• १२ साउन २०८१, शनिबार

कोरोना जितेपछि नेवार समुदायमा भैरव जात्रा (फोटो फिचर)

blog

कपिलवस्तुको बुद्धभूमिमा भैरव नाच प्रदर्शन गर्दै अर्घाखाँचीका नेवार समुदाय । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज १३ गते । कोरोना महामारीले गर्दा लामो समयसम्म कपिलवस्तुका नेवार समुदायले आफ्ना परम्परागत संस्कृतिमा रमाउन पाएका थिएनन् । गत तीन वर्ष यता ठूला सांस्कृतिक समारोह गर्न नपाएका नेवार समुदाय यस पटक भैरव जात्रामा रमाएका छन् । 

जिल्लाको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा बुधवार राति भैरव नाच हेर्नका लागि स्थानीय र आसपास पालिकाका नागरिकहरूको घुइँचो लागेको थियो । कपिलवस्तु नेवा समाजले कोरोना महामारी सकिएपछि भैरव जात्राको आयोजना गरेका थिए । 

अर्घाखाँची सन्धिखर्क नगरपालिका –१२ झेँडीका युवाहरूले भैरव नाच प्रदर्शन गरेका थिए । नेवारी संस्कृतिअनुसार भैरव नाच कृष्ण जन्माष्टमीको दिन सुरुगरी कात्तिक औँसीसम्म प्रदर्शन गरिन्छ । रातो– कालो–सेतो मुकुट लगाएकाहरू डंकेनीसँगै नाच्ने गरेको भैरव नाच्दैआएको अर्घाखाँचीका पत्रकार तथा वसन्त श्रेष्ठले बताउनुभयो । 

कालो मुकुट लगाउनेलाई काल भैरव, रातो मुकुट लगाउने देवी र सेतो मुकुट लगाउनेलाई गणेशको प्रतीकको रूपमा मान्ने गरिन्छ । भैरव नाचमा ७ ताल हुने र हरेक तालमा करिब २० मिनेटसम्म नृत्य प्रदर्शन गरिन्छ । भैरवसँगै भुच्याङ्ग, टाकुनडोली (लाठी नाच), घोडा नाच, चरा नाच, भालु नाच, लाहुरे लाहुरेनी नाच समेत प्रदर्शन गरिएको बुद्धभूमि –२ का सन्तोष श्रेष्ठले बताउनुभयो । अर्घाखाँची भैरव नाचको उर्वर भूमिको रूपमा चिनिन्छ ।