रै नेपालीले दशैँ मनाउँछन् । एकथरी रातो टीका लगाउँछन् अर्काथरी सेतो टीका लगाउँछन् । अर्काथरी निधारमा सामान्य टीका मात्रै लगाउँछौँ भन्छन् । एकथरी जमरा लगाउँछन्, अर्काथरी जमरा नलगाई मनाउँछन् । दशैँ मनाउँदा कसैले पशुबलि दिन्छन्, कसैले दिँदैनन् । त्यसैले दशैँमा विविधता छ । एउटै परिवेशमा एउटै जातजाति, एउटै वर्ण मात्रैको दशैँ हो भन्न खोज्यौँ भने दशैँको महानतामा असर पर्छ र खलबलिन पुग्छ ।
राज्यले दशैँमा बिदा दिन्छ । तर होइन हामी मनाउँदैनौँ भनेर कसैले बिदा अस्वीकार गरेका पनि छैनन् । दशैँ नमनाउनेले बिदा आफ्नो हिसाबले मनाएका छन् । समग्र नेपालीलाई एकसूत्रमा बाँध्ने र अनेकताभित्र एकतामा जोड्ने अनुपम विशेषता दशैँले दर्शाउँछ । अब यो विशेषतामा कहिले जातजाति त कहिले जनजाति त कहिले राजनीतिको नामबाट टुक्र्याउन, फुटाउन र बन्देज लगाउन खोजेको कहिलेकाहीँ देखिन्छ । तर समग्रमा भन्दा यति धेरै भाषाभाषी, रीतिरिवाज, परम्पराको विविधता भएको स्थानमा हामी एकताको भावनाले बसेका छौँ । हामीलाई दशैँ, तिहारजस्ता पर्वले जोडेका छन् । पर्व भनेकै जोड्ने हो । बाँसलाई आँख्लाले जोडेजस्तै पर्व भनेको आँख्ला हो, समाजलाई जोडेका छन् ।
हरेक पर्व मौसमअनुसार हुन्छ । असोजमा मनाइने दशैँलाई हामी शारदीय दशैँ भन्छौंँ । पर्वलाई वातावरणसँग पनि जोड्छौँ । यसले गर्दा दशैँलाई निश्चित समुदायको भन्दा पनि नेपालीलाई एकसूत्रमा बाँध्ने पर्व भन्छौँ ।
दशैँमा लाहुर÷परदेश गएका पनि घर फर्किन्छन् । आफ्ना अग्रज, दाजु, आफन्तलाई भेट्न आउँछन् जसले आजको आधुनिक जमानामा पनि सामाजिकीकरणमा सहयोग पु¥याएको छ । अमेरिका, युरोपतिर सामाजिकीकरण बिरलै पाइन्छ । अग्रजकहाँ आशीर्वाद लिने, सानालाई स्नेह दिने परम्परा कुन जातिलाई चाहिन्न ? त्यसो हुनाले दशैँको उपादेयता घटेको छैन, अझ बढेकै छ । सनातन हिन्दु धर्माबलम्बीहरू देवीशक्तिको आराधना गरी मनाउँछन् । दशैँमा जमरा स्थापना गर्छन् । कलश, गणेश र बत्तीको पूजा गर्दै सत्यको आराधना गर्छन् । एक÷एक दिन एक÷एक देवीको आराधना गरिन्छ । प्रथम दिन शैलपूत्रीको पूजा गरेर सुरुवात गरिन्छ । पर्वते, खस समुदायमा यसप्रकारले दशैँ मनाइन्छ ।
पर्वते समुदायको नजिक र छिमेकमा बस्नेले पनि यो परम्परा अँगालेका छन् । अलग भएकामध्ये कसैले जमरा राख्छन्, कसैले राख्दैनन् । कसैले कुनै मठमन्दिरमा जमरा राख्न पठाउँछन् । त्यो हिन्दु पनि छन् । दस दिनसम्म मन्दिरमा जमरा राखेर अन्तिम दिन घरमा ल्याएर लगाउने छन् । ब्राह्मण, क्षेत्री, राई, मगर, गुरुङ, लिम्बुमा पनि यो परम्परा छ । पछिल्लो कालमा झन् बढेको छ किनभने कतिपय व्यक्ति डेरामा बसेका हुन्छन् । डेराको एउटै कोठामा जमरा राख्ने कि सुत्ने ? त्यसो भएको हुनाले मन्दिरमै जमरा राख्छन् । कतिपयले जमरामा खाली जौ मात्रै राख्छन् भने कसैले अरू अन्न पनि राख्छन् । काहीँकाहीँ मकै पनि राख्छन् । खासगरी नेवार समुदायमा जौसँगै मकै पनि राखेको पाइन्छ । त्यो आफ्नो श्रद्धाको कुरा हो ।
शारदीय नवरात्रमा हामी साधना गर्छौं । देवी–दुर्गाको साधना गर्ने हो । नवमीको दिनमा कालरात्रि मनाइन्छ । कालरात्रिलाई कतिपयले अँध्यारोको सङ्केत मानेर पशुबलि दिन्छन् । तर साधना गर्दागर्दा ऊर्जा प्राप्त गर्ने उत्कर्षको बेला हो यो । त्यो हरेक वर्ष उसले नवीकरण गरेको हो । दशैँको बेलामा पूजाआराधना र साधना गरेर आफैँले आफूलाई ऊर्जा प्रदान गर्ने हो । असल कर्मका लागि ऊर्जा प्राप्त गर्ने हो ।
किराँत समुदायमा सेता जमरा लगाइन्छ । पूर्वतर्फका राई, लिम्बूहरू जसले दशैँ मनाउँछन्, उनीहरू सेतो टीका लगाउँछन् किनभने रातोलाई नकारात्मक प्रतीकको रूपमा लिइन्छ । रातोले हिंसा दर्शाउँछ । रगतको रङ रातो भएको भनेर उनीहरूले सेतो टीका थाप्छन् । एकल महिलाले पहेँलो टीका लगाउँछन् । तर समय फेरिएसँगै एकल महिलाले पनि अब रातो टीका लगाउन थालेका छन् । त्यसलाई पनि सकारात्मक नै लिनुपर्छ । हामीकहाँ राम र रावणको युद्धको प्रसङ्ग दशैँसँग जोडिन्छ । त्यसो हुनाले सत्यले असत्यमाथि विजय पाएको भन्छौँ । नवरात्रमा देवीको मूर्ति बनाएर दस दिनसम्म पूजाआराधना गरी नदी वा पोखरीमा सेलाउने परम्परा छ । त्यो बङ्गालबाट आएको हो । तराई–मधेशमा यो परम्परा पहिलेदेखि नै थियो । तर काठमाडौँ उपत्यकामा ३५÷४० वर्षअघिदेखि मात्रै सुरु भएको देखिन्छ । गुह्येश्वरी नजिक प्रणवानन्द आश्रममा मूर्ति बनाएर देवीको आराधना गरिन्छ । खुला ठाउँमा बङ्गाली समुदायले दुर्गाको आकर्षक मूर्ति बनाएर पूज्ने चलन छ ।
दशैँलाई भारतमा दशहरा भनिन्छ जहाँ रावणमाथि रामको जीतको रूपमा दशैँलाई अथ्र्याइएको पाइन्छ । तर हामीकहाँ विशुद्ध रूपमा दुर्गाकै आराधना गरिन्छ । काहीँकाहीँ रावणको पुतला पनि दहन गरिन्छ । तर व्यापकता पाउन सकेको छैन । हामीकहाँ धेरैजसो समुदायमा प्रतिपदादेखि सुुरु भई दशमीको दिन टीका लगाएर पूर्णिमासम्म टीका लगाउने चलन छ । त्रिशूली पश्चिमपट्टी पाल्पा, अर्घाखाँची, गुल्मीतिर विजया दशमीको एकदिन मात्रै टीका लगाउने चलन छ । यो चलन कृषिको कारणले पनि होला । घरमा सबै काम बितिरहेको हुन्छ । पहाडमा त अर्को ठाउँमा टीका लगाउन जाँदा दुई÷तीन दिन बित्छ । यही बाध्यताले उनीहरूले समयसापेक्ष बनाउन खोजिएको होला ।
काठमाडौँमा नेवार समुदायले बिहानै झिसमिसेमै देवीको मन्दिर परिक्रमा गर्ने निकै अघिदेखिको चलन हो । पश्चिम नेपालको वादी समुदायले प्रतिपदाको दिनदेखि मन्दिर वा पूजा आराधना गर्ने साम्भ्रान्तकहाँ बाजा बजाउने गर्छन् र दशमीको दिन त्यहाँबाट अन्न, नगद सङ्कलन गर्छन् । यसले जीविकोपार्जनको माध्यम पनि बनेको छ ।
लिच्छवि, किराँत, महिषपाल, गोपाल वंशावलीमा दशमीको प्रसङ्ग त्यसरी उल्लेख भएको पाइँदैन । यो मध्यकालदेखि मात्रै सुरु भएको हो । सामान्य रूपमा कुनै शिलालेखमा पाइन्छ । दुर्गा सप्तशतीको प्रचारप्रसार र तन्त्रको प्रवेशपछि दुर्गा भवानीको पूजाआराधना सुरु भयो । ११औँ, १२औँ शताब्दीपछिको कुरा हो यो । त्यसपछि तन्त्रको नामबाट पशुबलिले पनि प्रवेश पायो । तन्त्र पनि तीन प्रकारका छन् । सात्विक, राजषि र तामशी । तर अहिले तामशीको प्रभाव र बाहुल्यता बढी देखिन्छ किनभने त्यहाँ काटमार हुन्छ ।
वैष्णवले सात्विक रूपमा दशैँ मनाउँछन् । उनीहरूले मध्यमांशलगायतलाई प्रोत्साहन दिँदैनन् । वैष्णवमा पनि श्रीवैष्णव, माध्ववैष्णव, रामानन्दी, कृष्णप्रणामी, ॐशान्ति समुदायले दशैँ मनाउँछन् तर काटमार चल्दैन ।
अहिले बिस्तारै आचार्य र गुरुहरूले पनि काटमार रोक्न अभियान नै चलाएका छन् । रामदेव, रविशङ्करजस्ता दार्शनिक तथा चिन्तकले पनि पशुबलि निषेध हुुनुपर्ने मान्यता लिएर प्रवचन दिन्छन् । काटमार ठीक छैन् भनेर हामीकहाँ पनि अभियानहरू चलिरहेका छन् । रक्तरञ्जित बनाउने होइन । ईश्वर र देवीप्रतिको साधना गरेर आफूले आफूलाई एक प्रकारले साँच्चै नै मानव रहेको जागृत गर्ने पर्वको रूपमा मनाउनुपर्ने हो । काठमाडौँमै पनि पशुबलि दिइन्छ । दक्षिणकाली, भगवतीबहाल, कालिकास्थान, शोभाभगवती, कालिञ्चोक भगवतीमा बलि दिइन्छ । काटमारले पहिला पहिला बाटोमा हिँड्नसक्ने अवस्था थिएन । अहिले देवीको प्रतिमा भएको स्थानमा काटमारभन्दा नरिवल अर्पण गरिएको देखिन्छ । उक्त सङ्ख्या बढ्दै छन् ।
अब काटमार होइन, शान्ति खोजिएको छ । काटमारले क्रूरता, निर्दयीता देखाउँछ । तर मानव भनेको सर्वोत्कृष्ट प्राणी । तर सर्वोत्कृष्ट प्राणीले गरिरहेको कर्म चाहिँ २१औँ शताब्दी सुुहाउँदो नभएको ठानेर पशुबलितर्फ आकर्षण घट्दै गएको हो । आजको परिस्थितिमा भने शान्तिबाटै विकास, उन्नति, प्रगति सम्भव छ । शान्तिका लागि मन्दिरमा जाने परम्परा छ । तर मन्दिरमा रक्तरञ्जित भएपछि वधशाला हो या मन्दिर ठम्याउने सकिएन भने त भगवती, ईश्वरबाट उसले के प्रेरणा पाउने प्रश्न गर्ने जमात बढ्दै गएका छन् ।
पशुबलि निषेधको अर्को पनि वैज्ञानिक तर्क छ । संसारमा अहिले देखापर्दै आएका जति पनि महामारी छन्, पशुुबाटै सरेका छन् । कोभिड पनि पशुबाटै आएको हो । एभिएन इन्फ्लुएन्जा, सार्सजस्ता रोग मासुबाटै आएका छन् । त्यसैले धर्म–संस्कृतिको रूपबाट मात्रै हेर्नुभन्दा पनि अबचाहिँ वैज्ञानिक रूपबाट पनि खसी, बोका पाल्न खानलाई अन्न दिनुपर्यो । एक किलो मासु उत्पादन गर्न १६ किलो अन्न खपत हुन्छ । पाँचदेखि पाँच हजार लिटरसम्म पानी खपत हुन्छ । त्यै चिज यदि भोकमरी भएको ठाउँमा प्रयोग भयो भने मानव सेवा हुन्छ । मानवलाई बचाउन सकिन्छ । अर्कातिर जङ्गलको विनाश हुन्छ किनभने पशु पाल्न जङ्गल, वनस्पति विनाश गर्नुपर्छ । त्यसैले कतिपय परम्परामा देखिएका विकृतिलाई सुसंस्कृत बनाउने समय आएको छ ।
(टण्डनसँग इश्वरचन्द्र झाले गर्नुभएको कुराकानीमा आधारित)