• ४ जेठ २०८१, शुक्रबार

घटे लघुवित्त संस्था बढ्यो कारोबार

blog

काठमाडौँ, असोज १५ गते । गाभिने र प्राप्ति (मर्जर तथा एक्विजिसन)का कारण लघुवित्त वित्तीय संस्थाको सङ्ख्या घटेको छ भने शाखा विस्तारको क्रम भने जारी रहेको छ । तीन वर्षमा १९ वटा लघुवित्त वित्तीय संस्था घटेका छन् । अझै केही संस्था रहेका छन् । २०७७ साल असार मसान्तसम्म ८४ रहेको लघुवित्त संस्थाको सङ्ख्या २०७९ मा आइपुग्दा ६५ मा झरेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार २०७८ असार मसान्तसम्म ७० वटा लघुवित्त वित्तीय संस्था रहेकामा नेपाल सेवा र बिन, आरम्भ चौतारी र देउराली लघुवित्त वित्तीय संस्था तथा सूर्योदय र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका छन् । इन्फिनिटीले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई र युनिक नेपालले घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात् राष्ट्र बैङ्कको सुपरिवेक्षकीय दायराभित्र २०७९ असार मसान्तसम्म ६५ वटा लघुवित्त वित्तीय संस्था मात्रै बाँकी भएका हुन् । ‘घ’ वर्गका यी ६५ वटा लघुवित्त वित्तीय संस्थामध्ये चारवटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६१ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । लघुवित्त वित्तीय संस्थाको कुल शाखा सङ्ख्या २०७८ असारको तुलनामा २०७९ असार मसान्तमा ९.५४ प्रतिशतले वृद्धि भई पाँच हजार ६२ पुगेको छ । सो अवधिमा लघुवित्त वित्तीय संस्थाका सदस्य सङ्ख्या १२.८७ प्रतिशतले वृद्धि भई ५८ लाख ६० हजार र ऋणी सङ्ख्या १०.४० प्रतिशतले वृद्धि भई ३३ लाख तीन हजार पुगेको छ ।

मुनाफामा उल्लेख्य वृद्धि

गत असार मसान्तमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा उल्लेख्य वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाको आव २०७८/७९ को चौथो त्रैमाससम्ममा ब्याज आम्दानी पाँच अर्ब ५२ करोड र ब्याज खर्च दुई अर्ब ९१ करोड रुपियाँ रहेको छ । समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाले एक अर्ब ६५ करोड रुपियाँ खुद मुनाफा गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५४.९४ प्रतिशतले बढी हो ।

समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा भने ह्रास आएको छ । उक्त लघुवित्त वित्तीय संस्थाको २०७८ असार मसान्तमा खुद मुनाफा १० अर्ब ७६ करोड रुपियाँ रहेकामा १.८१ प्रतिशतले ह्रास भई २०७९ असार मसान्तमा १० अर्ब ५६ करोड रुपियाँमा झरेको छ ।

खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको आव २०७८/७९ मा ब्याज आम्दानी ५४ अर्ब ४५ करोड र ब्याज खर्च २७ अर्ब ६१ करोड रुपियाँ रहेको छ । यस अवधिमा सञ्चालित ६१ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थामध्ये दुईवटा लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा रहेको देखिएको छ ।

बढ्यो सम्पत्ति 

२०७९ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ । उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाको कुल सम्पत्ति पाँच खर्ब सात अर्ब ९४ करोड रुपियाँ पुगेको छ । यो २०७८ असार मसान्तको तुलनामा १६.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३६.९२ प्रतिशतले बढेको थियो । गत असार मसान्तमा कुल जोखिम भारित सम्पत्ति कुल सम्पत्तिको ९३.९९ प्रतिशत रहेको छ, जुन २०७८ असार मसान्तमा ९१.२५ प्रतिशत रहेको थियो ।

पुँजीकोषको स्थिति सन्तोषजनक

लघुवित्त वित्तीय संस्थाको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ । राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका यी लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन–२०७८ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिम भारित सम्पत्तिका आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजी कोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ । गत असार मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजी कोष क्रमशः ११.८७ प्रतिशत र १३.०० प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा २१.६४ प्रतिशतले र जोखिम भारित सम्पत्ति २०.३५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः १५.०९ प्रतिशत र ३८.१२ प्रतिशतले बढेको थियो ।

लगानीमा ह्रास

लघुवित्त वित्तीय संस्थाको लगानीमा ह्रास आएको छ । गत असार मसान्तमा लघुवित्त वित्तीय संस्थाको कुल लगानी छ अर्ब १० करोड पुगेको छ, जुन २०७८ असार मसान्तको तुलनामा ५८.५७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कुल लगानी ४४.२५ प्रतिशतले बढेको थियो । 

विशेष गरी मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएका कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ । लघुवित्त वित्तीय संस्थाले मुद्दती निक्षेपमा २०७९ असारसम्म चार अर्ब ४५ करोड राखेका छन्, जुन रकम २०७८ असार मसान्तको तुलनामा ६६.६५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा मुद्दती निक्षेपमा राखेको रकम ४१.४२ प्रतिशतले बढेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्दती निक्षेपमा गरेको लगानी र सेयर तथा डिबेन्चरमा गरेको लगानी घटेको देखिन्छ । लघुवित्त वित्तीय संस्था बारे अन्य समाचार 

Author

भेषराज बेल्बासे