भन्ने कोही छैन । भएका कोही भुटानमै छन् । कोही अमेरिका, कोही अस्ट्रेलिया कोही डेनमार्क । हिमाका बाबुआमा अमेरिकाको कोलोराडोमा बस्नुहुन्छ । दुई छोरी र एउटा छोरा बाबुआमा सँगै छन् । घरपट्टिका कोही भुटानमा छन् । कोही डेनमार्कमा । श्रीमान् कान्छी श्रीमती लिएर बेपत्ता भएको २२ वर्ष भयो । सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी हिमाले भन्नुभयो, चार दाजुभाइ थिए, एउटा कमाउन कोइलाखाद गएको उतै हरायो । एउटा डेनमार्कमा छ । दुई भाइ अमेरिकाको कोलोराडो बस्छन् । रुँदारुँदै आँसु सकिए । आफ्नो भाग्य नै खोटो सम्झियो, बस्यो । उहाँले थप्नुभयो, छोराछोरी अमेरिका आउनु भन्छन् । उडेर जान सक्दिनँ । फोटो खिच्ने बेलामा शिविरमा थिइनँ र लगेन । उहाँले चाडबाडमा सबैभन्दा आफन्तको याद आउने बताउनुभयो । 

५९ वर्षीय रेवती पौडेलका छोराछोरी, ज्वाइँ अस्ट्रेलियामा बस्नुहुन्छ । आफन्त कोही नभएकी पौडेल रोएरै दिन कटाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, माइतीहरू न्युजील्यान्डमा छन् । घरतिरका आफन्तहरू अमेरिका छन् । सबै कागजात हुँदाहुँदै पनि श्रीमान् जान नमानेपछि उहाँ शिविरमै हुनुहुन्छ । श्रीमान् पनि गत वर्ष बित्नुभयो । त्यसपछि रेवतीलाई अँध्यारो र उज्यालो छुट्टाउन पनि गाह्रो भएको छ । उहाँले भन्नुभयो, छोराछोरी आफन्त सम्झियो, रोयो । चाडबाड आउँछन्, जान्छन्, वास्तै लाग्दैन । उहाँले गहभरि आँसु बनाउँदै भन्नुभयो ।

खासगरी काम गर्न शिविर छोडेर हिँडेका युवा र गैरशरणार्थीसँग विवाह गरेका महिलाहरू शरणार्थीको सूचीबाट हटेका छन् । जसको सङ्ख्या एक हजार ६४१ रहेको छ । पथरीशनिश्चरे शिविरका क्याम्प सचिव चम्फासिंह राईका अनुसार शरणार्थीलाई अहिले दैनिकी चलाउनसमेत कष्ट भएको छ ।      

सङ्घर्ष र अभाव खेपेर शरणार्थी शिविरको छाप्रोभित्र जिन्दगी चलाएका भुटानी शरणार्थीहरू अहिले भन्छन्, शरणार्थीले कहिल्यै हाँसेर जीवन बिताउन नपाउने रहेछन् ।  हालसम्म एक लाख सात हजार ९४९ जना शरणार्थीको पुनर्वास भइसकेको छ ।