• ४ जेठ २०८१, शुक्रबार

रोजाइमा चिउरीको तेल

blog

घोराही, असोज १५ गते । दाङको घोराही उपमहानगरपालिका–१३ को विकट बस्ती मौलाकोटदेखि केही परको जङ्गलमा हिमाल मगर, उहाँकी आमा र दिदीलाई चिउरी पेल्न भ्याइनभ्याइ छ । दशैँ र तिहार आउनै लागेकाले उहाँहरू जङ्गलबाट भेला पारिएको चिउरी परम्परागत काठको कोलमा पेलेर तेल निकाल्न व्यस्त हुनुहुन्छ । 

यो परिवारले चिउरीको तेलले दशैँ, तिहारमा रोटी पकाउनुका साथै बिक्री गरेर दुई-चार पैसा कमाउने गरेको छ । यही आम्दानीले घरखर्चमा सहयोग पुग्छ । जङ्गलबाट सात बोरा चिउरीको फल जम्मा गरेको हिमालको परिवारले यसबाट आठ धार्नी (करिब २२ लिटर) चिउरीको तेल बनाउने अपेक्षा गरेको छ । “जङ्गलमा ठूलाठूला रुख भएका कारण धेरै चिउरी टिप्न सकेनौँ । यस वर्ष सात बोरा मात्रै चिउरी टिपेका थियौँ । त्यही फल पेल्दा आठ धार्नीजति तेल पर्ने अनुमान छ,” हिमालले भन्नुभयो । 

मौलाकोटकै गङ्गाबहादुर थापाले पनि चाडपर्वका लागि चिउरीको तेल पेलिसक्नुभएको छ । सानो परिवार र आफ्नो पाको उमेरका कारण आफ्नै लागि र बचेको तेल बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

जङ्गल गएर चिउरी टिप्नुपर्ने, घर ल्याएर कुटेर र कोलमा पेलेर तेल निकाल्नुपर्छ, मेहनत धेरै लाग्ने भएका कारण पहिलेको तुलनामा धेरै मानिसले चिउरीको तेल पेल्न छाडे,” उहाँले भन्नुभयो । चिउरीको तेलमा पकाएका रोटी मीठा र बास्नादार हुने भएकाले मौलाकोटका अधिकांश मानिसले दशैँ र तिहारका लागि चिउरीको तेल पेल्ने गरेको गङ्गाबहादुरले बताउनुभयो । “अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल खाने गर्दछन् । यसले गर्दा कहिलेकाहीँ तेल पेल्न पालो कुर्नुपर्छ,” उहाँले भन्नुभयो । 

यहाँका अधिकांश परिवार आफ्नै लागि चिउरीको तेल पेल्ने गरेका छन् भने ठूलो परिवार हुने र मेहनत गर्नेले चिउरीको तेल बेचेर राम्रो आम्दानीसमेत गर्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय बजारमा पाइने अन्य तेलका कारण धेरै मानिस चिउरीको तेल पेल्न छोडेको गङ्गाबहादुरले बताउनुभयो । 

मौलाकोटसँगै बुढाकोट, लापेलगायतका घोराही उपमहानगरपालिकाका पहाडी क्षेत्रका बासिन्दा बर्सेनि जङ्गलबाट चिउरी ल्याएर तेल पेल्ने गरेका छन् । चिउरी चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्छ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफा गर्ने र सुकाउने गरिन्छ । त्यसपछि तेल पेल्नका लागि तयार गर्न फललाई ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ ।

आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर तेल निकाल्ने गरिँदै आएको माधव केसीले बताउनुभयो । तेल पेल्न आधुनिक कोल नहुँदा स्थानीयवासीले परम्परागत रूपमा बनाएको काठको कोलबाटै चिउरी पेल्ने गर्दै आएका छन् । 

Author

लीलाधर वली